निजी अस्पतालमा कोरोना संक्रमितलाई राख्दा के छन् व्यवस्था ?-Sutra News

निजी अस्पतालमा कोरोना संक्रमितलाई राख्दा के छन् व्यवस्था ?

बिहिबार, ११ भाद्र २०७७

बिहिबार, ११ भाद्र २०७७

काठमाडौं- पछिल्ला दिनहरुमा काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्यामा अत्यधिक वृद्धि भइरहेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार काठमाडौं उपत्यकाका कूल ३७७ जनामा कोरोना संक्रमित भेटिए। बुधबार भने ३०१ जना संक्रमित भेटिएको थियो।



बुधबारसम्म तथ्यांक हेर्ने हो भने काठमाडौंमात्र ३ हजार ४५५ जना संक्रमित रहेका छन्। त्यस्तै ललितपुरमा ५७६  भक्तपुरमा ३६५ संक्रमित रहेका छन्। संक्रमितमध्ये ९ सय ४१ जना निजी अस्पतालका आइसोलेसनमा रहेको स्वास्थ मन्त्रालयका सह-प्रवक्ता डा. समिर अधिकारी बताउँछन्।

नेपाल सरकारले कोभिड-१९ को सुरुवाती चरणदेखि नै उपचारका लागि निजी तथा सरकारी अस्पताललाई आदेश दिएको थियो। स्वास्थ्य मन्त्रालयले कोभिड-१९ अस्पताल व्यवस्थापनसम्बन्धी निर्देशिकाअनुसार कोरोना संक्रमितलाई भर्ना गर्न सूचीकृत भएका अस्पतालहरुमा सरकारले नै उपचार खर्च प्रदान गर्ने निर्णय गरेको थियो।

स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता अधिकारीका अनुसार कोभिड र नन-कोभिड अस्पतालको रुपमा सूचीकृत भएका अस्पतालहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएका विरामीहरुले उपचारमा लागेको खर्च तिर्नु नपर्ने आदेश जारी गरिएको थियो। ‘निजी अस्पतालमा सूचीकृत भएका अस्पतालहरुमा उपचारमा लाग्ने खर्च सरकारले नै तिर्ने गरेको छ,’ उनी भन्छन्।

सूचीकृत नभएका अस्पतालहरुले पनि सम्बन्धित व्यक्तिसँग शुल्क लिएर आफ्नो तरिकाले सेवा दिने गरेको उनी बताउँछन्। भन्छन्, ‘सूचीकृत नभएका अस्पतालहरुले पनि २० प्रतिशत छुट्याएरमात्रै सेवा दिन पाउने निर्देशिका तयार गरिएको छ।’

 सूचीकृत नभएका अस्पतालहरुले संक्रमित व्यक्तिसँगै उपचार शुल्क लिएर अस्पतालमा राख्न पाउने अधिकारी बताउँछन्। संक्रमितलाई अस्पतालमा राख्दा उनीहरुबाट लिने उपचार शुल्क मन्त्रालयले निर्धारण गरेअनुसार हुनुपर्ने व्यवस्था गरिएको अधिकारीले बताए।

कति छन् निजी अस्पतालमा संक्रमित?

मंगलबारसम्मको स्वास्थ्य मन्त्रालयको स्थिति प्रतिवेदनअनुसार काठमाडौंमा पुष्टि भएका कोरोना संक्रमितहरुमध्ये ९ सय ४१ जना आइसोलेसनमा, ६० जना आइसियुमा र १३ जना भेन्टिलेटरमा रहेका छन्। यीमध्ये २ सय जना संक्रमित निजी अस्पतालमा रहेको सह-प्रवक्ता अधिकारी बताउँछन्। उनका अनुसार काठमाडौंमा आइसोलेसनमा रहेका संक्रमितहरुमध्ये निजी अस्पतालहरुमा १ सय ८४ जना संक्रमित छन्। तीमध्ये केएमसी अस्पतालमा ४७ जना कोरोना संक्रमित आइसोलेसनमा छन्। त्यस्तै हेम्स अस्पतालमा २८ जना, ग्राण्डी अस्पतालमा ८ जना, मनमोहन अस्पतालमा १ सय जना र यति अस्पतालमा १ जना कोरोना संक्रमित आइसोलेसनमा उपचाररत रहेको अधिकारीले बताए।

उपत्यकामा आइसियुमा भएका ६० जनामध्ये १३ जना निजी अस्पतालमा छन्। निजी अस्पतालमा आइसियुमा रहेका कोरोना संक्रमितहरुमध्ये केएमसी अस्पतालमा ४ जना र हेम्समा ९ जना छन्। त्यस्तै, भेन्टिलेटरमा रहेका १३ जनामध्ये ३ जना निजी अस्पतालमा रहेको अधिकारीले बताए। उनका अनुसार निजी अस्पतालमा भेन्टिरलेटरमा रहेका तीनै जना संक्रमित हेम्स अस्पतालमा छन्।

‘निजी अस्पतालले राख्‍न नमानेका कुराहरु आउँछन्’

मन्त्रालयले निजी अस्पतालाई पनि कोरोना संक्रमितलाई भर्ना गर्ने आदेश जारी गरेपछि मन्त्रालयमा सूचीकृत भएका अस्पतालहरुले अहिले संक्रमितको भर्ना लिन थालेका छन्। अधिकारीका अनुसार कुनै पनि निजी अस्पतालमा पूर्णरुपमा कोरोना संक्रमितको उपचार गर्न चाहने हुँदा त्यसलाई पनि मन्त्रालयले अनुमति दिएको छ।

अधिकारी भन्छन्, ‘पूर्णरुपमा कोभिडको लागि छुट्याउनेबाहेकका अस्पतालहरुमा पनि कम्तीमा २० प्रतिशत बेड, भेन्टिलेटर तथा आइसियुहरु कोभिड संक्रमितको लागि छुट्याउनुपर्ने निर्देशिका मन्त्रालयले जारी गरेको छ।’

निजी अस्पताललाई मन्त्रालयले कोरोना संक्रमितलाई राख्नु भन्ने आदेश दिएपछि नराखेको कुरा बढी आइरहेको अधिकारी बताउँछन्। उनी भन्छन्, ‘मन्त्रालयले कोरोना संक्रमितलाई निजी अस्पतालमा राख्नु भन्ने आदेश भएपछि पनि कतिपय अस्पतालहरुले राखेका थिएनन्। अहिले आफ्नै कर्मचारीमा संक्रमण पुष्टि भएपछि राख्न थालिएको पाइएको छ।’

कस्ता सेवा सुविधा भएका अस्पतालमा कोरोना संक्रमितलाई राख्ने भन्नेबारे निश्चित मापदण्ड भने छैन। अधिकारका अनुसार सबै संक्रमितलाई भेन्टिलेटर वा आइसियु आवश्यक नहुने भएकाले यी पुर्वाधार नभएका अस्पतालमा मात्रै संक्रमितलाई राख्ने अनुमति दिइएको छ। ‘सामान्य लक्षण भएका वा लक्षण नभएका व्यक्ति घरै बस्दा पनि हुन्छ। तर, उनीहरुले अस्पतालमा बस्न चाहन्छन् भने अस्पतालमा पनि राख्न पाइन्छ। सामान्य संक्रमितलाई भेन्टिलेटर वा आइसियु आवश्यक नहुने भएकाले यी पूर्वाधार भएकै अस्पतालमा मात्र संक्रमित राख्ने भनिएको छैन,’ उनले भने।

कति छ सरकारले दिने अनुदान?

मन्त्रालयमा सूचीकृत भएका निजी अस्पतालले सरकारले भनेको व्यवस्थाअनुसार कोरोना संक्रमितलाई राख्दा कुनै पनि शूल्क लिन नपाउने प्रावधान बनाइएको छ। संक्रमितको उपचारमा लाग्ने खर्च सम्पूर्ण सरकारले नै जिम्मा दिने निर्णय ‘कोरोना भाइरस संक्रमणको उपचारबापत अस्पतालहरुलाई अनुदान उपलब्ध गराउनेसम्बन्धी आदेश, २०७७’ मा गरिएको छ।

नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले नेपालमा कोरोना भाइरसको संक्रमण फैलिएपछि निजी अस्पतालमा कोभिड-१९ का बिरामीहरुलाई राख्दा अस्पताललाई सरकारले दिने अनुदान र त्यसका लागि अस्पताल सञ्चालन गर्नका लागि आवश्यक पर्ने मापदण्डसहित निर्देशिका तयार गरेको थियो।

‘कोरोना भाइरसको संक्रमणको उपचारबापत अस्पतालहरुलाई अनुदान उपलब्ध गराउनेसम्बन्धी आदेश, २०७७’ जारी गरेको थियो। सोही निर्देशिकाअनुसार कोरोना संक्रमितको अवस्था, लक्षण देखिएको वा नदेखिएको लगायतका विभिन्न पक्षलाई हेरेर निजी अस्पताललाई प्रति दिनको हिसाबले उपचारमा लागेको खर्च सरकारले दिने निर्णय भएको अघिकारी बताउँछन्।

संक्रमितलाई निजी अस्पताल उपचार गराएपछि अस्पतालले मन्त्रालयले तयार गरेको ढाँचाअनुसार उपचारमा लागेको खर्च भुक्तानीका लागि निवेदन गर्नुपर्ने प्रावधान रहेको अधिकारीले बताए। उपचारको रकम भुक्तानी गर्ने सम्बन्धमा मन्त्रालयले भनेअनुसारको रकम अस्ताललाई दिइने निर्देशिकामा उल्लेख गरिएको छ।

स्वास्थ्य मन्त्रालयले असार १५ गते तयार गरेको ‘कोरोना भाइरसको संक्रमणको उपचारबापत अस्पताललाई अनुदान उपलब्ध गराउनेसम्बन्धी आदेश, २०७७ लाई संशोधन गर्न बनेको आदेश’का अनुसार निजी अस्पतालमा भर्ना भएका कोरोना संक्रमितहरुमध्ये सामान्य लक्षण भएका एक जना संक्रमितलाई अस्पतालमा राखेवापत नेपाल सरकारले प्रतिदिन ३ हजार ५ सय हजारको दरले उपचार खर्च उपलब्ध गराउनेछ।

त्यस्तै गम्भीर लक्षण भएका कोरोना संक्रमितहरुलाई निजी अस्पतालमा राखेबापत प्रतिदिन ७ हजारको दरले अनुदान दिने व्यवस्था गरिएको छ। गम्भीर लक्षण भएका र भेन्टिलेटर वा आइसियुमा उपचार गर्नुपर्ने अवस्था भएका संक्रमितको उपचारबापत भने प्रतिदिन १५ हजार अनुदान दिने व्यवस्था गरिएको मन्त्रालयका प्रवक्ता अधिकारीले बताए।

त्यसो त, निर्देशिकाका अनुसार संक्रमित आफू घरमै पनि बस्न पाउँछन्। लक्षण नभएका वा सामान्य लक्षण भएका कोरोना संक्रमित घरैमा बस्दा सरकारको तर्फबाट प्रतिदिन २ सयको दरले अनुदान दिने व्यवस्था गरेको छ। अर्कातिर, आइसोलेसन केन्द्रमा संक्रमित बसेमा प्रतिदिन २ हजारको दरले सरकारले अनुदान दिने व्यवस्था गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट