सुहाङलाई देखाउँदै गगनले भने- इलामले गणतन्त्र चाहेको हो कि राजतन्त्र ?-Sutra News

सुहाङलाई देखाउँदै गगनले भने- इलामले गणतन्त्र चाहेको हो कि राजतन्त्र ?

शनिबार, ८ बैशाख २०८१

शनिबार, ८ बैशाख २०८१

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले इलामका जनतालाई राजतन्त्र चाहिएको हो कि गणतन्त्र ? भन्ने प्रश्न गरेका छन् ।



आगामी वैशाख १५ गते इलाममा हुने उपनिर्वाचनको चुनावीसभालाई सम्बोधन गर्दै उनले इलामले गणतन्त्र चाहेको हो कि राजतन्त्र ? भन्ने कुरा उपनिर्वाचनबाट प्रष्ट हुने बताए । उनले एमालेले सुवास नेम्वाङका छोरा भएकै कारण सुहाङलाई उम्मेदवार बनाएर राजतन्त्रको जस्तो व्यवहार देखाएको प्रतिक्रिया दिए ।

‘सुवास नेम्वाङलाई इलामले आफ्नै ढंगले सम्झेला, म अहिले पनि उहाँलाई सम्मान गर्छु, उहाँको महत्वपूर्ण विचार भनेको नेपालमा गणतन्त्र आवश्यक छ भन्ने नै हो, उहाँलाई आजको दिनमा पनि मैले यसरी मान्छु,’ उनले भने ‘तर, कोही कसैको परिवारमा जन्मिएको आधारमा, कूल र वंशको आधारमा सिंगो देश गणतन्त्रमा गएको बेलामा के इलामले राजतन्त्र खोजेको हो ? त्यसको उत्तर इलामले दिनु पर्छ ।’

उनले इलामेली जनताले गणतन्त्रको पक्षमा मत हाल्ने कि राजतन्त्रको पक्षमा मतदान गर्ने भन्ने सोच्नु पर्ने बेला आएको बताए । अर्को प्रसंगमा उनले एमाले-माओवादीको गठबन्धन माघ महिनासम्म हुने दाबी गरेका छन् ।

‘इलामको यो चुनाव गठबन्धनको राजनीतिक भविष्यसँग जोडिएको छ, चुनावमा गठबन्धनको राजनीति गलत हो भन्ने इलामले स्थापित गर्नु पर्छ, हामीले यसअघि गठबन्धन गरेर चुनाव लडेको हुनाले आगामी निर्वाचनसँग सँगै रहन चाहन्थ्यौँ,’ उनले भने, ‘तर, हाम्रो चाहनाले मात्रै भएन, आज एमाले र माओवादी जोडिएर फेरि आउनु भएको छ, म यहाँ उभिएर भन्दैछु, यो अहिलेको गठबन्धनले २०८१ को माघ कटाएछ भने म तपाईंहरूकै अघि उभिएर जवाफ दिन आउने छु ।’

महामन्त्री थापाले चुनावअघि गठबन्धन मतदातालाई धोका र बेइमानी भएको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट