माधव नेपालको एक ‘चुट्की’ले हट्न सक्छन् प्रदेश १ र वागमतीका मुख्यमन्त्री, यस्तो छ अंकगणित-Sutra News

माधव नेपालको एक ‘चुट्की’ले हट्न सक्छन् प्रदेश १ र वागमतीका मुख्यमन्त्री, यस्तो छ अंकगणित

बिहिबार, २८ साउन २०७८

बिहिबार, २८ साउन २०७८

एमाले भित्रको विवाद लगभग नमिल्ने दिशातर्फ जाँदैछ । अध्यक्ष केपी शर्मा ओली एक्लै अघि बढेको निष्कर्षका साथ वरिष्ठ नेता माधवकुमार नेपालले देशैभरि समानान्तर कमिटी गठन गर्ने र एमालेकै नाममा राजनीतिक गतिविधि अघि बढाउने संकेत गरेका छन् ।



गत साल फागुन २३ गते सर्वोच्च अदालतले नेकपाको एकतालाई चुनौती दिँदै एमाले र माओवादी केन्द्र ब्युँताइदिएको थियो । त्यसयता एकतापूर्वको अवस्थाबाट एमालेलाई अघि बढाउन अध्यक्ष ओली तयार भएनन् । आफूनिकट नेताहरूको बैठक राखेर उनले एमालेमा एकलौटी निर्णय गरिरहे ।

नेता नेपाल समूहका नेताहरू पनि आफ्नो तयारीमा लागे । पार्टी विभाजनको शुरुवात फागुन २८ गतेबाट भएको थियो । फागुन २८ गते ओलीले आफूनिकट केन्द्रीय नेताहरूलाई गोप्य रूपमा बालुवाटार डाकेर दीर्घकालीन निर्णयहरू गराएका थिए । नेपाल र उनीपक्षीय नेताहरूको जिम्मेवारी खोसियो । त्यसपछि नेता नेपालले पनि देशव्यापी रूपमा समानान्तर गतिविधि अघि बढाएका छन् ।

पुस ५ गते तत्कालीन प्रधानमन्त्रीसमेत रहेका ओलीले प्रतिनिधि सभाको विघटन गरिदिएपछि वागमती र प्रदेश १ दुवैमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको थियो । एमाले विवादले ठोस आकार ग्रहण गरेको भएता पनि अहिले दुवै प्रदेशका अविश्वासको प्रस्ताव फिर्ता भएका छन् ।

बरू गण्डकी र लुम्बिनीमा विपक्षी गठबन्धनले बहुमत पुर्याएर ओलीनिकट रहेका पृथ्वीसुब्बा गुरुङ र शंकर पोखरेललाई सत्ताच्यूत गरिदिएका छन् । पार्टीमा अझै एकलौटी ढंगले अघि बढ्ने हो भने नेताहरूले ओलीलाई प्रदेश १ र वागमतीमा पनि सत्तापलटको तयारी गर्ने चेतावनी दिएका छन् ।

प्रदेश १ र वागमती दुवै प्रदेशमा ओलीनिकट मुख्यमन्त्री छन् । प्रदेश १ मा शेरधन राई छन् भने वागमतीमा डोरमणि पौडेल । यसअघि नीति तथा कार्यक्रम र बजेट ल्याउने बेलामा एमालेका दुवै प्रदेशका सांसदहरूको एकमत भएपनि केन्द्रमा विकसित भएको परिस्थितिअनुसार त्यहाँ पनि गुटबन्धी हुन शुरू गरेको छ ।

एमाले कुनै पनि हालतमा एक हुन नसक्ने अवस्थामा माधव नेपालको एक चुट्कीमा दुवै प्रदेशका सरकार ढल्नेछन् । यसअघि ७ प्रदेशमध्ये ४ प्रदेशमा ओलीनिकट मुख्यमन्त्री रहेका थिए । २ प्रदेशमा माओवादी केन्द्रका नेता मुख्यमन्त्री छन् भने प्रदेश २ मा जसपा नेतृत्वको सरकार छ ।

वागमती प्रदेशमा १ सय ९ सदस्यीय प्रदेश सभा छ । एमालेबाट मात्र ५५ सांसद रहेको वागमती प्रदेशमा माधव नेपाल पक्षका २२ सांसद छन् । नेपाल पक्षले विपक्षी गठबन्धनलाई साथ दिनेबित्तिकै वागमतीबाट मुख्यमन्त्रीका रूपमा रहेका पौडेल तत्काल हट्नुपर्नेछ ।

‘हामिले केन्द्रको निर्देशन पर्खिरहेका छौं,’ नेपाल पक्षीय एक सांसदले सूत्रन्यूजसँग भने, ‘हाम्रो नेता माधवकुमार नेपालले हामीलाई निर्देशन दिनेबित्तिकै हामी एक्सनमा जान्छौं । हामी एक्सनमा गएको केही दिनमा नै डोरमणिले कुर्ची गुमाउनुपर्नेछ ।’

त्यस्तै प्रदेश १ मा जम्मा ९३ सांसद रहेका छन् भने तीमध्ये ५१ सांसद एमालेका मात्र छन् । एमालेको एकल सरकारको नेतृत्व गरेका मुख्यमन्त्री राईको कुर्ची हल्लाउन तम्तयार भएर बसेका छन् नेपाल पक्षका २१ सांसदहरू । उनीहरूले विपक्षी गठबन्धनलाई साथ दिनेबित्तिकै प्रदेश १ को मुख्यमन्त्रीबाट राई तत्काल बिदा हुनुपर्नेछ । प्रदेश १ का सांसदहरूले पनि केन्द्रको निर्देशन कुरिरहेको बताउने गरेका छन् ।

पहिला नेकापा विभाजन र त्यसपछि एमालेको विभाजनपछि ओली बिस्तारै शक्तिहीन हुँदै गइरहेका छन् । गत साल वैशाख ८ गते उनले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि नेकपाको विवाद उत्कर्षमा पुगेको थियो ।

नेकपाबाट अलग हुने र मधेशवादी दललाई आफूसँग मिलाएर सरकार निरन्तर चलाउने मनासयका साथ ल्याइएको दल विभाजनसम्बन्धी अध्यादेशले ओलीलाई नै ब्याकफायर गर्यो । तत्कालीन राजपा र समाजवादी पार्टी एक भए भने ओली आफ्नै पार्टीभित्र थप एक्लिदै गए ।

त्यसपछि नेकपाको विवाद उत्कर्षमा पुग्न थाल्यो । प्रचण्ड-नेपाल समूहले ओलीलाई अल्पमतमा पारेर सत्ता हत्याउने खेल खेल्न थालेको थाहा पाएका ओलीले पुस ५ गते प्रतिनिधि सभा नै विघटन गरिदिएका थिए ।

उनले गरेको विघटनलाई सर्वोच्च अदालतले बदर गरिदियो । पुनःस्थापित संसदमा पनि विभिन्न तिकडम गरेर ओलीले सत्तामोह देखाए । सत्ता जसरी पनि गुम्ने देखेका ओलीले दोस्रोपटक जेठ ७ गते मध्यराति प्रतिनिधि सभाको दोस्रो विघटन गरेका थिए ।

प्रतिनिधि सभामाथि ओलीबाट पटक-पटक आक्रमण भएपछि सर्वोच्च अदालतले किटानी आदेश दिएर ओलीलाई सत्ताच्यूत गरिदियो । केन्द्रमा आफू सत्ताच्यूत भए भने गण्डकी र लुम्बिनीका मुख्यमन्त्री ओलीकै दम्भ र अहंकारको शिकार बने । अब जनताको नजर प्रदेश १ र वागमतीमा टिकेको छ । नेता नेपालले एक चुट्की निर्देशन दिए भने मात्र दुवै प्रदेशबाट ओलीले हात धुनुपर्नेछ ।  

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट