निषेधाज्ञापछि सुनसान काठमाडाैं उपत्यका : के गर्न पाइन्छ, के पाइँदैन?-Sutra News

निषेधाज्ञापछि सुनसान काठमाडाैं उपत्यका : के गर्न पाइन्छ, के पाइँदैन?

बिहिबार, १६ बैशाख २०७८

बिहिबार, १६ बैशाख २०७८

काठमाडाैं – निषेधाज्ञाका कारण काठमाडौं उपत्यकाका सडकहरु बिहानैदेखि सुनसान हुन थालेका छन्।



अत्यावश्यकबाहेक संचालन अनुमति पाएका गाडीहरु फाट्टफुट्ट चलेका छन्। संक्रमण र भोकको अभाव हुने डरमा काठमाडौंलाई कर्मथलो बनाएर बस्नेहरू केही दिनअघि धमाधम आफ्नै जिल्ला फर्किए।

काठमाडौं, ललितपुर र भक्तपुरमा आज बिहानैदेखि निषेधाज्ञा सुरु भएको हो।

उपत्यकाका मुख्य–मुख्य चोकहरुमा ट्राफिक प्रहरी खटिएका छन्। उपत्यकामा कोरोना संक्रमण दर एक्कासि बढेपछि उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो।

यो निषेधाज्ञाको समय वैशाख २२ गते मध्यरातिसम्म तोकिएको छ। त्यसपछि पनि थप एक साता निषेधाज्ञा जारी गर्न सक्ने अधिकार मन्त्रिपरिषद बैठकले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई दिएको छ।

सरकारले निधेषाज्ञामा के के गर्न पाइने, के के गर्न नपाइने भनी नियम बनाएको छ। जसअन्तर्गत मुख्यगरी भीडभाडमा नियन्त्रण गर्ने बताएको छ। 

विवाहमा बेहुला बेहुलीका दुवै पक्षका गरी १५ जनाभन्दा बढी सहभागी हुन पाइने छैन, विवाह–व्रतबन्धका लागि स्थानीय तहको सिफारिस चाहिलेन र जिल्ला प्रशासन कार्यालयले पास उपलब्ध गराउने भनिएको छ।

त्यस्तै अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन, बिरामी तथा बढीमा दुई कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायका सवारीसाधन सञ्चालन गर्न पाइनेछन्।

एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्धजन्य पदार्थ, कुरिअर एवम् डाँक सेवा, बैंक तथा वित्तीय संस्था, दूरसञ्चार, इन्टरनेट, क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला व्यवस्थापनलगायत ढुवानी तथा यातायात साधन सञ्चालन गर्न पाइनेछ।

सरकारी कार्यालयलगायत सार्वजनिक सेवा प्रदायक संस्थाले सम्बन्धित मन्त्रालय वा विभागबाट जारी पास लिएर सवारीसाधन प्रयोग गर्न पाउने छन्।

विकास निर्माणमा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीका साधनको हकमा सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिशका आधारमा जिल्ला प्रशासन कार्यालयले दिने पास लिएर सञ्चालन गर्न पाइनेछ।

अस्पताल आउने–जाने बिरामी र कुरुवा, मृत्यु संस्कारमा अनिवार्य रूपमा सहभागी हुनुपर्ने अवस्थाका व्यक्तिहरुलाई पनि प्रमुख जिल्ला अधिकारीले दिएको पासका आधारमा गाडी प्रयोग गर्न पाइनेछ ।

डिपार्टमेन्टल स्टोर, खाद्य सामग्रीका पसल, व्यवसाय बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म संचालन गर्न पाइनेछ।

बैंक तथा वित्तीय संस्था, बीमा एवम् राष्ट्र बैंकबाट इजाजत प्राप्त वित्तीय कारोबार गर्ने सहकारी संस्थाका कर्मचारीले प्रयोग गर्ने निजी नम्बर प्लेटका सवारीसाधन सम्बन्धित कार्यालयको परिचयपत्रका आधारमा आवतजावत गर्न पाइने छ ।

पत्रकारहरुको हकमा सूचना विभागले जारी गरेको प्रेस पासका आधारमा आउ–जाउ गर्न दिइनेछ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट