पीसीआर परीक्षण र कन्ट्याक ट्रेसिङलाई प्रभावकारी बनाउन मुख्यमन्त्री पोखरेलको निर्देशन-Sutra News

पीसीआर परीक्षण र कन्ट्याक ट्रेसिङलाई प्रभावकारी बनाउन मुख्यमन्त्री पोखरेलको निर्देशन

मंगलबार, ९ भाद्र २०७७

मंगलबार, ९ भाद्र २०७७

भैरहवा- कोरोना भाइरस रोकथाम तथा उपचारमा भइरहेका प्रयास र गर्नुपर्ने कामबारे प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग सोमबार एकीकृत भिडियो सम्वाद गरेका छन्।



सम्वादमा मुख्यमन्त्री पोखरेललाई प्रमुख जिल्ला अधिकारीहरुले जिल्लाको समग्र अवस्थाको जानकारी दिदै कोरोना नियन्त्रण र उपचारका लागि गर्ने कामबारे बताएका छन्।

सम्वादमा मुख्यमन्त्रीले जिल्लामा क्वारेन्टाइन र आइसोलेसन केन्द्र आवश्यकताअनुसार बनाउन, पीसीआर परीक्षण र कन्ट्याक ट्रेसिङको काम प्रभावकारी बनाउन निर्देशन दिए। उनले लकडाउन र निषेधाज्ञालाई आवश्यकता र औचित्यताको आधारमा गर्न र लकडाउन र निषेधाज्ञा गरिएको जिल्ला र क्षेत्रमा कडाइका साथ पालना गराउनुपर्ने बताए।

उनले भारतबाट आउने नागरिकलाई व्यवस्थित अभिलेख राखी प्रवेश गराउन, होल्डिङ क्वारेन्टाइनमा राखेर सम्बन्धित जिल्लामा पठाउन, सीमाबाट छोटो आवतजावतलाई रोक्न र सीमा नाकामा कडाइ गर्न निर्देशन दिए।

मुख्यमन्त्री पोखरेलले प्रमुख जिल्ला अधिकारीहरुलाई कोभिड–१९ ले सिर्जना गरेको मानवीय त्रासलाई न्यूनीकरण गर्न सञ्चार माध्यममार्फत् सूचना प्रवाह गर्न तथा कोभिडको उपचार तथा शान्तिस सुरक्षाको प्रबन्धलाई अघि बढाउन आग्रह गरे। उनले प्रमुख जिल्ला अधिकारीहरुले अहिलेसम्म गरेको काम प्रशंसनीय रहेको बताउँदै काम गरेपछि त्यसको समीक्षा गरी जहाँ कमजोरी छ, त्यहीबाट सुधार गरी अघि बढ्न निर्देशन दिए।

प्रमुख जिल्ला अधिकारीहरुले जिल्लागत भएका काम र समस्या प्रस्तुत गरेका थिए। तत्काल प्रदेश र संघीय सरकारले गर्नुपर्ने कामबारे प्रमुख जिल्ला अधिकारीहरुले मुख्यमन्त्री पोखरेललाई जानकारी गराएका थिए।

-भैरहवाबाट रबिन्द्र प्रताप गुप्ताको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट