अभिनेत्री पूजा शर्माको प्रश्न- पत्रकारले अशिष्ट,अभद्र र अमर्यादित शब्द प्रयोग गर्न मिल्छ ?-Sutra News

अभिनेत्री पूजा शर्माको प्रश्न- पत्रकारले अशिष्ट,अभद्र र अमर्यादित शब्द प्रयोग गर्न मिल्छ ?

शनिबार, २४ साउन २०७७

शनिबार, २४ साउन २०७७

काठमाडौं- शुक्रबार अभिनेत्री पूजा शर्माले आफ्नो फेसबुकमा रजतपट नामको कार्यक्रमका प्रस्तोता प्रकाश सुवेदीको नाम राख्दै एक स्टाट्स हालिन्।



सामाजिक सञ्जालमा उनले बताएअनुसार प्राइम टेलिभिजनमा अन्तर्वार्ताका लागि बोलाइँदा सामान्य ज्ञानसँग सम्बन्धित प्रश्नको जवाफ दिन नसकेपछि सो अन्तर्वार्ताबाट यो भागलाई हटाउन भनेकी थिइन्। तर, उक्त भागलाई नहटाई नै कार्यक्रममा अन्तर्वार्तालाई प्रस्तुत गरियो। जसपश्चात् उनका थुप्रै ट्रोल बने, उनलाई व्यंग्य पनि गरियो।

पछि प्रकाश सुवेदीले आफ्नो कार्यक्रमसहित एपिवान टेलिभिजनमा गएपछि फेरि पूजा शर्मालाई अन्तर्वार्ताका लागि बोलाएका थिए। पूजाले आफ्नो स्टाट्समा लेखेकी छन्, ‘म मानसिक तनाव झेलिरहेकी थिएँ। अब फेरि पुरानो गल्ती कसरी गर्न सक्थेँ?’

आफू त्रसित भएका कारण उनले उक्त अन्तर्वार्तामा आउँदिन भनेकी थिइन्। तर, प्रकाशले भने आफ्नो कार्यक्रममा पूजा नआएपछि सार्वजनिकरुपमै उनको शारीरिक हाउभाउलाई लक्षित गरेर टिप्पणी गरेका छन्। नाम नलिए पनि उनले कसलाई इंगित गरेका छन् भन्ने स्पष्टरुपमा बुझ्न सकिन्छ।

गत बिहीबार सार्वजनिक भएको उक्त कार्यक्रममा उनले भनेका छन्, ‘हामीले लिएको इन्टरभ्यु काट्दिनुपर्ने? महानायिका बनाइदिनुपर्ने त्यो पनि दारा निस्किएको महानायिकालाई?’

उक्त कार्यक्रम प्रसारण भएपछि पूजाले आफ्नो फेसबुकमा लेखेकी छन्, ‘के टेलिभिजनमा यस्ता असभ्य कुरा सम्पादन गर्ने कुनै निकाय छैन? ट्रोलको शिकारदेखि यस्तो अभद्र व्यवहारप्रति हामी कलाकार सधैं मौन रहनुपर्ने?’  पूजाले पनि नाम नभनेपनि आफूलाई नै त्यो टिप्पणी गरिएको बताएकी छन्।

अभिनेता दीपकराज गिरीले पूजाको स्टाट्स आएपछि सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मैले भन्दै आएको कुरा, यस्तै भइरहेमा इन्टरभ्यु दिनेलाई पनि डर मर्दो हुन्छ।’ साथै उनले एकले अर्कालाई गल्ती गरोस् भन्दा पनि एकले अर्काको गल्तीलाई सच्याइदिँदा पो हामी सबैको भलो हुन्थ्यो कि?

प्रमाण पुगेमा सजाय हुन्छः पी खरेल

पत्रकारिताका प्राध्यापक पी खरेल कुनै पनि सार्वजनिक अन्तर्वार्तामा कसको व्यक्तिगतरुपमा हाउभाउ र शारीरिक टिप्पणी गरिनु आपराध सरह भएको बताउँछन् ।

साथै उनी अन्तर्वार्तामा काटिदिनु भनेको कुरा नकाटी प्रसारण गरिनु पत्रकारिताको साधारण मापदण्डभन्दा बाहिरको कुरा भएको बताउँछन्। खरेल भन्छन्, ‘अन्तर्वार्तामा भनिएको कुरा काटिदिनु भनिएको छ भने त्यसलाई काट्नुपर्छ। त्यो सामान्य इथिक्स नै हो।’

 ‘यदि कार्यक्रममा त्यस्तो भनिएको हो भने त्यो अपराधसरह हो,’ प्राध्यापक पी खरेल भन्छन्, ‘कसैको पनि हाउभाउलाई लिएर त्यस्तो टिप्पणी गर्न मिल्दैन। प्रमाण पुगेमा त्यस्तो गर्नेलाई सजाय हुन्छ ।’ 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट