ओलीको बुल्डोजर प्रेम-Sutra News

ओलीको बुल्डोजर प्रेम

शुक्रबार, २८ फाल्गुन २०७७

शुक्रबार, २८ फाल्गुन २०७७

काठमाडौं- बुटवलमा (२८ फागुन) अगुवा कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले ‘माधव नेपालजीहरूले एमाले कब्जा गर्नुहुन्छ र त्यहाँबाट केपी ओलीलाई निकाल्नुहुन्छ’ भनेकामात्र के थिए त्यसको केही बेरमै काठमाडौंबाट एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पार्टीभित्र ठूलो राजनीतिक कदम चाल्न भ्याइसकेका थिए ।



ओलीले पार्टीका निर्वाचित पदाधिकारीको जिम्मेवारीमात्र खोसेनन्, माधव नेपाल समूहका सबैलाई जिम्मेवारीबिहीन बनाइदिए । यसले एमालेभित्रको नेपाल समूह र वामदेव गौतम पक्ष दुवैलाई रुष्ट बनाएको छ ।

ओलीले आफ्नो पक्षका नेताहरूको बैठक राखेर दशौं महाधिवेशनको मिति तोक्नुका साथै अध्यक्ष र महासचिव बाहेकका पदाधिकारी हटाए । माधव नेपाल पक्षीय नेताहरूको जिम्मेवारी खोस्नुका साथै माओवादी केन्द्रबाट आएका रामबहादुर थापा (बादल) समूहका २२ नेतालाई केन्द्रीय सदस्य मनोनित गर्न भ्याए ।

एमालेको नेपाल समूह र गौतम समूहले ओलीको यो कदमलाई मुर्खतापूर्ण त भनेकै छन्, चरम अराजकताको संज्ञा पनि दिएका छन् । ओलीले यो कदम चालेर के सन्देश दिन खोजेका हुन् ? शक्तिको केन्द्रमा रहेका ओलीले आफूले जे गर्यो त्यही सिद्घान्त हुने, कानून बन्ने अनि त्यही नै संविधान हुने सन्देश जानेगरी पछिल्लो कदम चालेका छन् ।

ओलीले जसरी पार्टीभित्रको इतर समूहमाथि मध्ययुगीन सामन्तवादी शैलीले बुल्डोजर चलाए, त्यसले नेपाली राजनीति थप तरङ्गित हुन पुगेको छ । एमालेभित्रको ओली इतरपक्ष पार्टी एकताको पहल गर्दै थियो । यही बेला ओलीले जुन कदम चाले त्यसले एमालेभित्र ओली समूहबाहेक अरुका लागि कुनै स्थान छैन भन्ने सन्देश गएको छ ।

अब दूरी यसरी बढ्यो कि दुबै पक्ष नजिकिने सम्भावना टाढा टाढासम्म देखिदैन । किनकी ओलीले गरेको पछिल्लो निर्णयलाई लिएर माधव नेपालदेखि वामदेव गौतमसम्मले जसरी प्रतिक्रिया दिइरहेका छन् । त्यसले पनि अब एमालेभित्र ओली इतर पक्षले ठूलो संघर्ष गर्नुपर्ने संकेत दिएको छ । किनकी ओली इतर पक्ष सबैको समान प्रतिक्रिया छ, ‘हामी ओलीको यो निर्णय मान्दैनौं ।’

महाधिवेशनबाट चुनिएका पदाधिकारीको पद अर्काे महाधिवेशन बाहेक कसैले खोस्न नसक्नुपर्ने हो, तर ओली न हुन उनले यो दुस्साहस गरेका छन् । १ चैतमा पार्टीको केन्द्रिय समितिको बैठक बोलाएका ओली त्यसअघि नै इतरपक्षलाई रसातल पुर्याउने शैलीले गैरकानूनी र एमालेको पार्टी विधान निर्णय गर्न पुगे ।

के एमालेको इतर समूहका नेता घनश्याम भुषालले भने जस्तै ओलीले चालेको यो कदम मुर्खतापूर्ण नै हो ? के ओलीले आफ्ना विरोधी ती पार्टीभित्रका हुन् वा बाहिरका हुन् यसरी नै सिध्याउन सकिन्छ भनेर सन्देश दिन खोजेका हुन ? धेरैको मनमा उब्जिएको प्रश्न हो यो । किनकी उनले दुई तिहाईको बहुमत ओलीले आफैं भत्काए । पार्टी छिन्नभिन्न बनाए । संसद् विघटन गरेकै हुन् ।

आफ्ना विरोधीलाई देखाइदिने र सिध्याइदिने खेल खेल्दै जाँदा ओलीले कतै तानाशाहको पोशाक लगाउने त होइनन् ? डर यो पो छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट