ओलीले भेट्न नमानेपछि रावल निराश, निकटस्थलाई ब्रिफिङ – ओलीले दश बुँदे कार्यान्वयन गर्दैनन्-Sutra News

ओलीले भेट्न नमानेपछि रावल निराश, निकटस्थलाई ब्रिफिङ – ओलीले दश बुँदे कार्यान्वयन गर्दैनन्

आइतबार, ६ भाद्र २०७८

आइतबार, ६ भाद्र २०७८

एमाले एकता पक्षमा रहेका भीम रावल सहितका नेताहरू अन्तिम अवस्थामा आएर एमाले छोड्ने मनस्थितिमा पुगेका छन् । उनीहरूले फोन गरेर अध्यक्ष केपी शर्मा ओलीसँग भेटेरै कुरा गर्न चाहेको बताएका थिए । तर ओलीले भेट दिएनन् ।



‘हामीले भेटेरै कुरा गर्छौं भनेपछि अध्यक्ष ओलीले अहिले समय छैन भन्नुभयो,’ तटस्थ बसेका एक स्थायी कमिटी सदस्यले सूत्रन्यूजसँग भने, ‘त्यसो भए कहिले समय हुन्छ त भनेर सोध्यौं । उहाँले जे भन्ने हो फोनमै भन्नुस्, अहिले भेट्ने समय छैन भन्नुभयो ।’

स्रोतका अनुसार ओलीलाई रावलले फोन गरेका थिए । करीब १५ मिनेट भएको कुराकानीमा ओलीले दश बुँदे सहमति कार्यान्वयन नगर्ने संकेत गरेपछि रावललगायतका नेताहरू निराश बनेका हुन् ।

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले दल विभाजन खुकुलो हुने गरी अध्यादेश ल्याएको भोलिपल्टै एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल सहित ५८ केन्द्रीय सदस्य र ३१ संघीय संसदका सदस्यले नयाँ पार्टी दर्ता गर्न निवेदन दिइसकेका छन् ।

एमालेभित्रको अन्तरसंघर्षमा नेता नेपाललाई साथ दिएका भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, सुरेन्द्र पाण्डे, अृमतकुमार बोहरा र रघुजी पन्तलगायतका नेताहरूले नयाँ दल दर्ताको निवेदनमा हस्ताक्षर गरेका थिएनन् ।

उनीहरूले पार्टी विभाजन हुन नहुने भन्दै एकताको प्रक्रिया जारी राखेको बताएका छन् । यसअघि असार २७ गते भएको दश बुँदेको कार्यान्वयन र १४ सांसदमाथि गरिएको कारवाही फिर्ता गर्नुपर्ने ती नेताहरूको अडान छ ।

तर अध्यक्ष ओलीले १४ सांसदलाई गरिएको कारवाही फिर्ता नलिने अडान लिएका छन् भने दश बुँदे सहमति कार्यान्वयन नगर्ने संकेत देखाएका छन् ।

पछिल्लो समय ओलीले एकता प्रक्रियाका लागि भन्दै प्रयास गरिरहेका नेताहरूलाई भेट्नसमेत मानिरहेका छैनन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट