बादलको क्रान्तिकारी चरित्रमा ‘दाग’-Sutra News

बादलको क्रान्तिकारी चरित्रमा ‘दाग’

शुक्रबार, २८ जेष्ठ २०७८

शुक्रबार, २८ जेष्ठ २०७८

२०७४ सालको फागुन १४ गते पहिलोपटक गृहमन्त्रीको सपथ खाएका रामबहादुर थापा ‘बादल’बाट जनताले धेरै अपेक्षा गरेका थिए । राजनीतिक हिसाबले चतुर तर वैयक्तिक हिसाबले निकै कम बोल्ने बादल केपी शर्मा ओली सरकारको गृहमन्त्री बनेपछि चुलिएको अपेक्षा पूरा हुन त सकेन तर तीन वर्षभित्र बदलिएको राजनीतिक घटनाक्रमले बादलकै राजनीतिक भविष्यमा प्रश्नचिह्न उठेको छ ।



अदालतले नेकपा विभाजन गरेर एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि बादल एमालेतिर लागे । राष्ट्रिय सभाका सदस्य रहेका उनलाई माओवादी केन्द्रले कारवाही गरेर पदमुक्त गरेपछि पनि उनले दोस्रोपटक गृहमन्त्रीको सपथ लिएर पदप्रतिको आशक्ति जनाएका थिए ।

संसदमा विश्वासको मत गुमाएपछि प्रधानमन्त्री केपी शर्मा ओली संविधानको धारा ७६ को उपधारा ३ बमोजिम अल्पमतको प्रधानमन्त्री बने, बादलले तेस्रोपटक गृहमन्त्रीको सपथ खाए । जुन असंवैधानिक थियो । अदालतले बादललगायत पूर्वमाओवादी केन्द्रका ७ मन्त्रीहरूलाई असंवैधानिक रूपमा नियुक्ति लिएको भन्दै बर्खास्त गरिदियो ।

अदालतबाट बर्खास्तगीमा परेकै दिन बादलले राष्ट्रिय सभामा खालि रहेको एक सिटमा गरिएको उपनिर्वाचनसमेत हारे । बादलको राजनीतिमा ‘बादल’ लाग्न शुरू भयो । उनलाई सेटिङमै हराइएको भन्दै टिप्पणीसमेत भएको थियो ।

कुनैबेला चर्का क्रान्तिकारी कुरा गर्ने बादल अहिले पदप्रति कतिसम्म आशक्त रहेछन् भन्ने प्रष्ट देखिएको छ । बिहीवार बिस्तार भएको मन्त्रिपरिषदमा बादलपत्नी नैनकला थापा सञ्चारमन्त्री बनिन् । महिला आयोगको अध्यक्षसमेत रहेकी थापा राजनीतिमा त्यति सुनिएको नाम होइन ।

गत जेठ ६ गते सर्वोच्चले बादलसहित ७ मन्त्रीहरूको जागिर खाइदिएको थियो । तर संसद विघटन भएपछि पुनः नियुक्ति पाइने आशामा कसैले पनि मन्त्रीक्वार्टर छोडेका थिएनन् । यो समाचार टिप्पणी लेख्दासम्म पूर्वमाओवादीका अन्य नेताहरूले क्वार्टर छोडिसकेका छन् भने बादलले क्वार्टर छोड्नुपरेको छैन ।

आफ्नी धर्मपत्नीसहित बादलले मन्त्रीका लागि कारवाहीमा परेकी प्रदेश २ की सांसद ज्वालाकुमारी शाहलाई सिफारिस गरेका थिए । ओलीले बादलको सिफारिस त माने, तर नैतिकताको वास्ता गरिएन । मन्त्रीमण्डलमा प्रदेश २ को बहुमत छ ।

यो पनि –

बादलको हारले जन्माएका यी ४ यक्ष प्रश्न : के उनको राजनीतिक भविष्य अन्योलमा परेको हो ? बादलको हारले जन्माएका यी ४ यक्ष प्रश्न : के उनको राजनीतिक भविष्य अन्योलमा परेको हो ?

बादलसँग लामो समय काम गरेका कर्णालीका नेता मायाप्रसाद शर्मा ‘पारसमणि’ले बादलमा नैतिक विचलन देखिएको टिप्पणी गरे ।

‘दक्षिणपन्थको घोर विरोध गर्ने बादलले अहिले दक्षिणपन्थीहरूको साथ दिइरहनु भएको छ, त्यो राजनीतिक र नैतिक विचलन हो,’ शर्माले सूत्रन्यूजसँग भने ।

उनले बादलमा यसअघि देखिएको क्रान्तिकारी चेतकै कारण आफूहरूले खुलेर साथ दिएको तर पछिल्लो समय पदको पछि लागेपछि छोडेको बताए ।

‘बादल पदको पछि लाग्नुभयो,’ शर्माले भने, ‘यसअघि हामीले उहाँमा क्रान्तिकारी चेत छ भन्ने मानेरै सहयोग गरेका थियौं । त्यो जुट रहेछ भन्ने प्रमाणित भयो । जसरी पनि आफू मन्त्री भइरहनुपर्ने, अदालतले बार लगाइदिएपछि आफ्नी श्रीमतीलाई मन्त्री बनाउन हिंड्ने बादलको राजनीतिक चेत स्खलनको दिशातर्फ मोडिएको साँचो हो ।’

शर्माले बादललगायत माओवादी केन्द्र छाडेका नेताहरूको राजनीतिक भविष्यमै प्रश्न चिह्न उठेको बताए । ‘बादल तुलनात्मक रूपमा सोझो मानिनुहुन्छ तर अहिले चतुर र भ्रष्टहरूको घेरामा हुनुहुन्छ । उहाँलाई साथ दिइरहेका हामीले भेटेरै दक्षिणपन्थीको पछि नलाग्नुस भनेको हो, तर उहाँले पद मात्र सर्वोपरी देख्नुभयो । उहाँको क्रान्तिकारी चरित्रमा दाग लागेको छ,’ शर्माले भने ।

बादलसँग लामो समयसम्म सहकार्य गरेका अर्का नेता लेखनाथ न्यौपानेले पनि बादलको क्रान्तिकारितामा प्रश्न उठेको टिप्पणी गरे । उनले बादल उपभोक्तावादी राजनीतिको शिकार भएको र बताए ।

‘जे पाइन्छ त्यो खाइहालौं भन्ने प्रवृत्ति राजनीतिमा हाबी भएको छ,’ न्यौपानेले सूत्रन्यूजसँग भने, ‘ओलीसँग सहकार्य गरेपछि बादलको राजनीतिक क्षमता र नेतृत्वमा हुनुपर्ने गुण चाहिँ देखिएन । गतिशीलता पनि निकै कमजोर देखिएको छ । मलाई त यस्ता पनि नेता हुँदारहेछन् भन्ने लागेको छ ।’

उने बादललाई प्रचण्डपछिको नेता तपाईं हो भनेर बारम्बार भन्ने गरेको स्मरण गर्छन् ।

‘हामीले बादललाई अब जनयुद्ध लडेर आएको हिसाबले प्रचण्डपछिको नेता तपाईं हो है, मन्त्री भएपनि आधा काम यता नेता भएर गर्नुस् भनेका थियौं,’ न्यौपानेले भने, ‘तर उहाँको गतिशीलता निकै कमजोर देखियो । पार्टी विभाजन हुँदा ओलीतिर लाग्नु नै ब्लन्डर मिस्टेक थियो ।’

गृहमन्त्रीमा बहाल रहँदा पनि बादलले निष्पक्ष ढंगले काम गर्न सकेका थिएनन् । उनलाई ओलीको छायाँमन्त्री भएको आरोप निरन्तर लागिरह्यो । प्रधानमन्त्रीमा नियुक्ति भएलगत्तै राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालयमा तानेर ओलीले महत्त्वपूर्ण र गोप्य सूचना एकत्रित गर्न शुरू गरिसकेका थिए ।

एउटा प्रभावशाली गृहमन्त्रीको हैसियतले बादलले काम गर्न नपाएको उनकै सचिवालयमा रहेकाहरूले भन्न थालेका छन् ।

उनको सचिवालयमा काम गरेका एक कर्मचारीले भने, ‘बादल आफूले राम्रो गर्न चाहनुहुन्थ्यो, तर दबाब उस्तै आउँथ्यो । कतिपय घटनाका सन्दर्भमा प्रधानमन्त्रीले बालुवाटार बोलाएरै यो गर, त्यो नगर भनेर निर्देशन दिएको हामीले थाहा पाएका थियौं । तर बादलले त्यसको प्रतिवाद गर्नुभएन, लत्रिनुमात्र भयो । यो उहाँको कमजोरी हो कि, कसैले कमजोरीको फाइदा उठाएको हो, उहाँलाई नै थाहा होला ।’

यो पनि – 

अदालतको आदेशले आफू मन्त्री बन्न नपाएपछि बादलले अघि सारे पत्नी नैनकला अदालतको आदेशले आफू मन्त्री बन्न नपाएपछि बादलले अघि सारे पत्नी नैनकला

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट