कतारका राजाको पहिलो भ्रमण : नेपालले लिनसक्ने लाभ के ?-Sutra News

कतारका राजाको पहिलो भ्रमण : नेपालले लिनसक्ने लाभ के ?

मंगलबार, ११ बैशाख २०८१

मंगलबार, ११ बैशाख २०८१

नेपाल–कतार सम्बन्ध



नेपाल र कतारबाट दैत्य सम्बन्ध स्थापित भएको ४७ वर्ष पूरा भएको छ । दुई मुलुकबीच २१ जनवरी १९७७ देखि कूटनीतिक सम्बन्ध कायम भएको हो । तर, कूटनीतिक सम्बन्ध कायम भएको झण्डै २७ वर्षपछि मात्र सन २००४ मा नेपालले कतारमा दुतावास स्थापना गरेको थियो । कतारले भने नेपाली दुतावास स्थापनाको ८ वर्षपछि मात्रै ११ जुलाई २०११ मा नेपालमा दुतावास स्थापना गरेको हो । त्यसअघि दिल्लीस्थित दुतावासबाट काम हुन्थ्यो । 

नेपाल र कतारले धेरै अन्तर्राष्ट्रिय एजेन्डा र मुद्दाहरूमा समान धारणा राख्दै आएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार संयुक्त राष्ट्र संघ, असंलग्न आन्दोलन र अन्य अन्तर्राष्ट्रिय मञ्चहरूमा दुवै देशले शान्ति, सुरक्षा र विकासका लागि सक्रिय भूमिका खेल्दै आएका छन् । दुई देशबीचको सम्बन्ध आपसी विश्वास, समझदारी र सहयोगमा आधारित रहँदै आएको छ ।

उच्चस्तरीय भ्रमणको इतिहास

मंगलबारदेखि दुई दिनसम्म हुने कतारी राजा अमिर शेख तमिम बिन हमाद अल थानीको भ्रमण कतारका सरकार तथा राष्ट्र प्रमुखले गर्ने पहिलो भ्रमण हो । नेपालबाट भने यो स्तरको भ्रमण दुई पटक भ्रमण भइसकेको छ । सन् २०११ अक्टोबर १० देखि १३ सम्म तत्कालीन राष्ट्रपति रामवरण यादवले कतारको औपचारिक भ्रमण गरेका थिए । 

त्यस्तै, पूर्वप्रधानमन्त्रीको हैसियतमा रहेका बेला पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०१४ मा कतारको निजी भ्रमण गरेका थिए । भ्रमणका क्रममा प्रचण्डले प्रधानमन्त्री तथा आन्तरिक मामिलामन्त्री शेख अब्दुल्ला बिन नासेर बिन खलिफा अल थानीसँग भेटवार्ता गरेका थिए । 

यसबाहेक तत्कालीन परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले सन् २००५, तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराईले सन् २००८, तत्कालीन श्रम तथा यातायातमन्त्री रमेश लेखकले सन २००८, तत्कालीन परराष्ट्र मन्त्री उपेन्द्र यादवले सन २००९ मा कतारको औपचारिक भ्रमण गरेका थिए । त्यसैगरी, तत्कालीन गृहमन्त्री वामदेव गौतमले २०१५ र परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले सन २०१७ कतारको भ्रमण गरेका थिए । 

परराष्ट्र मन्त्रालयका अनुसार कतार पक्षबाट त्यहाँका महान्यायाधिवक्ता डा. अल बिन फेताइस अल–मरीले सन् २०१४ मा नेपालको निजी भ्रमण गरेका थिए । श्रम तथा सामाजिक मामिलामन्त्री अब्दुल्लाह सालेह मुबारक अल खुलाईफीले सन् २०१५ मा नेपालको औपचारिक भ्रमण गरेका थिए ।

कतारी अमिरको भ्रमणबाट लिनसक्ने लाभ ?

मध्यपूर्वको प्रभावशाली देश कतारसँग विश्वासमा आधारित बलियो सम्बन्ध स्थापित गर्न सक्नु नेपालका लागि निकै महत्वपूर्ण हुनजान्छ । कतारसँग सम्बन्ध स्थापित गर्नु मध्यपूर्वका अन्य देशसँग पनि सम्बन्ध विस्तार गर्ने मौका पनि हो । तर, यो भनिरहँदा त्यसबाट कसरी लाभ लिने भन्ने कुरा नेपालकै आन्तरिक क्षमतामा भर पर्छ । 

एकातिर कूटनीतिक सम्बन्ध विस्तारमा कतारसँगको सम्बन्धलाई नेपालले प्रयोग गर्न सक्छ भने अर्कोतिर रोजगारी विस्तारमा पनि सम्बन्धलाई अगाडि लैजान सक्छ । साथै, मध्यपूर्वका सम्पन्न देशहरूसँग सम्बन्ध बढाउनु नेपालमा पनि लगानी भित्र्याउने अवसर हो भन्दा अनुपयुक्त हुँदैन ।

रोजगारी विस्तारको सम्भावना

कतार नेपालीका लागि आकर्षक श्रम गन्तव्य हो । यहाँ करिब चार लाख नेपाली कतारमा रहेका छन् । सन् २००५ मा नेपाल र कतारबीच श्रम सम्झौता भएपछि यहाँ नेपालीहरूको उपस्थिति बाक्लिएको पाइन्छ । 

तर, विडम्बना नै भन्नुपर्छ कतारसँग १९ वर्षसम्म पनि श्रम सम्झौता नवीकरण हुन सकेको छैन । नेपालले श्रम सुरक्षाको ग्यारेन्टी हुने गरी नवीकरण गराउनुपर्ने सरोकारवालाहरूको दवाव छ । 

नेपालले श्रम सम्झौता नवीकरणका लागि प्रस्ताव गर्दै आए पनि कतारले चासो दिएको छैन । यी विषयमा कतारी राजा अमिर आएको बेला छलफल गर्न सकिएमा नतिजा आउन सक्छ ।

जानकारहरूका अनुसार कतारले नेपाली महिलाहरूलाई कामदारका रुपमा लैजान चाहेको छ । तर, नेपालले घरेलु कामदारमा महिलाहरूलाई रोक लगाउँदै आएको छ । 

कतारले त्यहाँको प्रहरीमा पनि नेपाली युवालाई भर्ती गर्न चाहेको छ तर, नेपालले औपचारिक निर्णय गर्न सकेको छैन । अर्कोतर्फ कतारमा रहेका नेपाली कामदारहरूको पारिश्रमिक वृद्धि र रोजगारी सुरक्षा जस्ता विषयमा पनि सरकारले छलफल गर्न सक्छ । 

कतारमा रोजगारी गरिरहेका कामदारहरूको बीमा नभएको कारण कामकै सिलसिलामा ज्यान जाँदा समेत क्षतिपूर्ति पाउने अवस्था छैन । जसबारे अमिरमार्फत सरकारले छलफल बढाउन सक्छ । जुन नेपाली कामदारले पाउनुपर्ने अधिकार पनि हो ।

लगानी भित्र्याउने अवसर

नेपाल र कतारबीचको व्यापार नगण्य अवस्थामा छ । नेपालबाट पास्ता, गलैंचा, चाउचाउ र चिया जस्ता वस्तुहरू कतार निर्यात हुने गरेका छन् भने कतारबाट इथिलिनको पोलिमर, पेट्रोल र बिटुमिन्स जस्ता वस्तुहरू नेपाल आउँछन् । ठूलो परिमाण नभए पनि नेपालले कतारसँगको व्यापारमा घाटा व्यहोर्दै आइरहेको छ ।

तर, सरकारले चाहेको खण्डमा कतारसँगको व्यापारमा लाभ लिनसक्छ । साथै, कतारबाट ठूलो स्तरमा लगानी पनि भित्र्याउन सक्छ ।

कतारले जलविद्युत, सूचना प्रविधिदेखि खेलकुदसम्मका विभिन्न शीर्षकमा लगानी गर्न चाहिरहेको जानकार बताउँछन् । जसलाई सम्बोधन गर्ने गरी नेपालले प्रस्ताव तयार गर्न सक्छ ।

अर्कोतर्फ, पर्यटन उद्योगलाई विकास गर्न पनि नेपालले कतारसँग सहयोग लिन सक्ने विज्ञहरूको बुझाइ छ । 

लगानी सम्मेलनको मुखमा रहेको नेपालले कतारी अमिरको भ्रमणमार्फत ठूला लगानी भित्र्याउन सक्छ । जसको लागि उपयुक्त प्रस्ताव गर्नु नेपालको क्षमतामा भर पर्छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट