कोरोना परीक्षणका लागि टोलटोलमा मोबाइल भ्यान-Sutra News

कोरोना परीक्षणका लागि टोलटोलमा मोबाइल भ्यान

मंगलबार, ९ मंसिर २०७७

मंगलबार, ९ मंसिर २०७७

काठमाडौं- कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारलाई अझ बढी प्रभावकारी बनाउन काठमाडौं महानगरपालिकाले टोलटोलमा मोबाइल भ्यान सञ्चालन गरी स्वाब संकलन सुरु गरेको छ । जाडो बढेसँगै काठमाडौंमा कोरोनाको जोखिम थप बढेकाले कामपाले प्रत्येक वडावडामा पुगी लक्षण देखिएका बिरामी, दीर्घरोगी र ज्येष्ठ नागरिकको स्वाब संकलन सुरु गरेको हो ।



सोमबारदेखि नागरिकको सेवामा खटिएको उक्त भ्यान नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानले पोजेटिभ एअर प्रेसर मेन्टेन्ड कक्ष जडान गरेपछि प्रयोग गरिएको हो ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आफूहरु लकडाउनको सुरु अवधिदेखि नै कोभिड– १९ महामारी रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी बनाउन लागिरहेको बताउँदै थप प्रभावकारी बनाउनका लागि नाष्टको प्राविधिक सहयोगमा निर्माण भएको मोबाइल भ्यानमार्फत् स्वाब संकलनको काम शुरुआत गरिएको जानकारी दिए ।

नेपाल सरकारले तोकेको मापदण्डभित्र परेका नागरिक र कन्ट्याक्ट टे«सिङमा परेका शंकास्पद व्यक्तिलाई निःशुल्क परीक्षण गर्ने कामपा लागिपरेको बताइएको छ । यसमा एक पटकमा दुई जनाको स्वाब लिन सकिने छ ।

लक्षित वर्गलाई उपचारबाट वञ्चित नगराउने अभियानलाई साथ दिएर सकेसम्म असहाय, विपन्न र ज्येष्ठ नागरिकलाई प्राथमिकता दिन र सक्नेले आफैं परीक्षण गर्न पनि कामपाले अनुरोध गरेको छ । शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागका प्रमुख हरिबहादुर कुँवरका अनुसार सोमबार वडा नं १३ मा स्वाब संकलन गरिएको छ भने आजदेखि अन्य वडामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट