काँग्रेसलाई पेलेरै अघि बढ्ने रणनितीमा ओली, माधवलाई भने – ‘राष्ट्रपति खानुस् आउनुस् मिलम’-Sutra News

काँग्रेसलाई पेलेरै अघि बढ्ने रणनितीमा ओली, माधवलाई भने – ‘राष्ट्रपति खानुस् आउनुस् मिलम’

मंगलबार, ९ फाल्गुन २०७९

मंगलबार, ९ फाल्गुन २०७९

काठमाडौं । राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक माहोल तात्तिदै गएको छ । मूख्यतया संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र राष्ट्रपतिको उम्मेद्धवार कसलाई उठाउने र समर्थन गर्ने भन्ने बिषयको रस्साकस्सीले राजनिती थप पेचिलो बन्दै गएको छ ।



स्थानिय तथा तथा, प्रतिनिधि र प्रदेश सभामा काँग्रेससँग गठबन्धन गरेर चुनाव लडेको माओवादीले प्रधानमन्त्री पाउन नेकपा एमालेसँग फेरी अर्को गठबन्धन गरेको थियो । सो गठबन्धनबाट बनेको नयाँ सरकारको नेतृत्व अहिले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् । गएको पुस १० गते एमालेलाई राष्ट्रपति बनाउने समझदारी गर्दै प्रचण्ड आलोपालोको पहिलो प्रधानमन्त्री नियुक्त भएका थिए। त्यसको १६ दिनपछि कांग्रेसले पनि प्रचण्डलाई प्रधानमन्त्रीमा विश्वासको मत दिएको थियो।

निर्वाचनअघिका साझेदार दलहरूको समर्थन पाएका प्रचण्ड अहिले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने अडानमा छन् । पछिल्ला दिनमा प्रधानमन्त्री प्रचण्ड एमालेसँगको समझदारीलाई वेवास्ता गर्दै कांग्रेस र नेकपा एकीकृत समाजवादीतर्फ ढल्कदै गएका छन् । सोमबार पार्टी कार्यालय पेरिसडांडामा बसेको माओवादीको बैठकले एमालेलाई सिधै समर्थन नगर्ने तर राष्ट्रिय सहमतिको बाटो अपनाउने निर्णय गरेको छ । बैठकपछि पार्टी प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रपतिका लागि राष्ट्रिय सहमति नै अहिलेका लागि उत्तम भएको बताए । उनले भने पुस १० भन्दा अहिले परिस्थिति फेरिएको छ। गणतन्त्र, संविधानको रक्षा र शान्तिप्रक्रिया टुंगो लगाउने विषय हाम्रा स्वार्थ हुन्। यी स्वार्थमा जोसँग मिल्छ, त्यससँग सहकार्य हुन्छ।

सो बैठकले राष्ट्रपतिका लागि पार्टीको कदमबारे निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई नै दिएको छ । यता, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति नदिने जस्तो भएपछि एकीकृत समाजवादीतर्फ हात बढाउन थालेका छन् । एमाले फुटेपछि एकअर्काको आलोचना गर्दै आएका एमाले अध्यक्ष ओली र एसका अध्यक्ष माधव कुमार नेपाल भेटवार्ता गरेका छन् । सोमबार उनीहरुबीच भएको भेटवार्तामा राष्ट्रपति निर्वाचनका विषयमा करिब डेढ घण्टा संवाद चलेको थियो ।

कांग्रेसलाई राष्ट्रपति दिनुभन्दा नेपाललाई बनाउनु उपयुक्त हुने निष्कर्षसहित ओलीले नेपाललाई प्रस्ताव गरेको स्रोतको भनाई छ । भेटमा ओलीले पार्टी एकतासहित राष्ट्रपतिमा नेपाललाई प्रस्ताव गरेको बताइएको छ । ओलीले पार्टी एकतासहित गरेको प्रस्तावमा अध्यक्ष नेपाल सकारात्मक रहेको बताइएको छ । एमाले अहिले राष्ट्रिय सहमतिमा नेपाललाई राष्ट्रपतिबनाउन तयार रहेको स्रोतको भनाई छ । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आउँदो फागुन २९ गते सकिँदैछ । निर्वाचन आयोगले फागुन २५ गते राष्ट्रपति निर्वाचन गर्ने गरी तयारी अघि बढाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट