हाम्रो पक्षमा जनलहर देखेर ओली समूहका मान्छेहरू मुर्छित भएका छन्: माधव नेपाल-Sutra News

हाम्रो पक्षमा जनलहर देखेर ओली समूहका मान्छेहरू मुर्छित भएका छन्: माधव नेपाल

बुधबार, २९ पौस २०७७

बुधबार, २९ पौस २०७७

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आफ्नो समूहको जनलहर देखेर प्रधानमन्त्री केपी शर्मा ओली समूहका मानिसहरू मुर्छित भएको बताएका छन् । 



मंगलबार पोखरामा भएको भेलालाई लिएर प्रधानमन्त्री ओली समूहमाथि बुधबार नेकपा काठमाडौंले नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपाललले साे कुरा बताएका हुन् ।

नेपालले भने, ‘ओली गुटका मानिसहरुले २/३ सय होला भनेको ठाउँमा २ हजार पो रहिएछ । विशाल उपस्थिति भयो, सम्भवत ओली गुटका मान्छेहरु मुर्छित भएका छन् कि पत्तालगाउनु होला ? कोही अस्पतालमा भर्ना हुन जानुभयो कि त्यो पनि पत्ता लगाउनुहोला ।’

अध्यक्ष नेपालले पूर्वएमालेमा सबैभन्दा कमजोर ठानिएको गण्डकी प्रदेशमा शानदार रुपमा कार्यक्रम सम्पन्न भएको दाबी गरे ।

उनले आफूहरुले देशैभर जनताबाट अपार समर्थन पाएको पनि दाबी गरे । ‘जहाँ गयो त्यही अपार समर्थन पाइन्छ’, उनले भने, ‘जनता, कार्यकर्ता, प्रतिपक्ष, नागरिक समाज, वौद्धिक र प्रवुद्ध समाजका तर्फबाट सहयोग पाएका छौँ ।’

त्यसैगरी अध्यक्ष नेपालले ओलीको पार्टी सडकको धुलो भएको आरोप लगाएका छन् । ओलीले अहिले केन्द्रीय सदस्यका लागि टिकट बाँडिरहेको पनि नेपालले बताए ।

उनले भने, ‘उहाँले केन्द्रीय सदस्य बन्न आऊ भनेर टिकट बाड्नुभएको छ । त्यो सडकछाप पार्टीमा को–को जाने हो हेर्न मात्रै बाँकी छ । उहाँको त्यो कथित पार्टीलाई परित्याग गर्नेहरुको संख्या बढ्दै छ । त्यो पार्टी सडकको धुलोमा परिणत हुन गइरहेको छ ।’

ओली पार्टी सिस्टममा भन्दा पनि गुटका आधारमा चल्ने व्यक्ति भएको नेपालको भनाइ छ । पार्टीले २०५० सालदेखि नै ओलीको प्रवृति झेल्दै आएको उनले बताए ।

ओलीको अहंकारवादी शैलीले आफूहरुले दुःख पाइरहेको नेपालको भनाइ छ । उनले भने, ‘केपी ओलीमा मै हुँ भन्ने अहंकार छ । पार्टीभन्दा माथि ठान्नुहुन्छ आफूलाई । त्यसैले हामी पीडित भएका हौँ ।’

ओलीको आचरणले उनलाई कुनै पनि हालतमा कम्युनिस्ट भन्न नसुहाउने नेपालको जिकिर छ । नेपालले भने, ‘उहाँमा कम्युनिस्ट आचरण छैन । उहाँ कुनै पनि हालतमा कम्युनिस्ट होइन । आत्मालोचनाको कुनै बानी छैन ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट