प्रचण्ड र ओलीबीचको सम्बन्ध चिसिँदा गठबन्धन धरापमा, के खेल खेल्दैछन् देउवा ?-Sutra News

प्रचण्ड र ओलीबीचको सम्बन्ध चिसिँदा गठबन्धन धरापमा, के खेल खेल्दैछन् देउवा ?

आइतबार, २९ माघ २०७९

आइतबार, २९ माघ २०७९

काठमाडौं – पछिल्लो समय प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको सम्बन्ध चिसिँदै गएको छ । प्रधानमन्त्री प्रचण्ड नेपाली कांग्रेससँगको सम्बन्ध सुधार्ने रणनीतिमा लाग्दा एमाले अध्यक्ष ओलीसँगको सम्बन्ध चिसिदै गएको हो । अहिले प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीचको सम्बन्ध विग्रन थाल्नुको मूख्य कारण राष्ट्रपति निर्वाचन बनेको छ । प्रचण्ड गएको १० पुसमा एमाले, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी, माओवादी केन्द्रसहितका पार्टीको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।



प्रचण्ड नेतृत्वको सरकार बनाउदा प्रधानमन्त्री र प्रतिनिधिसभाको सभामुख आलोपालोमा नेतृत्व गर्ने र नयाँ राष्ट्रपति एमालेलाई दिने समझदारी भएको थियो । अहिले राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा एमालेले राष्ट्रपति आफ्नै हुनुपर्ने दाबी गर्दैगगर्दा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिमै राष्ट्रपति निर्वाचन हुने अडान राखेका छन् । सरकार बनाउँदा मैखिक सहमती भएको र अहिले त्यो प्रधानमन्त्री प्रचण्डले पालना गर्न नखोजेको एमालेको भनाई छ । शुक्रबार बसेको उच्चस्तरीय संयन्त्रको बैठकमा पनि राष्ट्रपति निर्वाचनको बिषयमा छलफल भयो ।

बैठकमा राष्ट्रपति निर्वाचनकै बिषयमा छलफल हुँदा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भनाभन चलेको स्रोतको भनाई छ । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिमा गर्नुपर्ने बताएपछि एमाले अध्यक्ष ओलीले प्रतिवाद गरेको एक नेताले बताएका छन् । उनका अनुसार बैठकमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिमा साझा व्यक्तिलाई ल्याउनुपर्नेमा छलफल गरेका थिए । तर एमाले अध्यक्ष ओलीले यसबारे पहिल्यै टुंगो लागिसकेकोले अब सल्लाह गर्नुपर्ने विषय केही नभएको बताएका थिए । यस बिषयमा माओवादी केन्द्रका नेताले राष्ट्रपति दलका कार्यकर्ता राष्ट्रपति हुँदा विगतमा दुःख पाएको बताएका थिए ।

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीचको सम्बन्ध गृहमन्त्री नपाएर रवी लामिछाने नेतृत्वको रास्वपा सरकारबाट बाहिरिएपछि चिसिन थालेको बताइएको छ । अहिले प्रचण्ड र ओलीबीचको सम्त्रन्ध विग्रदै जान लाग्दा नेपाली कांग्रेस भने हौसिएको छ । शनिबार कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले अब सत्ता गठबन्धन लामो समय नजाने ठोकुवा नै गरे । सत्ता गठबन्धनमा खटपट शुरू भइसकेको भन्दै महतले ढिलो–चाँडो कांग्रेस नै मुलुकको नेतृत्वमा आउने दाबी गरे । निर्वाचनमा कांग्रेसलाई पहिलो दलका रूपमा जनमत प्राप्त भएको र अनेक चलखेलबाट सत्ताबाहिर पु¥याइएको महतको भनाई छ ।

राष्ट्रपति निर्वाचनमा शेरबहादुर देउवा नेतृत्वको कांग्रेसले पनि उम्मेदवार उठाउँदैछ । कांग्रेस अहिले विश्वासको मत दिने बेलामा प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रपतिमा सघाउने विषयमा सहमति भएको कांग्रेसका नेताहरुले दाबी पनि गरेका छन् । सरकारको नेतृत्व गर्ने लोभले एकाएक काँग्रेससँग टाढिएर नेकपा एमालेसँग सरकार बनाएका प्रचण्ड फेरि कांग्रेससँग टाँसिन खोजेको देखिएको छ । रवी नेतृत्वको रास्वपा सरकारबाट बाहिरिनु र सत्ता साझेदार दलहरूको एकपछि अर्को दबाबले सत्ता गठबन्धन टिक्दैनकी भन्ने शंका पनि उब्जिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट