प्रधानमन्त्रीमाथि सर्वदलीय बैठकमा देखिएको आक्रोश – ‘ओलीले बालुवाटारलाई नै देश ठाने !’-Sutra News

प्रधानमन्त्रीमाथि सर्वदलीय बैठकमा देखिएको आक्रोश – ‘ओलीले बालुवाटारलाई नै देश ठाने !’

बुधबार, २४ मंसिर २०७७

बुधबार, २४ मंसिर २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार बालुवाटारमा सर्वदलीय बैठक बोलाए । आफ्नै पार्टी नेकपाको बैठकमा जान अरुची देखाउने ओलीले सर्वदलीय बैठक बोलाएर अन्य दलका नेताहरूको ‘तितो’ सुन्ने काम गरेका छन् ।



करीब ३ घण्टा प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सर्वदलीय बैठकले ठोस निष्कर्ष निकाल्न भने सकेन । ‘प्रधानमन्त्री अन्त कतै जानुपर्ने भएकाले छोट्याऔं भनिरहनु भएको थियो,’ बैठकमा सहभागी एक नेताले सूत्रन्यूजसँग भने, ‘समग्रमा बैठकको निष्कर्ष भनेको फेरि भेटौंला भन्ने रह्यो ।’

बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला र सहमहामन्त्री प्रकाशशरण महत उपस्थित थिए ।

त्यस्तै जनता समाजवादी पार्टीका तर्फबाट महन्थ ठाकुर र उपेन्द्र यादव, राप्रपाका नेता दीपक बोहोरा, जनमोर्चाका तर्फबाट जनकराज शर्मा तथा नेपाल मजदुर किसान पार्टीका तर्फबाट प्रेम सुवाल पनि बैठकमा सहभागी थिए ।

ओलीले बैठकमा आफ्नै पार्टीका शीर्ष नेताहरूलाई पनि बोलाएका थिए । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, अर्थमन्त्रीसमेत रहेका महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायतका नेकपाका नेताहरू बैठकमा सहभागी थिए ।

प्रधानमन्त्रीमाथि आक्रोश !

कोरोना नियन्त्रणमा सरकारले गरेको प्रयास, सडकमा राजावादीहरूको प्रदर्शन, विप्लव समूहबाट बढ्दै गएको हिंसात्मक गतिविधिलगायतका विषयमा छलफल गरेर साझा धारणा बनाउने उद्देश्यले प्रधानमन्त्री ओलीले बैठक डाकेको भएपनि बैठकमा सहभागीहरूले प्रधानमन्त्री ओलीमाथि नै फायर खोलेका छन् ।

बैठकमा सबैभन्दा चर्को बोलेका थिए – रामचन्द्र पौडेल । कांग्रेसका वरिष्ठ नेता पौडेललाई केही दिनअघि तनहुँमा पूल उद्घाटन गर्न जाने क्रममा स्थानीय प्रशासनले नियन्त्रणमा लिएको थियो ।

‘वरिष्ठ नेता पौडेलले त्यसैको रीस फेर्नुभयो,’ बैठकमा सहभागी प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार रिमालले भने ।

पौडेलले ओलीले नै संविधानविरोधी क्रियाकलाप गरिरहेकै कारण सडकमा अराजकता मच्चिएको टिप्पणी गरे । उनले ओली सरकार भ्रष्टाचारमा लिप्त भएको बताए । नेकपाकै आन्तरिक कलहका कारण व्यवस्थाप्रति नै जनताको निराशा रहेको उनको भनाइ थियो ।

पौडेलले यसो भनिरहँदा सत्तारूढ दलका अन्य नेताहरू भने मुसुमुसु हाँसिरहेका थिए । प्रचण्ड, खनाल, नेपाल र गौतम मंगलवारको सर्वदलीय बैठकमा ‘गणेश’ मात्र बसे, केही बोलेनन् ।

बैठकमा उपस्थित जसपाका नेता ठाकुरले सरकार असक्षम बन्दै गएको, भ्रष्टाचारमा लिप्त बन्दै गएका कारण सडकमा प्रतिगामीहरूको उपस्थित भएकोमा जोड दिए । उनले संविधान संशोधनको विषयसमेत उठाएका थिए ।

त्यस्तै नेमकिपाका प्रेम सुवाल र राप्रपाका दीपक बोहोराले पनि सरकार भ्रष्टाचारमा डुबेको आरोप लगाएका थिए ।

सबैलाई एउटै जवाफ दिँदै ओली – ठीक छ !

Kp oli - Nekapa Baithak.png

प्रायजसो सरकारलाई गरिएका आलोचनाको तिखो जवाफ दिने ओलीले हिजोको बैठकमा धेरै सुन्ने धैर्यता राखेका थिए । उनले प्रचार गरिएजस्तो सरकार असफल नभएको र भ्रष्टाचार नगरेको बताए ।

‘तपाईहरूले दिनुभएको सुझावअनुसार सरकारले कदम चाल्छ,’ ओलीको भनाइ उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘यी र यस्ता संवादहरू चल्दै जानुपर्छ । ठीक छ ।’

११ बजे शुरू भएको बैठक लम्बिएर ३ घण्टासम्म पुग्ने स्थिति बन्यो । तर १ बजे चोभारमा सुलक्षण कीर्ति बिहारको आयोजनामा ज्येष्ठ नागरिक भवन उदघाटन गर्न पुग्नुपर्ने प्रधानमन्त्रीको कार्यक्रम थियो । ओलीले बेलाबेलामा घडी हेर्थे र भन्थे, ‘अब बैठक छोट्याऔं ।’

प्रचण्डको मौनता रहस्यमयी

पार्टी बैठकमा ओलीलाई उपस्थित गराउन पछिल्लो समयमा प्रचण्ड-नेपाल लगायतका नेताहरूलाई फलामको च्यूरा चपाउनु सरह मेहेनेत गर्नुपरेको छ । तर मंगलवारको सर्वदलीय बैठकमा ओलीले ‘तपाईं पनि आउनुस न त’ भनेर फोन गरेकै भरमा प्रचण्ड उपस्थित भए ।

प्रचण्ड उपस्थित त भए तर उनले केही बोलेनन् । ‘प्रधानमन्त्री ओलीले बोलिसकेपछि तपाईंको केही छ कि भनेर प्रचण्डलाई सोध्नुभएको थियो,’ बैठकमा सहभागी एक नेताले भने, ‘प्रचण्डले भैगो तपाईले राखिहाल्नु भयो । म अहिले बोल्दिन, पछि बोलौंला ।’ प्रचण्ड लगायत सत्तारूढ दलका अन्य शीर्ष नेताहरू कोही पनि बैठकमा बोलेनन् ।

ओलीले बालुवाटारलाई नै देश ठाने !

Nekapa baithak.png

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट बैठकमा सहभागी भएका नेता कृष्णप्रसाद सिटौलाले ओलीसँगै निकै सीमित सूचना रहेको प्रतिक्रिया दिए । ‘प्रधानमन्त्री हावामा उडेको जस्तो लाग्यो,’ सिटौलाले भने, ‘उहाँसँग देश र जनताका कुनै सूचना छैनन् । बालुवाटारलाई नै देश भनेर बसिरहनु भएको छ ।’

सिटौलाले ओलीले झारा टार्न मात्र सर्वदलीय बैठक बोलाएको आरोप लगाए । ‘देश र जनताको हीतमा काम गर्नु छैन । ल नेताहरूलाई बोलाइदिउ न त भन्यो, बैठक बोलायो । अनि सुन्ने समय पनि थिएन । यसो हेर्दा यो झारा टारेको जस्तो देखिन्छ,’ सिटौलाले भने, ‘प्रधानमन्त्रीमा कुनै रियलाइजेसन नै छैन । उहाँ देश र जनताको मुद्दामा सिरियस देखिनु हुन्न ।’

यो पनि पढ्नुस्

स्थायी कमिटी बैठकमा उपस्थित हुन ‘फेस सेभिङ’ खोज्दै ओली

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट