शान्ति प्रक्रियामाथि प्रश्न उठ्न नदिनेगरी समस्याको समाधान गर्न नेकपा कार्यदलको सुझाव-Sutra News

शान्ति प्रक्रियामाथि प्रश्न उठ्न नदिनेगरी समस्याको समाधान गर्न नेकपा कार्यदलको सुझाव

सोमबार, ८ भाद्र २०७७

सोमबार, ८ भाद्र २०७७

काठमाडौं- पार्टीभित्र देखिएका विवाद समाधानका लागि सुझाव दिन गठन गरिएको नेकपा कार्यदलले शान्ति प्रक्रियामाथि अनावश्यक प्रश्न नदिनेगरी समस्याको समाधान गर्न जरुरी रहेको सुझाव दिएको छ।



शनिबार बुझाइएको १८ पृष्ठ लामो प्रतिवदेनमा शान्ति प्रक्रियाको महत्वपूर्ण पक्ष रहेको सत्य निरुपण र मेलमिलाप आयोग तथा बेपत्ता व्यक्तिहरुको छानबिनसम्बन्धी आयोगको काम टुङ्ग्याउन अझै बाँकी रहेको उल्लेख गरिएको छ।

‘शान्ति प्रत्रियाका बाँकी कामहरु समयमा सम्पन्न गर्ने, पीडितहरुमा असन्तुष्टि र पीडा थपिन नदिने, विषयको संवेदनशीलतामाथि खेल्न नदिने र विश्वमै उदाहरणीय रहेको नेपालको शान्ति प्रक्रियामाथि अनावश्यक प्रश्न उठ्न नदिने गरी समस्याको समाधान गर्न जरुरी छ,’ प्रतिवेदनमा भनिएको छ।

प्रतिवेदनमा  शान्ति प्रक्रियालाई लिएर अनावश्यक चासो राख्ने र गैरकूटनीतिक अभिव्यक्ति दिने कुरा अनुचित भएको उल्लेख गरिएको छ। प्रतिवेदनमा भनिएको छ, ‘विभिन्न समयमा नेपालको शान्ति प्रक्रियालाई लिएर कतिपय पक्षहरुबाट अनावश्यक चासो राख्ने र गैरकूटनीतिक अभिव्यक्ति दिने कुरा अनुचित हुन्छ।’

शान्ति प्रक्रियाको मूल मर्म भनेको सत्य निरुपण र मेलमिलाप भएको बताउँदै कार्यदलले बाँकी कामहरु अगाडि बढाउन विभिन्न सुझाव दिएको छ। यस्ता छन् केही सुझावहरुः

  • सत्य निरुपण तथा मेलमिलाप आयोगलाई आवश्यक साधन र स्रोत उपलब्ध गराउने।
  • आयोगहरुबाट परिपूरण, क्षतिपूर्ति र अन्य आवश्यक सिफारिसका सन्दर्भमा पीडित परिवारसँग परामर्श गर्ने।
  • बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनमा संशोधन गर्ने र यसका लागि विज्ञसहितको आवश्यक संरचना निर्माण गर्ने। र, सहजीकरण गर्न प्रमुख राजनीतिक दलका प्रतिनिधिहरु सम्मिलित राजनीतिक संयन्त्रण निर्माण गर्ने।
  • सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका व्यक्तिहरुलाई सम्मान गर्ने। स्थानीय तहमा सबै पीडितहरुको बीचमा मेलमिलापलाई सुदृढ गर्ने काम गर्न प्रदेश र स्थानीय तहहरुलाई उत्प्रेरित गर्ने।
  • नेपालको मौलिक शान्ति प्रक्रियाका उपलव्धी र अनुभवहरुलाई अभिलिखित गरी जनता र अन्तर्राष्ट्रिय समुदायमा पुर्‍याउने।
  • शान्ति प्रकृयाका बाँकी रहेका सम्पूर्ण काम एक वर्षभित्र सपन्न गर्ने।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट