वन अधिकृतसहित २४ जनाविरुद्ध मुद्दा दायर-Sutra News

वन अधिकृतसहित २४ जनाविरुद्ध मुद्दा दायर

आइतबार, ४ चैत्र २०८०

आइतबार, ४ चैत्र २०८०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत हेमन्तप्रसाद साहसहित २४ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।



वडाअध्यक्ष, उपभोक्ता समितिका पदाधिकारी लगायतलाई प्रतिवादी बनाइ आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता दायर गरिएको हो । आरोपितले ११ लाख ९६ हजार बराबरको सरकारी सम्पत्ति हानी नोक्सानी गरेको आरोप पत्रमा उल्लेख छ ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिम कसूर गरेकाले हानी नोक्सानी भएको बिगो असुल उपर माग दाबी लिई मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

आयोगले रम्तेल डाँडा सामूदायिक वन उपभोक्ता समितिका तत्कालीन उपाध्यक्ष उमादेवी बुढाथोकी, कोषाध्यक्ष प्रेमबहादुर थापा, सचिव धनकुमारी मगर, सदस्य उर्मिला थापा मगर र पूर्णबहादुर सुस्लिङलाई प्रतिवादी बनाएको छ ।

त्यसैगरी महोत्तरीको बर्दिबास नगरपालिका १ का जग्गाधनीद्वय लिलामणि आचार्य र कृष्णप्रसाद गौतम, रम्तेल डाँडा सामूदायिक वनका उपभोक्ताद्वय एमबहादुर थापा मगर र नन्दमाया खनाल तथा रुख कटानमा संलग्न सिन्धुलीको सुनकोशी गाउँपालिका ४ का सन्दिप नेपालीलाई समेत प्रतिवादी बनाइएको छ ।

यस्तै, सव डिभिजन वन कार्यालय महोत्तरीका तत्कालीन सहायक वन अधिकृत लक्ष्मणप्रसाद यादव, फरेष्टर सन्तोष कुमार साह, वन रक्षकहरू राजकिशोर झा, अजयकुमार यादव, राकेशकुमार यादव, नारायण ढुंगेल र दिलीप महतोले पनि भ्रष्टाचार गरेको आरोप पत्रमा उल्लेख छ ।

नापी कार्यालय महोत्तरीका तत्कालीन अमिन रामदरश राउत र मालपोत कार्यालय महोत्तरीका तत्कालीन नायब सुब्बा ओमप्रकाश खड्कासमेत आरोपित छन् ।

बर्दिबास नगरपालिका १ का तत्कालीन वडाध्यक्ष चुडामणि पोखरेल, वडा सदस्य शान्तादेवी श्रेष्ठ र रम्तेलडाँडा सामूदायिक वन उपभोक्ता समितिका तत्कालीन अध्यक्ष शेरबहादुर राउतविरुद्धसमेत अख्तियारले मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट