‘डिग्री माइला’बारे दयाहाङ भन्छन्- गाउँघरमा देखेको पढे लेखेका पात्रबाट प्रभावित भएँ-Sutra News

‘डिग्री माइला’बारे दयाहाङ भन्छन्- गाउँघरमा देखेको पढे लेखेका पात्रबाट प्रभावित भएँ

आइतबार, २५ चैत्र २०८०

आइतबार, २५ चैत्र २०८०

काठमाडौं । फिल्म ‘डिग्री माइलाः एम ए थर्ड क्लास’ले अहिलेको समयमा दर्शकहरुको ध्यान केन्द्रित गरिरहेको देखिन्छ । नयाँ वर्षलाई लक्षित गरी वर्षको अन्तिम दिन अर्थात् चैत ३० गते शुक्रबारबाट प्रदर्शन हुन लागेको फिल्मलाई ‘कबड्डी’ शृङ्खलाका निर्देशक रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।



यो फिल्म अभिनेता दयाहाङ राई निर्देशित चर्चित नाटक ‘डिग्री माइला’मा आधारित सोही शीर्षकमा निर्माण गरिएको हो । यसअघि यो नाटक यति लोकप्रिय हुन पुगेको थियो कि २०६९ र २०७१ सालमा मण्डला थिएटरमा करिब एक सयभन्दा बढी ‘शो’ मञ्चन भएको थियो ।

दयाहाङ र उनको टिमले सर्वाधिक रुचाइएको नाटक चलेकै अवस्थामा यस नामबाट फिल्म बनाउन चाहेका थिए । तर, चाहेअनुरुप फिल्म बन्न सकेन । नाटकमा भने सर्वाधिक लोकप्रिय हुन पुग्यो । जुन अहिले आएर डिग्री माइलाका नाममा फिल्म बन्न सफल भएको छ ।

त्यसबेला ‘डिग्री माइला’मा निर्देशक रहेका दयाहाङ अहिले फिल्मको कलाकारका रुपमा मात्र छन् । नाटक जस्तै यस फिल्मबाट दर्शकले निकै आशा गरेको देखिन्छ । जसको मुख्य कारण यस फिल्मको मजबुद टिम पनि हो । दयाहाङले केही वर्षअघि फिल्म निर्माण गर्ने योजनादेखि फिल्म निर्माण हुँदासम्म ‘डिग्री माइला’को योजना नाटक बन्नुभन्दा धेरैअगाडि जन्मिएको कहानी सुनाए ।

दयाहाङ भन्छन्, ‘यो फिल्म नाटकमाथि बनेको होइन, नाटक बन्नुभन्दा अगाडि नै यसको कथामा हामीले काम गरेका थियौँ, त्यसबेलाको समय, हाम्रो भोगाई र देखाइएको कुराहरू विश्लेषण गर्दै जाँदा डिग्री माइला भन्ने पात्र जन्मिएको थियो, गाउँघरमा देखेको पढे लेखेका डिग्री माइला पात्रहरूबाट प्रभावित भएँ, त्यसमाथि फिल्म बनाउने सोचेको थिएँ, तर त्यस समयमा फिल्म बनाउन सम्भव भएन र नाटक मञ्चन गरियो, पछि रामबाबु गुरुङसँग फिल्म निर्माण गर्ने कुरा भयो, र यहाँसम्म आइपुगियो, त्यसपछि हामीले फिल्मको कल्पना गरेका थियौँ ।’

दयाहाङले त्यसबेला फिल्म बन्न नसके पनि फिल्म बनाउने प्रण त्यतिबेला नै भइसकेको स्मरण गर्छन् । उनी थप्छन्, ‘मैले त्यसको पात्र टिपेर नाटक बनाएको हुँ, यद्यपि यसमा फिल्म बनाउने प्रण त्यतिबेलै गरेका थियौँ, पछि ‘कबड्डी’ बन्न पुग्यो, अहिले आएर फिल्म बन्न जुरेको रहेछ, नाटक र फिल्मको पात्रको मनोदशा र मनोविज्ञान फरक छ ।’

नाटकमा प्रयोग गरिसकेको चरित्रमाथि फेरि फिल्ममा काम गर्दा दुविधा नभएको दयाहाङको बुझाइँ छ । ‘नाटक र फिल्मको माध्यम फरक हो, निर्देशकीयदेखि अरु पाटोहरु फरक हुन्छ,’ उनले अगाडि भने, ‘मैले कल्पना गरेको पात्र नाटकमा प्रयोग गरिसकेँ, फिल्ममा आएको ‘क्यारेक्टर’लाई फेरि बनाएर काम गर्नु पर्ने थियो, त्यो दुवै फरक पाटो भएकाले ‘कन्फ्यूजन’ भएन ।’

‘डिग्री माइला’ अहिलेको पुस्ताले बाँचिरहेको समयको फिल्म भएको बताउँदै दयाहाङ भन्छन्, ‘डिग्री माइला’को चरित्रले पढे लेखेका मान्छे घमण्डी हुन्छन् भन्ने भाष्यभन्दा पनि उसको असन्तुष्टि के हो ? र उसले त्यो ठाउँसम्म किन पुर्‍यायो ? भन्ने चाहिँ महसुस गराउँछ होला ।’

उनले भने, ‘हामी अघिल्लो पुस्तासँग संगत गर्न डराइरहेका छौँ, र आगामी पुस्तासँग बढी अपेक्षा राखेर हिँडेका छौँ, पहिलेकाले केही पनि भनेनन्, तर अबका लागि गर्छन् भन्ने खालको पुस्तामा हामी छौँ, नेपालको राजनीति पनि लामो समयदेखि घुमिरहेको छ, डिग्री माइलाको कथालाई यो विषयले तानेको छ, अहिलेको अवस्थामा डिग्री पास गरेको व्यक्तिलाई न त समाजले माथिको सोच्छ, न त उसलाई पत्याउँछ नै, यस्तो अवस्थामा उ किन यति धेरै गफाडी भयो ? केही कारणविना त उ यस्तो पक्कै पनि भएको छैन, हामी सही बाटोमा पनि हिँड्न नसकिरहेको अवस्था छ, यसैले यो फिल्म हामीले बाँचिरहेको समयको फिल्म हो ।’

आफ्नो सपना पूरा गर्नका लागि हामीले मुखले मात्र गफ दिइरहेका छौँ या काम पनि गरिरहेका छौँ भन्ने कथालाई यो फिल्मले देखाएको उनी बताउँछन् । ‘हामीले मिहिनेत पनि गरिरहेका छौँ कि मूल्यांकन पनि खोजिरहेका छौँ भन्ने कथा फिल्मले भन्छ,’ उनी भन्छन् ।

हुन त, दयाहाङ औपचारिक रूपमै डिग्री हासिल गर्न चाहन्थे । तर वास्तविक जीवनमा हासिल गर्न सकेनन् । बरु डिग्री माइला नाम गरेका पात्रमा आधारित नाटक डिग्री माइला निर्देशन गरे । त्यसमा अभिनय पनि गरे । ‘डिग्री हासिल गर्ने लक्ष्यका साथ कलेज भर्ना भए पनि कला क्षेत्रमा रूची गएपछि मैले औपचारिक डिग्री हासिल गर्न सकिनँ, तर कला क्षेत्रमा डिग्रीभन्दा माथिल्लै स्थान दर्शकले दिनु भएको छ,’ उनले भने ।

‘किन चाउरिस मरिच, आफ्नै रागले’ भन्ने चर्चित नेपाली उखानलाई आफ्नो ट्यागलाइन बनाएको यो फिल्ममा दयाहाङ राई, आँचल शर्मा, माओत्से गुरुङ, प्रकाश घिमिरे, विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, शेखर चापागाँई, हिउँवाला गौतमलगायतका कलाकारको अभिनय छ ।

बाँसुरी फिल्मस्को प्रस्तुतिमा सुष्मा प्रोडक्शनको सहकार्यमा निर्माण भएको यो फिल्ममा विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार, सुष्मा गुरुङको लगानी छ । फिल्ममा कृष्ण लामा कार्यकारी निर्माताको रुपमा छन् । शिवराम श्रेष्ठ र रिले एस सेनको छायांकन रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन, रेनशा वान्तवा राईको कोरियोग्राफी छ ।

बक्स अफिसमा धमाका गर्ने अपेक्षा गरिएको यो फिल्म निर्देशक रामबाबुका लागि पनि चुनौतीपूर्ण छ । किनकी, ‘कबड्डी’ शृङ्खलाबाहेक अन्य फिल्ममा सफल हुन नसकेका रामबाबुलाई यो फिल्म सफल बनाउनु पर्ने चुनौती छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट