बैरेनी एकीकृत बस्ती आयोजनामा जग्गा धनीलाई पुर्जा वितरण सुरु-Sutra News

बैरेनी एकीकृत बस्ती आयोजनामा जग्गा धनीलाई पुर्जा वितरण सुरु

मंगलबार, २९ फाल्गुन २०८०

मंगलबार, २९ फाल्गुन २०८०

काठमाडौं । व्यास नगरपालिकाद्वारा सञ्चालित ‘बैरेनी जग्गा एकीकरण’ आयोजनाअन्तर्गत जग्गा धनीलाई जग्गा र अस्थायी जग्गा धनी पुर्जा वितरण गर्ने तयारी गरिएको छ ।



व्यास १० स्थित बैरेनीमा कूल एक हजार ५३७ रोपनीमध्ये पहिलो चरणमा २६१ रोपनी क्षेत्रफलमा एकीकृत बस्ती विस्तारका काम भइरहेको हो । अबको दुई वर्षभित्र जग्गा धनीलाई स्थायी जग्गा धनी पूर्जा वितरण गर्ने लक्ष्यका साथ निर्माण अघि बढाइएको आयोजना प्रमुख इञ्जिनियर रवीन्द्र मुलले जानकारी दिए ।

उनका अनुसार पहिलो चरणमा विकासित निजी घडेरी ६९ दशमलव १७ प्रतिशत, बाटो र ढल निर्माणमा १८ दशमलव ९४ प्रतिशत, खुल्ला क्षेत्र सार्वजनिक पाँच दशमलव ८८ प्रतिशत, बिक्री योग्य जग्गा चार दशमलव ७९ प्रतिशत र खोल्सी तथा रिटेनिङ पर्खालमा एक दशमलव १२ प्रतिशत आयोजनाको भू–उपयोगका लागि छुट्याइएको छ ।

त्यसैगरी, दोस्रो चरणमा पक्की नाला कभर सडकसहित कालोपत्र, ढल व्यवस्थापन, आयोजना क्षेत्रमा १०८ वटा विद्युत् पोल निर्माण गरी प्रसारण लाइनका लागि विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रसँग समन्वय गरिने छ ।

आयोजनाअन्तर्गत सडकका दायाँबायाँ सडक सञ्जालसँगै खानेपानीका लागि पाइप विच्छ्याइनुका साथै उपभोक्ता समिति भवन निर्माण गर्ने योजना रहेको आयोजना प्रमुख मुलले बताउँछन् ।

बिक्री योग्यमा रहेको चार दशमलव ७९ प्रतिशत अर्थात करिब तेह्र रोपनी जग्गा पूर्वाधार निर्माण लागि छट्ट्याइएको र सो जग्गा बिक्री गरेर नगर विकास कोषसँग लिएको ऋण तिर्ने योजना छ ।

विं.सं. २०७७ मा नगर विकास कोषको प्राविधिक सहयोगमा बैरेनी जग्गा एकीकरण विकास आयोजनाको सुरुवात गरिएको थियो । ०७८ फागुन २ गते राजपत्रमा आयोजना स्वीकृतिको सूचना प्रकाशित भएपछि निर्माण कार्यले गति लिएको हो ।

०८५ भित्र आयोजना सम्पन्न गर्ने सम्झौता रहे पनि ०८२ भित्र सम्पन्न गर्ने तरिकाले काम भइरहेको उनको भनाइ छ । बस्तीले साँघुरिँदै गएको दमौलीमा एकीकृत बस्ती बसाउन दीर्घ कालीन सोचका साथ नगरपालिका अघि बढेको व्यासका नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए ।

“दमौली बजार र भादगाउँ क्षेत्र बस्ती विस्तारले साँघुरिएको छ,” उनले भने, “भावी पुस्ताका लागि पनि बस्ती बसाउन नगरपालिकाले नगर विकास कोषसँग हातेमालो गर्दै अघि बढेको हो ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट