निर्णायक घडीमा जसपाको दुई खुट्टा : एउटा बुढानीलकण्ठ, अर्को बालुवाटार !-Sutra News

निर्णायक घडीमा जसपाको दुई खुट्टा : एउटा बुढानीलकण्ठ, अर्को बालुवाटार !

शुक्रबार, ७ जेष्ठ २०७८

शुक्रबार, ७ जेष्ठ २०७८

सत्ता गठबन्धनमा निर्णायक मानिएको जनता समाजवादी पार्टी (जसपा) दुई कित्तामा विभाजित देखिएको छ ।



राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि शुक्रवार ५ बजेसम्मको समयसीमा दिएपछि जसपाका नेताहरूको दौडधूप पनि तीव्र बनेको छ ।

अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष निरन्तर प्रधानमन्त्री केपी ओलीसँगको सम्पर्कमा रहेको छ । बिहीवार राति राष्ट्रपति निवाससमेत पुगेका थिए ठाकुर । शुक्रवार मध्याह्न ठाकुर पक्षले आफूनिकट सांसदहरूलाई बोलाएर छलफल गरिरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै सघाउने गरी अघि बढेको जसपाको यो समूहसँग १५ सांसद रहेको बताइन्छ । तर अन्तिम समयमा २० जना भन्दा बढी सांसद आफ्नो पक्षमा ल्याउन सकिने भन्दै ठाकुरले ओलीलाई ब्रिफिङ गर्ने गरेका छन् । यो समूहले ओलीलाई साथ दियो भने पनि एमालेको माधव नेपाल समूह बाहिरिने सम्भावना देखिन्छ ।

ठाकुरले १० मन्त्रालय मागेको विभिन्न सञ्चारमाध्यमहरूले लेखेका छन् । तर यो समूहले सत्ता गठबन्धनमा निष्पक्ष बस्ने दाबीसमेत गरिरहेको छ ।

यता उपेन्द्र यादव र बाबुराम भट्टराई समूह भने प्रतिपक्षी गठबन्धनसँग साँठगाँठ गरिरहेको छ । शुक्रवार उपेन्द्र यादव कांग्रेस सभापति शेरबहादुर देउवानिवास छिरेका छन् ।

एमालेका वरिष्ठ नेता नेपालसमेत सम्मिलित छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र स्वयं देउवा उपस्थित छन् ।

बुढानीलकण्ठमा राष्ट्रपतिलाई महाभियोग लगाउने देखि लिएर ओलीलाई अविश्वासको प्रस्ताव ल्याएर हटाउने विषयमा छलफल भइरहेको छ ।

गत पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि ठाकुर समूहले ओलीसँग चोचोमोचो मिलाइरहेको थियो । उपेन्द्र बाबुराम समूहले भने ओलीले गरेको संसद विघटन गैरसंवैधानिक रहेको भन्दै सडक आन्दोलनसमेत गरेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट