चकलेटको लत कसरी छुटाउने ? बालबच्चालाई कति फाइदा कति बेफाइदा ?-Sutra News

चकलेटको लत कसरी छुटाउने ? बालबच्चालाई कति फाइदा कति बेफाइदा ?

सोमबार, ११ असार २०८०

सोमबार, ११ असार २०८०

टिनएजका केटाकेटीले अमिलो–पीरो मन पराएजस्तै बालबालिकाले गुलियो मन पराउँछन् । यो उनीहरूको स्वभाव हो ।



अझ बालबालिकाहरुलाई तिमीलाई मनपर्ने खानेकुराको नाम के हो ? भन्ने प्रश्न सोध्ने हो भने उनीहरुले हत्तपत्त जवाफ दिइहाल्छन् – चकलेट ।

चकलेटमा हुने गुलियोपन र त्यसको आकर्षक स्वरूपमा उनीहरु लोभिने गर्छन् । त्यसैले त अभिभावक पनि आफ्ना बालबच्चा कुनै कुरामा रिसाए वा रुँदा चकलेटको प्रलोभन दिएर सम्झाउँछन् । यस्तोमा बच्चाहरु पनि चकलेट दिंदा मख्ख पर्ने र नपाउँदा डाँको छोडेर रुने गर्छन् ।

गुलियोको मात्रा अत्यधिक हुने चकलेट अहिले गाउँदेखि सहरसम्म गरिबदेखि धनीसम्म, सबैको पहुँचमा छ । बजारमा सबैतिर पाइने सस्तादेखि महँगासम्म धेरै प्रकारका चकलेट अहिले सजिला कोसेली र उपहार पनि भएका छन् ।

कसैलाई भेट्न जानुपर्‍यो, चकलेट । जन्मदिन आयो, चकलेट । बच्चाले परीक्षामा राम्रो नतिजा ल्यायो, चकलेट । यतिसम्म कि सानो बच्चा धेरै रोयो भने उसलाई फकाउन पनि ‘ल है बाबु म चकलेट किनिदिन्छु’ भनेर शान्त पार्न सजिलो भएको छ ।

बजारमा लहरै झुन्ड्याएर राखिएका आकर्षक प्याकेटमा सजिएका खानेकुराले आँखालाई जति लोभ्याउँछन्, त्यसभन्दा बढी जिब्रालाई लोभ्याउँछन् । चाउचाउ, कुरमुरे, लेज, चिप्स, चकलेट, दालमोठ, तितौरा आदि आदि अनेक खानेकुरा हुन्छन्, जुन देख्नासाथ बच्चाहरूको त के वयस्कहरूको समेत मुख रसाउँछ । यस्ता स्वादिला तर स्वास्थ्यलाई ध्वस्त पार्ने जंकफुडकै कोटीमा चकलेट पनि पर्छन् ।

हुन त चकलेट भनेको चोकोबाट बनेको एक खास किसिमको खाद्यवस्तु हो तर हाम्रो बजारमा स–साना पिपलगेडीदेखि थरीथरीका टफी, क्यान्डी, ललीपप, चुइङ्गम, बबलगम, चोकोफन, डेरी मिल्क आदि सबै किसिमका गुलिया प्याक गरेका खाद्यवस्तुलाई चकलेट भनेरै बुझिन्छ । थरीथरीका स्वादमा पाइने यस्ता मिठाई केटाकेटीदेखि युवायुवतीसम्म सबैका लागि प्रिय भएका छन् ।

बजारमा पाइने चकलेट मोटामोटी तीन किसिमका देखिन्छन्, चोकोबाट बनेका, चिनीबाट बनेका र रबरबाट बनेका ।

चोकोफन, क्याटवरी, डेरीमिल्कजस्ता चोकोबाट बनेका चकलेटमा चोकोको मात्रा बढी हुन्छ भने चिनी, मिल्क पाउडर, फ्लेबर र अन्य मिश्रणसमेत गरी यसको मात्रा तयार गरिन्छ । प्रायः काला र कफी रङका यस्ता चकलेट अरू चकलेटका तुलनामा स्वास्थ्यलाई कम हानि गर्ने हुन्छन् ।

टफी, क्यान्डी, ललिपपजस्ता धेरैजसो चकलेट चिनीबाट बनेका हुन्छन् । यिनमा ९० प्रतिशतसम्म चिनीको मात्रा हुन्छ भने फ्लेबर, रङ र अन्य मिश्रण १० प्रतिशत जति हुन्छ ।

चुइँगम, बबलगमजस्ता मिठाई रबरबाट बनेका हुन्छन् । चिनी, फ्लेबर, रङ र अन्य मिश्रणसमेत गरी यस्ता मिठाई तयार गरिन्छन् ।

चकलेट र मिठाईहरूमा चिनीको मात्रा अत्यधिक प्रयोग भएको हुन्छ । सामान्यतया हामीले नियमित खाने खानाबाटै शरीरलाई आवश्यक हुने चिनीको मात्रा प्राप्त हुन्छ ।

चकलेटजस्ता गुलिया चिजहरू खानु भनेको हामीले शरीरमा अतिरिक्त चिनीको मात्रा प्रवेश गराउनु हो । यसले हाम्रो शरीरलाई चाहिनेभन्दा बढी मात्रामा कार्बोहाइड्रेट उत्पादन गर्छ । यसको परिणाम शरीरमा बोसो जम्मा भई विभिन्न खालका समस्या पैदा गर्दछ ।

विश्वमा आज गुलियो खाद्य स्वास्थ्यसमस्याको प्रमुख कारण बनेको छ ।

हामीले खाने भात, रोटी, आलु, चकलेट, जाम, मह, केक, हर्लिक्स, भिभा, वर्नभिटा, आइसक्रिम, मिठाई, हल्का पेय, जुस आदिबाट शरीरमा चिनीको प्रवेश हुन्छ । केरा, आँप, अङ्गुर, भुइँकटहरजस्ता फलबाट पनि शरीरले चिनी प्राप्त गर्दछ ।

यी सबै खानेकुराबाट पाइने गुलियोको मात्राले शरीरले खर्च गर्न सक्नेभन्दा बढी ऊर्जा प्राप्त गर्दछ । जुन मधुमेह, उच्च रक्तचाप, हृदयाघातजस्ता रोगको प्रमुख कारण बन्दछ ।

विश्वस्वास्थ्य संगठनले २०७१ मा जारी गरेको चिनी प्रयोगसम्बन्धी निर्देशिकाले बालक वा वयस्क व्यक्तिले दिनमा २५ ग्रामभन्दा कम चिनी खान सुझाएको छ । यसको विपरीत नेपालमा चिनीको प्रयोग भने अत्यधिक भएको देखिन्छ ।

मनोविज्ञहरूका अनुसार कलिलो उमेरमा हुने विशेष रुचिमध्ये गुलियो खानेकुरा पनि पर्दछ । यस्तो रुचि शरीरभित्रको हर्मोन वा ग्रन्थी या मनोरसायनको कारणले हुन्छ ।

चकलेटको उत्पादन र पहुँच नभएको बेलामा पनि बालबालिकालाई चिनी, मह, चाकु, सखरजस्ता खानेकुरा दिने गरिन्थ्यो । बालबालिकाको शारीरिक विकास र वृद्धिका लागि कार्बोहाइड्रेट र प्रोटिन प्रशस्त मात्रामा चाहिन्छ । गुलियो खानेकुरामा कार्बोहाइड्रेट बढी पाइन्छ ।

बालविशेषज्ञहरुका अनुसार चकलेटका फाइदाभन्दा बढी बेफाइदा छन् । चकलेटमा चिनीको मात्रा मात्र हुन्छ । चकलेटले क्यालोरी थप्ने मात्र हो, यसले तागत केही दिँदैन । यसले तौल मात्र बढाउँछ । यस्ता गुलीया खानेकुरा धेरै खाँदा अरु प्रोटिनयुक्त खाना रुच्दैन । चकलेट बढी दियो भने दाँतको खराबी पनि हुन्छ । चक्लेट खाँदाका फाइदाभन्दा बेफाइदा धेरै छन् । अब चर्चा गरौं चकलेट खाँदाका बेफाइदाहरुका बारेमा ।

१) पौष्टिक तत्वका अभाव

अत्यधिक मात्रामा चकलेट खाने बानी स्वास्थ्यको हिसाबले फाइदाजनक नहुने बालरोग विशेषज्ञहरुले बताएका छन्। विशेषज्ञहरुका अनुसार चकलेटले पेटलाई टन्न पारिदिन्छ । अन्य खानेकुरा नखाँदा शरीर राम्रोसँग वृद्धि विकास हुन पाउँदैन ।

‘बच्चालाई जति चकलेट दिइन्छ, त्यति उनीहरुमा चुरोटको लत लागेजस्तै चकलेटको लत लाग्छ । यसले उनीहरुलाई चकलेटबाहेक अन्य खानेकुरा खानै मन नलाग्ने गराउँछ,’ उनले भने, ‘फलस्वरूप पौष्टिक तत्वको कमी हुन्छ र उनीहरु कमजोर हुँदै जान्छन् ।’

२) मोटोपन

चकलेटमा पाइने चिनीले शरीरमा चिनीको स्तर बढाइदिन्छ । अझ मोटोपन भएका बालबालिकामा मधुमेह गराउन पनि चकलेट कारकको रुपमा देखा पर्न सक्ने विशेषज्ञहरु बताउँछन् । अत्यधिक चकलेटको सेवनले बालबालिकामा मोटोपनको पनि समस्या ल्याउँछ ।

३) बेचैन गराउँछ

विशेषज्ञहरुका अनुसार चकलेटमा चिनी, थियोब्रोमाइन र फेनिलेथिलामाइन जस्ता अन्य धेरै उत्तेजक तत्व हुन्छन्, जसले बच्चाको स्नायु प्रणालीलाई हानि पुर्‍याउँछ । वयस्कले जति क्याफिनको भार बालबालिकाले सहन सक्दैनन् ।
यसले बच्चालाई धेरै बेचैन महसुस गराउन सक्ने, पेट दुखाउने समस्या गराउन सक्ने विशेषज्ञहको भनाई छ । त्यसबाहेक यसबारे भएका केही अन्तर्राष्ट्रिय अध्ययन अनुसार चकलेटमा पाइने क्याफिनले मुटुको धड्कन पनि बढाउने हुँदा निद्रामा समस्या समेत देखाउने र चकलेटमा एन्डामाइड एसिडले मस्तिष्कको कार्यलाई हानि पुर्‍याउने देखिएको उनको भनाइ छ ।

४) दाँतमा असर

चकलेट धेरै खानु दाँतको लागि अति हानिकारक हुने दन्त चिकित्सहरुले बताउदै आएका छन् ।

‘चकलेटमा हुने चिनी दाँतमा अड्किने र टाँसिने गर्छ । बच्चाहरुमा कुल्ला गर्ने ज्ञान हुँदैन, जसले अड्किएको चकलेटमा जीवाणु फैलिएर एसिड उत्पादन गर्छ,’ उनी भन्छिन्, ‘त्यसले खानेकुरा बिस्तारै दाँतलाई नरम बनाउँदै लैजान्छ । जसकारण दाँतलाई बलियो बनाउने तत्त्व खनिज बिस्तारै खिइँदै जान्छ ।’

दाँत कीरा लाग्ने त छँदैछ, इनामेल पनि उमेर भन्दा छिटो जान सक्ने हुँदा सकेसम्म बच्चालाई चकलेट नदिन र दिए पनि सीमित मात्रामा दिन उनी सुझाउँछिन् । तर चकलेट खाएपछि अनिवार्य मुख कुल्ला गर्न सिकाउनुपर्छ ।

चकलेटको बानी कसरी छुटाउने ?

धेरैजसो बालबालिकामा चकलेटको लत नै बसिसकेको हुन्छ । उनीहरु चकलेट नपाए शान्त नै नबस्नेसम्म हुन्छन् । यस्तोमा उनीहरुलाई बिस्तारै यसको लतबाट छुट्कारा दिलाउन फलफूललाई नै आकर्षक ढंगले विभिन्न आकारमा डिजाइन गरेर दिन सकिन्छ । यसले उनीहरुमा चकलेटको तल बिस्तारै हट्ने र फाइबरजस्ता तत्व बढी खाने हुँदा शरीरलाई पौष्टिक तत्व पुग्ने गर्छ ।

जुनसुकै कुराको पनि मात्रा बढी भयो भने शरीरलाई बेफाइदा गर्ने हो । ‘धेरै खाए गुड पनि तितो हुन्छ’ भन्ने उखान त नेपालीमा छँदै छ । चकलेटको सन्दर्भमा पनि यो कुरा लागू हुन्छ । चकलेट जिभ्रालाई मिठो अवश्य लाग्छ तर यसले शरीरलाई फाइदाभन्दा बेफाइदा नै बढी गर्छ । कुनै पनि खाद्यवस्तुले तत्काल असर नगर्न सक्छ तर त्यसले दीर्घकालमा कस्तो असर गर्छ भन्ने कुरा ख्याल गर्नुपर्ने कुरा हो । जिभ्राले माग्यो र मनले चाह्यो भन्दैमा त्यसका पछि लाग्नुभन्दा हामीले खाने वस्तुले हाम्रो शरीर र मस्तिष्कलाई कति फाइदा गर्छ र कति बेफाइदा गर्छ भन्ने विचार गरेर खानु बुद्धिमानी हुन्छ ।

चकलेटका सट्टा ताजा फलफूल, ताजा जुस, बदाम, ओखर, काजु, किसमिस, पेस्ताजस्ता खानेकुरा हाम्रो शरीरका लागि बढी उपयोगी हुन्छन् । बच्चालाई माया गरेर हामीले कस्तो उपहार दिँदै छौं? अमृत कि विष ? यो हामीले विचार पुर्‍याउनुपर्ने कुरा हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट