महाभूकम्पको ६ वर्ष पूरा : उठ्यो धरहरा, निजी आवासमा ९३ प्रतिशत उपलब्धि-Sutra News

महाभूकम्पको ६ वर्ष पूरा : उठ्यो धरहरा, निजी आवासमा ९३ प्रतिशत उपलब्धि

आइतबार, १२ बैशाख २०७८

आइतबार, १२ बैशाख २०७८

काठमाडाैं : २०७२ सालको महाभूकम्पको ६ वर्ष पूरा भएको छ। 



विसं २०७२ को आजैको दिन गोरखा केन्द्रविन्दु बनाएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो। 

बिहान ११ बजेर ५६ मिनेट जाँदा गएको भूकप्पबाट काठमाडाैं, काभ्रेपलान्चोक, भक्तपुर, सिन्धुपाल्चोक, नुवाकोट, रसुवालगायत हालको बागमती र गण्डकीका धेरैजसो जिल्लामा सबैभन्दा बढी क्षति गरेको थियो। 

हजारौं मानिसले ज्यान गुमाएका थिए भने निजी तथा सरकारी गरी लाखौं घरहरू भत्किएका थिए। भूकम्पबाट समग्रमा ३२ जिल्लामा क्षति पुगेको थियो।

यही भूकम्पमा धरहरा पनि भत्किएको थियो। यद्यपि हिजो अर्थात् शनिबार मात्र अर्को धरहरा निर्माणसम्मपन्न भई प्रधानमन्त्रीले उद्घाटन गरेका छन्। 

शनिबार परेर गएको भूकम्पका कारण देशभरका धेरैजसो विद्यालय भत्किएका थिए।

९३ प्रतिशत निजी आवास निर्माण भए

यसैबीच राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण र पुनर्स्थापनाको प्रमुख क्षेत्र निजी आवासमा ९३ प्रतिशत उपलब्धि भएको जनाएको छ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० सुशील ज्ञवालीले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी २०७२ साल वैशाख १२ गतेको भूकम्पबाट क्षति भएका निजी आवास क्षेत्रको पुनर्निर्माणको प्रगति उच्च रहेको बताए।

अनुदान सम्झौता गरेका ८ लाख ११ हजार ७ सय ५४ लाभग्राही मध्ये घर पुनर्निर्माण शुरु गरेका कुल लाभग्राहीको संख्या ७ लाख ५३ हजार १ सय ४ रहेको र उक्त संख्या ९३ प्रतिशत हुने बताए।

यस्तै पहिलो किस्ता वितरण ९९ दशमलव ८६ प्रतिशत, दोस्रो किस्ता वितरण ८६ दशमलव ७८ प्रतिशत र तेस्रो किस्ता वितरण ७८ दशमलव ६६ प्रतिशत पुगिसकेको पनि बताए।

यसै आर्थिक वर्षभित्र निजी आवासको मूलभूत काम सम्पन्न गर्ने लक्ष्य हासिल हुने पनि बताए। निजी आवास पुनर्निर्माणका क्रममा प्राप्त भएका ६ लाख ३४ हजार ९ सय ७३ गुनासाहरूको सम्बोधन गरिएको पनि बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट