प्रदेश १ का यी नेता र सांसदको साथ माधव नेपाललाई-Sutra News

प्रदेश १ का यी नेता र सांसदको साथ माधव नेपाललाई

बिहिबार, १० भाद्र २०७८

बिहिबार, १० भाद्र २०७८

धनकुटा- माधव नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) लाई प्रदेश १ का नौ केन्द्रीय सदस्य र दुई सांसदले साथ दिएका छन् ।



नेकपा एमालेका पूर्वअध्यक्ष तथा वरिष्ठ नेता झलनाथ खनालसहित प्रदेश १ का नौजना केन्द्रीय सदस्य एमाले विभाजन पश्चात नेकपा (एकीकृत समाजवादी) मा सहभागी भएका हुन् ।

नेकपा एमालेभित्र चलिरहेको अन्तरसंघर्षमा नेपाल समूहमा आवद्ध भएका १६ जना केन्द्रीय सदस्यमध्ये ९ जनाले निर्वाचन आयोगमा उपस्थित भई विभाजनको पक्षमा सनाखत गरे ।

नवगठित पार्टीमा प्रदेश १ बाट २ जना मात्र संघीय सांसदले साथ दिएका छन् । जसमा वरिष्ठ नेता खनाल र तेह्रथुमका भवानी खापुङमात्र नयाँ पार्टीमा आबद्ध भएका छन् । खनाल भारतको दिल्लीस्थित अस्पतालमा उपचाररत रहेकोमा निर्वाचन आयोगले दिल्लीस्थित नेपाली दुतावासमार्फत उनको सनाखत लिएको छ हो भने खापुङ आफैँ उपस्थित भएका थिए ।

प्रदेश १ बाट नेपाल समूहमा रहेका संघीय सांसद योगेश भट्टराई, पवित्रा निरौला, पर्शु मेघी गुरुङ, जयकुमार राई र यज्ञराज सुनुवार नेपाल नयाँ पार्टी गठनमा सहभागी भएका थिएनन् ।

केन्द्रीय सदस्यमा खनालबाहेक भोजपुरकी जयन्ती राई, उदयपुरका जगन्नाथ खतिवडा, झापाकी गौरा प्रसाई, मोरङका घनेन्द्र बस्नेत, भोजपुरका राजेन्द्र राई, उदयपुरका बलदेव चौधरी, मोरङका देउमान साम्बाहाम्फे र सुनसरीका महमत महफुज अन्सारी नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गर्न निर्वाचन आयोगमा सहभागी भएका हुन् ।

खोटाङका राजन राई सनाखतको लागि निर्वाचन आयोगमा पुगे भए पनि यसअघि नयाँ पार्टी दर्ताको लागि दिएको निवेदनमा नाम नभएको भन्दै आयोगले उनको सनाखत गराएको थिएन ।

एमालेभित्रको अन्तरसंघर्षका क्रममा माधव समूहमा रहेका एमाले सचिवद्वय भीम आचार्य र योगेश भट्टराईसहित केन्द्रीय सदस्य रविन कोइराला, भाष्कर काफ्ले, जीवन घिमिरे, यज्ञराज सुनुवार र धर्मराज निरौलाले पार्टी विभाजनको पक्षमा साथ दिएनन् ।

भट्टराई र आचार्य एमाले बैठकमै सहभागी भइसकेका छन् भने अन्य केन्द्रीय सदस्य पनि विभाजनको पक्षमा उभिएका छैनन । यसअघि भाष्कर काफ्लेले निर्वाचन आयोगमा विभाजनको लागि दिएको निवेदनमा हस्ताक्षर गरेपनि सनाखत गर्न भने उपस्थित भएनन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट