विदेशमा अलपत्र परेका नेपालीलाई सरकारी खर्चमा उद्धार गर्न कांग्रेसको माग-Sutra News

विदेशमा अलपत्र परेका नेपालीलाई सरकारी खर्चमा उद्धार गर्न कांग्रेसको माग

शनिबार, ६ भाद्र २०७७

शनिबार, ६ भाद्र २०७७

काठमाडौं- प्रमुख प्रतिपक्षी दल कांग्रेसले विदेशमा अलपत्र परेका नेपालीहरूलाई सरकारी खर्चमै स्वदेश ल्याउन पुनः माग गरेको छ।



सरकारले विदेशमा अलपत्र नागरिकले नेपाल फर्कन चाहेमा चार्टर फ्लाइटको टिकट काट्नुपर्ने, होटेल क्वारेन्टाइनमा सात दिनको खर्च ब्यहोर्नुपर्ने, ,पीसीआर परीक्षण आफैँ गराउनुपर्ने र गाउँ पुग्ने यातायात खर्चसमेत आफैँ हाल्नुपर्ने निर्णय गरेको थियो।

शनिबार पार्टी प्रवक्ता एवं सूचना तथा सञ्चार विभाग प्रमुख विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै सरकारको उक्त निर्णयको विरोध गरेको हो।

कांग्रेसले ‘खाडीका श्रमिक वर्ग शत्रु हुन् ?’ भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेको छ। ‘अनुकूल अवस्थामा देशमा रेमिटेन्स पठाएर अर्थतन्त्रलाई भरथेग गरिरहेका अन्नदातालाई प्रतिकूल बेलामा सरकार किन गर्दैछ ‘वर्ग शत्रु’ को ब्यवहार?’ विज्ञप्तिमा भनिएको छ।

कांग्रेसले सरकारी खर्चमै विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन गत असार १ गते सर्वोच्च अदालतको फैसला विपरित सरकारले श्रमिकहरूलाई खर्च बोकाएको बताएको छ।

‘सर्वोच्चको आदेश उल्लंघन गर्दै टिकटसँगै सबै खर्च बोकाउनु मानवीयता कि ‘सर्वहारामाथि अधिनायकवाद’ ? भनि कांग्रेसले प्रश्न गरेको छ।

सर्वोच्चको आदेशको दुई महिनापछि पुनः महँगो चार्टर फ्लाइटको टिकटदेखि अन्य सबै खर्च गरेर श्रमिकको पीडामाथि सरकारले पीडा थप्न लागेको भन्दै कांग्रेसलाई गम्भीर तुल्याएको विज्ञप्तिमा उल्लेख छ।

विदेशमा रहेका नेपालीको उद्धार गर्नु राज्यको दायित्व भएको बताउँदै कांग्रेसले यसअघि पनि मौखिक र लिखितरूपमा सकरारको ध्यानाकर्षण गराउँदै आएको थियो। आज पुनः सार्वजनिकरूपले त्यही माग र आग्रह दोहोर्‍याउँदै प्रश्न गरेको छ।

‘६ महिनादेखि बेरोजगार भएर बसेका खाडीका श्रमिकलाई चार्टर फ्लाइटको महँगो टिकट खरिद गर भन्नू कति न्यायोचित छ? सरकारको यो निर्णय सर्वोच्चको असार १ को निःशुल्क उद्धार गर भन्ने आदेशको उल्लंघन र अदालतको मानहानी हो कि होइन प्रधानमन्त्रीज्यू?’ कांग्रेसको प्रश्न छ।

मन्त्रिपरिषद्को पछिल्लो बैठकले दिनमा केवल ३ वटा उद्धार फ्लाइटको अनुमति दिएको छ। भदौ १६ बाट सुरु गर्ने भनिएको नियमित अन्तर्राष्ट्रिय उडानमा आउन प्रतिबन्धित गरिएका कतिपय देशका नेपाली श्रमिक यो न्यून संख्याको फ्लाइटबाट नेपाल आइपुग्न महिनौं लाग्ने कांग्रेसले बताएको छ।

सरकारको पछिल्लो निर्णयअनुसार विदेशमा अफ्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्न लागेपनि त्यसमा मानवीय भावनाभन्दा ब्यापारको मस्तिष्क धेरै खपत भएको कांग्रेसको दाबी छ।

रोजगारी गुमाएका, बेतलबी विदा पाएका र बेखर्ची बनिसकेका श्रमिकलाई कल्याण कोषको रकममार्फत् हवाइ टिकट ब्यवस्था गरेर निःशुल्क उद्धार गर्न कांग्रेस सरकारसमक्ष पुनः माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट