रविजी ! एक महिना सत्तामा जान नहतारिएको भए-Sutra News

रविजी ! एक महिना सत्तामा जान नहतारिएको भए

शुक्रबार, १३ माघ २०७९

शुक्रबार, १३ माघ २०७९

नारायण गाउँले । रविजी हेर्नुस् त ! एक महिना सत्तामा जान नहतारिएको भए, स्वार्थ बाझिने गरी गृहमन्त्रालयमैं जबर्जस्ती नगरेको भए, पुरानाले समेत लाज मानेको उपप्रधानमन्त्रीको झुण्डमा नमिसिएको भए आज कति धेरै नैतिक बल तपाईंसँग रहिरहन्थ्यो ! बर्सौँदेखि अरू दलले संरक्षण गरेर, अझ पुरस्कृत गरेर राखेका कोइरीलाई नसमातेको दोष पनि तपाईंलाई नै भिडाउन दलहरू सफल भए । हिजो जेजे विसङ्गतिको विरोध गर्नुभो आज त्यही त्यही तपाईं आफैले गरे जस्तो चित्र कोरिन पुग्यो ।
सबै बिग्रिएको छैन ।



हामीलाई थाहा छ, नियत होइन, प्रक्रियागत त्रुटिले गर्दा तपाईंको नागरिकता अवैध बनेको हो । अहिले पनि भएभरको जायजेथा बेचेर अमेरिका छिर्न चाहने युवाहरू देशमा छन् । तपाईं देशमैं केही गर्ने अठोट लिएर आउनुभएको हो । सिधै सांसद र मन्त्री बन्न या रेडिमेड लाभ लिन तपाईं आएको होइन, सङ्घर्ष गर्न आउनुभएको हो । लामो समय गर्नुभएको पनि हो ।

अलिकति संयम र परिपक्वता देखाएर त्यो त्रुटि सच्याउनतिर लाग्नुहोस् । सकिन्छ भने नयाँ संस्कार प्रदर्शन गर्दै एकपल्ट माफी पनि माग्नुहोस् । तपाईंको दलले अदालतविरुद्ध नाराबाजी गर्ने हो भने त नयाँ दल र पुराना दलबीच के फरक रह्यो र ? तपाईं नेपाली नागरिक नै हो । बस्, त्यसको प्रमाणपत्र हासिल गर्ने प्रक्रिया नपुगेको हो । तपाईंको क्षेत्रमा चुनाब त हुन्छ नै । नागरिकता लिएर फेरि चुनाबी मैदानमा जन अनुमोदित हुने र अझ शक्तिशाली भएर कुनै दबाबबिना काम गर्न सक्ने अवसर तपाईंसँग छ ।

अरूले भोलि आफै विरुद्ध हतियार बनाउन सक्ने गरी केही नबोल्नुहोस् । तपाईंको दल सरकारमा छ । कुनै कानुनले तपाईंलाई उम्मेदवार बन्न छेक्छ भने त्यसलाई बदल्न पनि सकिन्छ । तर, हरेक शब्द र कदम कानुनभित्रै रहेर उठाउनुहोस् । दलहरू का लागि बालेन र तपाईं एक प्रकारको थ्रेट नै हो । तिनले न्युट्रलाइज गर्न खोज्नु स्वाभाविक छ । तर, अझै पनि एउटा ठूलो नागरिक समाजका लागि तपाइँ आशाको केन्द्र हुनुहुन्छ । भत्किएको ठाउँ टाल्दै जाने हो, थप भत्काउँदै जाने होइन । अझ लोभलाग्दो कमब्याक अवश्यम्भावी छ । त्यसलाई थप विश्वसनीय र भरोसायोग्य बनाउने काम तपाईंको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट