नेपाली फिल्ममाथि क्यूएफएक्सको ‘सौतेनी व्यवहार’, आठ प्रतिशतमै सीमित बने तीन फिल्म-Sutra News

नेपाली फिल्ममाथि क्यूएफएक्सको ‘सौतेनी व्यवहार’, आठ प्रतिशतमै सीमित बने तीन फिल्म

बिहिबार, २४ फाल्गुन २०८०

बिहिबार, २४ फाल्गुन २०८०

काठमाडौं । नेपाली फिल्मको शो बाँडफाँटमा देशकै ठूलो चेन मानिने क्यूएफएक्सले चरम विभेद गरेको छ । विशेषगरी शुक्रबारबाट प्रदर्शनमा आउन लागेका तीन नयाँ नेपाली फिल्मलाई लिएर हदैसम्मको सौतेनी व्यवहार देखाएको हो ।



बलिउड फिल्म र हलिउड फिल्मले मल्टिप्लेक्समा उच्च शो पाउँदा तीन नेपाली फिल्मले पनि चार–पाँच शोमै सिमित हुनु परेको छ । एप्पल इन्टरटेन्मेन्टले नेपालले भित्र्याएको हलिउड फिल्म ‘कुङ फू पान्डा’ र बलिउड फिल्म ‘सैतान’लाई क्यूएफएक्स चेनले उच्च शो दिएको छ ।

हिन्दी ‘सैतान’लाई क्यूएफएक्सले उपत्यकामा मात्रै २० शो दिइएको छ भने सँगै अंग्रेजी फिल्म ‘कुङ फू पान्डा’लाई २० शो दिइएको छ ।

यता, अंग्रेजी फिल्म र हिन्दी फिल्मलाई भएभरको शो थुपारेर हल सञ्चालकसमेत रहेको क्यूएफएक्सले नेपाली फिल्मलाई झारा टार्ने शो मात्र दिएको । क्यूएफएक्सले उपत्यकाका हलमा ‘उपहार’लाई चार शो दिएको छ । यस्तै, ‘काँडेतार’लाई पनि चार शो नै दिएको छ । फिल्म ‘रङ्गेली’लाई पाँच शो दिइएको छ ।

बलिउड फिल्म ‘सैतान’ र हलिउड फिल्म ‘कुङ फू पान्डा’लाई उपत्यकामा मात्रै १३ पर्दा भएको क्यूएफएक्सले दिएको शोको अनुपात हेर्दा ३८ प्रतिशत रहेको छ भने तीन नेपाली फिल्मलाई आठ देखि नौं प्रतिशतसम्म शो दिएको देख्न सकिन्छ ।

यसरी हेर्दा, नेपाली फिल्मले शनिबारसम्म त राम्रो व्यापार गरेपनि शो बढ्ने अवस्था छैन । आइतबारबाट भने फिल्मको वर्ड अफ माउथले शोको घटबढमा काम गर्नेछ ।

यस्तै, पहिलो सातामा दर्शकको राम्रो साथ पाइरहेको ‘अगस्त्य’को दोस्रो साताका लागि अहिलेसम्म शो नै खुलाइएको छैन ।

यसरी, क्यूएफएक्सबाट सौतेनी व्यवहार भोग्नुपरेका यी तीन फिल्म मात्रै पहिलो नेपाली फिल्म भने होइन । विदेशी फिल्मसँग भिड्ने आँट गरेका प्रायः नेपाली फिल्मलाई क्यूएफएक्सले आफै वितरक र प्रदर्शक भएर चरम विभेद गर्ने गरेका छ ।

यता, क्यूएफएक्सले नेपाली फिल्मलाई विभेद गरेको देखिएसँगै अन्य मल्टिप्लेक्श हलहरु केही हदसम्म दया गरेको पाइन्छ । तर, अरु हलहरुले क्यूएफएक्सको फिल्म हो भन्दै तीन नेपाली फिल्मलाई केही हदसम्म राम्रो शो उपलब्ध गराएका छन् । नत्र त अन्य हलहरु पनि नेपाली फिल्मलाई पछि पार्न अग्रसर नै हुने गरेको पाइन्छ ।

उसो त, प्रदर्शकहरु आफूहरूलाई नेपाली फिल्म चलाउँदा नै फाइदा हुने रटान बेलाबखत लगाइरहन्छन् । तर, व्यवहारमा भने ठिक उल्टो छ । उनीहरुको काम गर्ने तरिका र बोलीमा तारतम्य कही कतै मिलेको पाइँदैन ।

यसविषयमा न राज्यको चलचित्र विकास बोर्डले कुनै कदम चाल्न सकेको छ न सिंगो फिल्म क्षेत्रले आवाज उठाउन सकेको छ । जसलाई पर्छ उही मात्र बोल्ने संस्कार फिल्म क्षेत्रमा छ ।

कानुनले के भन्छ ?

चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली, २०५७ का अनुसार ‘प्रदर्शकले एकै दिनमा स्वदेशी तथा विदेशी फिल्म प्रदर्शन गर्न नपाउने भन्ने उल्लेख छ ।

साथै, विदेशी भूमिबाट भू–उपग्रह वा यस्तै अन्य प्रविधिको माध्यमद्वारा वितरण गरिएका डिजिटल प्रविधिका फिल्महरू प्रदर्शन गर्न नपाइने पनि ऐनमा उल्लेख छ । यस्तै, ऐनमा ‘प्रदर्शकले स्वदेशी तथा विदेशी फिल्म प्रदर्शन गर्दा चलचित्र जाँच समितिबाट जाँच पास भएको मितिलाई आधार मानि सबभन्दा पहिले जाँचपास भएको तत् तत् फिल्मलाई प्रदर्शनको मौका दिनुपर्ने भन्ने पनि ऐनमा उल्लेख छ ।

तर, फिल्म प्रदर्शकहरुले एकै दिनमा नेपाली फिल्म र विदेशी फिल्म रिलिज गर्न नपाइने नियमले आफूहरूलाई समस्या पर्ने भन्दै गुनासो गरेपछि विकास बोर्डसँग सहमति भएको थियो । सोही सहमतिअनुसार, एकै दिनमा नेपाली र विदेशी फिल्म रिलिज हुँदै आएका छन् ।
तर, यदि नेपाली निर्माताले कानुनी उपचार खोज्ने हो भने प्रदर्शकहरु समस्यामा पर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट