विद्यालयमा सञ्चालित आइसोलेशन सेन्टर बन्द गरिने-Sutra News

विद्यालयमा सञ्चालित आइसोलेशन सेन्टर बन्द गरिने

शुक्रबार, २८ कार्तिक २०७७

शुक्रबार, २८ कार्तिक २०७७

दाङ । राप्ती गाउँपालिकाको राप्ती प्राविधिक शिक्षालयमा सञ्चालित कोरोना विशेष देउखुरी आइसोलेशन सेन्टर आगामी मंसिर १ गतेदेखि बन्द हुने भएको छ ।



गाउँपालिकाको मौरीघाट दाङस्थित आइसोलेशन सेन्टर रहेको भवन प्रदेशसभाको हिउँदे अधिवेशन तयारीका लागि आवश्यक पर्ने भएकाले बन्द गर्न लागिएको हो । चार वटै स्थानीय तहले आआफ्ना पालिकामा आइसोलेशन सेन्टर सञ्चालन गर्ने गरी सो सेन्टर बन्द गर्ने निर्णय गरिएको हो ।

सेन्टर सञ्चालन तदर्थ समितिका अध्यक्ष नुमानन्द सुवेदीका अध्यक्षतामा बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, लमही नगरपालिकाका उपाध्यक्ष देवका बेल्बासे, गढवा र राजपुर गाउँपालिकाका अध्यक्षद्वय सहजराम यादव र लोकराज केसी, लेफ्टिनेन्ट कर्णेल विजय बस्नेतलगायतको उपस्थिति थियो ।

हालसम्म चार पालिकाका २५५ कोरोना संक्रमितलाई आइसोलेट गरी २४६ जनालाई डिस्चार्ज गर्दै आइसोलेशन सेन्टर बन्द हुने भएको हो । हाल सेन्टरमा रहेका नौ जनालाई अन्यत्र लगिने भएको छ ।

राप्ती नगरपालिका तथा गढवा र राजपुर गाउँपालिकाको संयुक्त लगानीमा सञ्चालित आइसोलेशन सेन्टर चलाउन लागेको खर्च विवरण आइसोलेशन सेन्टर बन्द गरिएपछि चारै स्थानीय तहको उपस्थितिमा सार्वजनिक गरिने र सोको व्ययभार चार पालिकाले बहन गरिने निर्णयसमेत गरिएको छ ।

बैठकले आइसोलेशन सेन्टरमा खटिएका नेपाली सैनिक, स्वास्थ्यकर्मी, अन्य कर्मचारी तथा जनप्रतिनिधिलाई धन्यवाद दिँदै कोरोना संक्रमणबाट बच्नका लागि सबैलाई सचेतना अपनाउन र जोकोहीलाई कोरोना संक्रमण भएमा चारै पालिकालाई आफ्नातर्फबाट बिरामीको रेखदेखलाई निरन्तरता दिँदै जान आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट