साताभर नै राताम्मे बनिरह्यो शेयर बजार-Sutra News

साताभर नै राताम्मे बनिरह्यो शेयर बजार

बिहिबार, २२ चैत्र २०८०

बिहिबार, २२ चैत्र २०८०

काठमाडौं । यो साताभर शेयर बजार परिसूचक (नेप्से) निरन्तर ओरालोमा रह्यो । पहिलो कारोबार दिनदेखि घट्न थालेको नेप्से अन्तिम कारोबार दिनसम्म आउँदा पनि बढ्न सकेन ।



२०३५.६४ को बिन्दुबाट सुरु भएको नेप्से २००४.०५ को बिन्दुमा ओर्लिएर बन्द भयो । समग्रमा साताभर ३१.५९ अंकले नेप्से घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

साताको पहिलो दिन (आइतबार) दोहोरो अंक (१७.३०)ले घट्दै नेप्सेमा घट्नेक्रम सुरु भएको थियो । सोमबार ६.२६ अंकले घटेको नेप्से मंगलबार १.८५ अंकले घटेको थियो । यस्तै, बुधबार ३.४३ अंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन बिहीबार २.७३ अंकले घट्दै बन्द भयो ।

यस साताभर समग्रमा तीन करोड दुई लाख ३१ हजार कित्ता शेयर खरिद–बिक्री भयो । सो कित्ता शेयर खरिद–बिक्री हुँदा कारोबार रकम १३ अर्ब ५५ करोड ७६ लाख रुपैयाँको भएको स्टक एक्सचेन्जले जनाएको छ ।

यो साता सबैभन्दा बढी आइतबार र बिहीबार तीन अर्ब माथिको कारोबार भएको थियो । अन्य दिन भने दुई अर्ब हाराहारीको मात्रै कारोबार भयो ।

यातो साता नेप्से निरन्तर ओरालोमा रहेपनि लघुवित्त क्षेत्रका लगानीकर्ता भने फाइदामा रहिरहे । यो साता लघुवित्त क्षेत्रमा १८४ अंकले बृद्धि भयो ।

निरन्तर ओरालो तर, झिनो अंकको गिरावटको ट्रेण्डलाई हेर्दा बजार पुनः बढ्न सक्ने अनुमान गर्न सकिन्छ । यद्यपि, कारोबार रकम घट्दो अवस्थालाई हेर्दा लगानीकर्ता उत्साहित नभएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट