नेपाल समूहमा पहिरो : ११ निवर्तमान सांसदले गरे ओलीतिर जाने संकेत-Sutra News

नेपाल समूहमा पहिरो : ११ निवर्तमान सांसदले गरे ओलीतिर जाने संकेत

मंगलबार, १५ असार २०७८

मंगलबार, १५ असार २०७८

प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नै पार्टीका असन्तुष्ट नेताहरूलाई आफ्नो समूहमा ल्याउन प्रयासरत छन् ।



सर्वोच्च अदालतले वैधानिकतामा प्रश्न उठाएपछि महाधिवेशन आयोजक कमिटी भंग गर्ने र पार्टीलाई २०७५ साल जेठ २ गतेको संरचनामा लैजाने तयारीपछि नेपाल समूहका केही नेताहरू आफूतिर आउने अनुमान ओलीको छ ।

स्रोतका अनुसार गोकर्ण बिष्ट, योगेश भट्टराई, भीम आचार्य, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायत ११ निवर्तमान सांसदले जेठ २ गतेको संरचनामा जाने वचन दिइसकेका छन् ।

यससँगै वरिष्ठ नेता नेपालसम्म जम्मा १५ निवर्तमान सांसद रहनेछन् । तीमध्ये पनि कतिपयसँग कुरा भइरहेको संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सूत्रन्यूजलाई बताए ।

बिष्ट र भट्टराईले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश माग गरिएको रिटमा हस्ताक्षर गरेका थिएनन् ।

सोमवार एक अनलाइनसँग कुरा गर्दै भट्टराईले एमाले फूटको सम्भावना टरेको बताएका थिए । यसलाई उनी ओली समूहमा जान खोजेको संकेतका रूपमा राजनीतिक वृत्तमा चर्चा चलिरहेको छ ।

गोकर्ण बिष्टले पनि नयाँ सन्दर्भमा नयाँ सहमति हुनुपर्नेमा जोड दिइरहेका छन् । उनले एमाले एकता नभए देश ठूलो दुर्घटनामा जाने सूचना आफूसँग रहेको निकटस्थलाई भन्दै आइरहेका छन् ।

मंगलवार ओलीले स्थायी कमिटी बैठकको आयोजना गरेका छन् । बैठकले बुधवार बस्ने महाधिवेशन आयोजक कमिटीका एजेण्डा तय गर्ने बताइएको छ ।

गत फागुन २८ गते ओलीले केन्द्रीय कमिटी भंग गरेर दशौँ महाधिवेशन आयोजक कमिटी बनाएका थिए । महाधिवेशन आयोजक कमिटीलाई कानून र संविधानले नचिन्ने भन्दै सर्वोच्चको फैसला आएको थियो । त्यही आधारमा टेकेर ओली आयोजक कमिटी भंग गरेर पुनः केन्द्रीय कमिटी ब्युँताउन सहमत भएका हुन् ।

माधव समूह छोड्न लागेका एक नेताले सूत्रन्यूजसँग भने – ‘हामीले नेता मान्दै आएको माधव कमरेडलाई माओवादी र कांग्रेसले अलि बढी प्रयोग गर्यो कि जस्तो लागेको छ । प्रचण्ड र देउवा दुवैले पटक-पटक कोटेश्वर गएर माधव कमरेडलाई के खुवाउनु भएको छ कुन्नि ?’

उनले नेता नेपाल अब नयाँ परिस्थितिको जायजा लिएर अरू दल भन्दा पनि आफ्नै दललाई बलियो बनाउनुपर्ने बेला आएको बताए ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले स्वर्गीय मदन भण्डारीको ७० औं स्मृति दिवसका दिन नेता नेपाललाई प्रचण्डको पुच्छर भएको आरोप लगाएका थिए ।

उनले नेता नेपालमाथि कठोर टिप्पणी गर्दै आफूले प्रधानमन्त्रीको प्रस्ताव गर्नलाई कुनै बहुला कुकुरले नटोकेकोसमेत बताए । प्रचण्डको मामूली कार्यकर्ताको रूपमा गरिएको टिप्पणीको जवाफ दिँदै नेता नेपालले हिजै भनेका थिए – ‘ओलीको भाषण तपाईंहरूले रेकर्ड गरेर राख्नुहोला । म पनि खोजिरहेको छु ।’

ओलीले नेता नेपालमाथि कठोर टिप्पणी गर्नुको अर्थ एमालेमा कुनै ठाउँ नभएको संकेत पनि दिनु हो ।

‘यसलाई माधव कमरेडले राम्रोसँग बुझ्नुभएको छ,’ नेपालनिकट अर्का एक नेताले सूत्रन्यूजसँग भने, ‘ओलीको नेतृत्वमा कम्युनिस्ट आन्दोलन अघि बढ्न पनि सक्दैन । त्यसैले तत्काल हामीले नयाँ पार्टीका बारेमा सोचेका त छैनौं, एमालेभित्रै रहेर विद्रोह गरिरहेका छौं ।’

तपाईंका केही नेता ओली समूहमा जान तयारी गरिरहेका छन् नि भन्ने प्रश्नमा उनले भने, ‘हामी एमालेमै छौं । हाम्रो लडाईं ओली समूहसँग होइन, ओली प्रवृत्तिविरुद्ध हो । ओलीनिकट नेताहरुनै ओली प्रवृत्तिबाट आजित भएका छन् । ओली समूहमा कोही जाने भन्ने प्रश्न नै उठ्दैन ।’

बालुवाटारले केही दिनअघि माधव समूहलाई विभाजन गर्न सफल भएको निष्कर्ष निकालेको थियो । नेपाल पक्षका केही सांसदहरूलाई वार्ताका नाममा इन्गेज गराइरहने र आफूतिर तान्न प्रयास गरिरहने बालुवाटार रणनीति केही हदसम्म सफल हुँदै गएको छ ।

नेता नेपालले भने आफूलाई प्रधानमन्त्रीको ‘अफर’ आएको भएपनि विपक्षी गठबन्धनलाई धोका नदिने प्रतिबद्धता व्यक्त गरेका थिए । तर उनका आफ्नै विश्वासपात्रहरूले छोड्ने तयारी गरेपछि यतिबेला उनी दबाबमा छन् ।

केही दिनअघि राजनीतिक बिट हेर्ने पत्रकारहरूसँगको अन्तरक्रियामा नेता नेपाललाई योगेश र घनश्यामले भनेका थिए, ‘यता वार्ता पनि चल्दैछ, ओली निशर्त जेठ २ मा जाने तयारी गरेजस्तो गरेका छन् । त्यसैले मिलाएर मात्र बोल्नुहोला है ।’

तर नेता नेपालले आफूलाई प्रधानमन्त्रीकै प्रस्ताव आएको खुलासा गरिदिए । ओलीले आफूले प्रस्ताव नगरेको बताइसकेका छन् । तर सूत्रन्यूजलाई विश्वस्त स्रोतले दिएको सूचना अनुसार ओलीकै निर्देशनमा पृथ्वीसुब्बा गुरुङले नेता नेपाललाई प्रधानमन्त्री लिन तयार हुन आग्रह गरेका थिए । त्यसलाई नेता नेपालले अस्वीकार गरेको बताइएको छ ।

नेता नेपालले प्रधानमन्त्री पद अस्वीकार गरेपछि ओलीले आफूले कुनै प्रस्ताव नगरेको भन्दै कठोर अभिव्यक्ति दिएका हुन् ।

यता नेता नेपाल प्रधानमन्त्री बन्न नचाहेपछि एमालेबाट संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई प्रधानमन्त्री बनाउने चर्चासमेत चलेको छ ।

यसविषयमा प्रश्न सोध्दा नेम्वाङले भने – ‘छलफलमा धेरै विकल्पहरू आएका छन् । म मेरो नामलाई लिएर कुनै टिप्पणी गर्न चाहन्न ।’

केही दिनअघि नेता गुरुङले माधव नेपाललाई प्रधानमन्त्री या अध्यक्ष बनाएर भएपनि पार्टीलाई एकताबद्ध गर्नुपर्ने भन्दै सञ्चारमाध्यममार्फत आफ्नो धारणा सार्वजनिक गरेका थिए ।

एमाले एकताबद्ध भएर अघि बढे पुनः वामएकता गर्न सकिने भन्दै माओवादी केन्द्रका दोस्रो पुस्ताका नेताहरूले एकताकै चाहना राखेको स्रोत बताउँछ ।

नाम नबताउने शर्तमा माओवादी केन्द्रका एक नेताले भने – ‘हाम्रो चाहना त वामपन्थी एकता नटुटोस भन्ने नै हो । एमाले र माओवादी केन्द्र दुवै एक रहे भविष्यमा पुनः जोडिन सक्ने सम्भावना रहन्छ । एकपटक एकता गर्यौं, परिस्थितिले पछि फर्काइदिएको न हो ।’

उनले एमाले एक भए माओवादी केन्द्रलगायत अन्य कम्युनिस्टहरूलाई पनि फाइदै हुने विश्लेषण सुनाए ।

गोकर्ण बिष्ट र योगेश भट्टराई लगायतका नेताहरूले पनि माओवादी केन्द्रका दोस्रो पुस्ताका नेताहरूसँग छलफल कायमै राखेका छन् । उनीहरूले भन्ने गरेका छन् – ‘एमाले सधैं ओलीकै नेतृत्वमा अघि बढ्छ भन्ने छैन । दोस्रो पुस्ताका नेताहरूले हस्तक्षेप गरिरहेका छौं । एकता हाम्रा लागि र तपाईंहरूका लागि पनि अपरिहार्य विषय हो ।’

बुधवार बस्न लागेको एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकमा ओलीले नेता नेपाललगायत ११ जनालाई सूचना नदिन निर्देशन दिएका छन् ।

पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले कारवाहीमा परेका ११ जनालाई बैठकमा आमन्त्रित नगरिएको बताए । उनले योगेश भट्टराई, गोकर्ण बिष्टसहितका नेताहरू भने बैठकमा आउने दाबीसमेत गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट