वीरगन्ज महानगरपालिकाका मेयर सरावगी कोरोनामुक्त, पिताको अवस्था चिन्ताजनक-Sutra News

वीरगन्ज महानगरपालिकाका मेयर सरावगी कोरोनामुक्त, पिताको अवस्था चिन्ताजनक

आइतबार, ७ भाद्र २०७७

आइतबार, ७ भाद्र २०७७

काठमाडौं–वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी कोरोना भाइरसमुक्त भएका छन्। सरावगीले आइतबार बेलुकी सामाजिक सञ्जाल फेसबुकमार्फत् आफू कोरोना भाइरसमुक्त भएको जानकारी दिएका हुन्।



फेसबुक स्टाटसमा उनले लेखेका छन्, ‘आज वीरगन्जस्थित नारायणी अस्पतालमा गरिएको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको जानकारी गराउँदछु।’ गत साउन १४ गते उनलाई कोरोना भाइरस पुष्टि भएपछि करिब १२ दिन अस्पतालको सघन कक्षमा राखेर उपचार गरिएको थियो।

मेयर सरावगीको परिवारमासमेत कोरोना पुष्टि भएको थियो । तर अहिले उनका पिताबाहेक सबै जना कोरोनामुक्त भएको पनि उनले जानकारी गराएका छन्। उनले भने, ‘मेरो परिवारका सबै सदस्य यसअघि नै कोरोनामुक्त भइसकेका छन् तर मेरो पिताजीको अहिले काठमाडौंस्थित ग्राण्डी अस्पतालमा अतिसघन कक्षमा राखेर उपचार भइराखेको छ। उहाँको स्वास्थ्य अवस्थामा खासै सुधार आउन सकेको छैन।’

आफ्नो उपचारमा संलगन चिकित्स र आत्मबल वृद्धिका लागि हौसला दिने सबैलाई धन्यवाद दिंदै मेयर सरावगीले वीरगन्ज यतिबेला कोरोना संक्रमणका कारण अप्ठ्यारो अवस्थामा पुगेको बताएका छन्।

उनले केही दिनभित्र पुनःनियमित कार्यमा फर्किनेसमेत जानकारी गराएका छन्। ‘आदरणीय महानगरवासी दाजुभाइ दिदिबहिनीहरू यहाँहरूको अपार माया र शुभेच्छाले म केही दिनभित्र तपाईंको सेवामा निरन्तर लाग्ने छु’ उनले फेसबुकमा लेखेका छन्।  

यसबीचमा महानगरपालिकाले महानगरवासीको जीवन रक्षाका लागि घोषणा गरिएका सम्पूर्ण अभियानहरूलाई पुनःसुचारू गर्ने बताउँदै मेयर सरावगीले सबैको सहयोगबाट वीरगन्जलाई ग्रिनजोन वनाउन सकिने विश्वास व्यक्त गरेका छन्।

कोरोनाबाट बच्न र अरूलाई वचाउन सरकारले जारी गरेको आचार संहितालाई पूर्ण पालन गर्न आम महानगरवासीलाई अपिल समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट