कतारका अमिर भोलिसम्म नेपालमा बस्ने, यस्तो छ कार्यतालिका-Sutra News

कतारका अमिर भोलिसम्म नेपालमा बस्ने, यस्तो छ कार्यतालिका

मंगलबार, ११ बैशाख २०८१

मंगलबार, ११ बैशाख २०८१

काठमाडौं । मित्रराष्ट्र कतारका राजा शेख तमिम विन हमाद अल थानी दुई दिने राजकीय भ्रमणको सिलसिलामा आज अपरान्ह काठमाडौं आइपुगेका छन् ।



राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति पौडेलले स्वागत गरेका थिए ।

स्वागतका लागि उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे र उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ विमानस्थल पुगेका थिए ।

बंगलादेशको राजकीय भ्रमण सम्पन्न गरी उनी आज अपरान्ह विशेष विमानबाट काठमाडौं आइपुगेका हुन् । यस अवसरमा कतारका राजाको सम्मानमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो ।

कतारका राजाले राष्ट्रपति रामचन्द्र पौडेलसँग अपराह्न ५ः३५ मा द्विपक्षीय वार्ता गर्ने भएका छन् । उनीहरूबीच राष्ट्रपति कार्यालय शीतल निवासमा भेट गर्ने भएका हुन् । उक्त भेट आधा घण्टाको हुनेछ ।

राजाका लागि साँझ ७ बजे होटेल सोल्टीमा राष्ट्रपति पौडेलले राजकीय भोज आयोजना गरेका छन् ।

यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका राजा थानीबीच बुधबार बिहान १०ः३५ मा होटेल सोल्टीमा औपचारिक वार्ता हुनेछ । उनीहरूको भेट ४५ मिनेटका लागि तय भएको छ ।

यसपछि भोलि बिहान ११ः२० मा विभिन्न समझदारी र सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ ।

बिहान १२ बजे प्रधानमन्त्री प्रचण्डले कतारी राजाको सम्मानमा होटेल द्वारिकामा दिवाभोज आयोगना गरेका छन् । दिवाभोजमा सहभागी भएर कतारी राजा बत्तीसपुतलीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने कार्यक्रम छ ।

कतारका राजा दिउँसो २ बजे कतारको राजधानी दोहा प्रस्थान गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट