नेकपा कार्यदलको प्रतिवेदन अध्ययनमा ओली र प्रचण्ड-Sutra News

नेकपा कार्यदलको प्रतिवेदन अध्ययनमा ओली र प्रचण्ड

आइतबार, ७ भाद्र २०७७

आइतबार, ७ भाद्र २०७७

काठमाडौं-  पार्टीभित्रको विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलले बुझाएको प्रतिवेदन अध्ययनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई अध्यक्ष लागेका छन्।



महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठन गरिएको ६ सदस्यीय कार्यदलले शनिबार बालुवाटारमा अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको थियो।

३० साउनमा गठन गरिएको कार्यदलले तत्कालीन र दीर्घकालीन सुझावसहितको लामो प्रतिवेदन बुझाएपछि अध्यक्षद्वय त्यसको अध्ययनमा लागेका हुन्।

दुवै अध्यक्षका निजी सचिवालयले अहिले दुवै अध्यनमा रहेको बताएका छन्। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको सचिवालयका अनुसार उनी आज कुनै भेटघाट नगरी प्रतिवेदन अध्ययनमा लागेका छन्।

त्यस्तै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सचिवालयले पनि उनी उक्त प्रतिवेदनको अध्ययनमै रहेको र अर्का अध्यक्ष ओलीसँग आज भेट्नेबारे कुनै तालिका नरहेको बतायो।

के हुन्छ प्रतिवेदन ?

दुई अध्यक्षको सहमतिबाटै कार्यदल बनेको र त्यसले प्रतिवेदन पनि सर्वसम्मतरुपमा तयार पारेकाले यसको अपनत्व दुबैले लिन्छन् भन्नेमा शंका छैन।

तर, यसलाई कुन विधि र प्रक्रियामार्फत् कार्यान्वयनमा लगिन्छ भन्नेमा भने अझै स्पष्ट भइसकेको छैन। कार्यदलका सदस्य भीम रावल दुवै अध्यक्षले अध्ययन गरिसकेपछि त्यो संगठनात्मक प्रणालीभित्र जाने बताउँछन्। ‘प्रतिवेदन उहाँहरुले अध्ययन गर्नुहोला। त्यसपछि त्यो संगठनात्मक प्रणालीभित्र जान्छ,’ उनले भने।

संगठनात्मक प्रणालीमा जान्छ भन्नुको अर्थ के हो भन्नेचाहिँ रावलले पनि प्रष्ट खुलाएनन्। नेकपाभित्र सचिवालयलाई सर्वोच्च कमिटी मानिन्छ। त्यसपछि स्थायी कमिटी र केन्द्रीय कमिटीबाट विषयहरु प्रवेश गराइन्छ।

केही दिनअघि (३ भदौ)मा ‘द बाभ्रो डेल्टा शो’मा दिएको अन्तर्वार्तामा प्रचण्डले कार्यदलको सुझावलाई स्थायी कमिटीमा लैजाने बताएका थिए। ‘कार्यदलले आफ्नो कार्यादेशअनुसार सझुाव दिएपछि त्यसलाई औपचारिकरूपले स्थायी कमिटी बैठकमा लैजान्छौं,’ उनले भनेका थिए, ‘ कमिटीबाट निर्णय भइसकेपछि मात्रै त्यो देखिने परिणामका रूपमा आउँछ।’

१० असारबाट सुरु भएको केन्द्रीय कमिटी बैठक अनिश्चितकालदेखि स्थगित छ।

कार्यदलको प्रतिवदेनमा काठमाडौं उपत्याकामा लगाइएको निषेधाज्ञापछि स्थायी कमिटी र असोज अन्तिम साता कोभिड–१९ को अवस्था हेरेर स्थायी कमिटी बैठक बोलाउन सिफारिस गरिएको छ।

टुंगिएला विवाद ?

यो प्रतिवदेनपछि पार्टीको समस्या हल होला कि भन्ने आशा धेरैले राखेका छन्। प्रतिवेदनमा ‘पावर सेयरिङ’को स्पष्ट खाकासहित तत्कालीन र दीर्घकालीनरुपमा हल गर्नेगरी सुझावसमेत दिएकाले विवाद टुंगिने विश्वासमा आफूहरु रहेको कार्यदलका अर्का सदस्य सुरेन्द्र पाण्डे बताउँछन्। ‘हामीले आशा गरेरै पेस गरेका हौं,’ पाण्डेले भने।

नेता रावल प्रतिवेदन बुझेपछि अध्यक्षले दिएको अभिव्यक्तिले विवाद निराकरण हुने विश्वास आफूलाई लागेको बताउँछन्। ‘हिजो हामीलाई अध्यक्षद्वयले दिएको अभिव्यक्ति र हामीले त्यसमा गरेको छलफलका निष्कर्षहरुले विवादको निराकरण भएर पार्टी सुनिश्चित दिशातर्फ अगाडि बढ्नुपर्ने हो भन्ने मलाई लाग्छ,’ उनले भने।

कार्यदल सदस्य पाण्डेका अनुसार पार्टीका दुई अध्यक्षबीच कार्यविभाजन र कार्याधिकार स्पष्ट पार्ने सन्दर्भमा प्रतिवेदनमा सुझाव दिइएको छ।

प्रतिवेदनमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीको राजीनामालाई थाती राख्दै स्थायी कमिटीको बैठक निर्धारित कार्यसूचीमा अधारित भएर सञ्चालन गनुपर्ने सुझाइएको छ।

अध्यक्ष ओलीले सरकार चलाउने र कार्यकारी अध्यक्ष प्रचण्डले पार्टी सञ्चालन गर्नुपर्ने गरी प्रतिवेदनमा सुझाइएको बताइएको छ।

प्रचण्डले उक्त कार्यक्रममा आफूहरु (दुई अध्यक्ष)मा नयाँ ‘रियालाइजेसन’ भएकाले पार्टी विवादलाई विधिसम्मत तरिकाले टुंग्याइने बताएका थिए। हाललाई स्थायी कमिटीदेखि महाधिवेशनसम्म गएर त्यसलाई टुंग्याउने उनको संकेत थियो।

‘फेरि समझदारी, सहमतिका प्रक्रिया सुरु गरेका छौं र पार्टी र सरकारका कामलाई प्रभावकारी बनाएर जानुपर्छ भन्ने ‘रियालाइजेसन’मा हामी पुगेका छौं,’ प्रचण्डको भनाइ थियो, ‘स्थायी कमिटी बैठकबाट एउटा ‘रिजुलेसन’ पास गरेर उपयुक्त समयमा केन्द्रीय समितिको बैठकमा लैजाने हाम्रो कार्यक्रम छ। अहिले साढे चार सयजनाको बैठक बस्न व्यावहारिकरूपमा सम्भव छैन। कोरोनाको प्रकोप घटेपछि केन्द्रीय कमिटी बैठक बसी महाधिवेशनमा जाने भन्ने हो। अहिलेको विवाद/बहसको राजनीतिक, सैद्धान्तिक, व्यावहारिक, सांगठनिक र सांस्कृतिक समाधान हामीले चाहेका हौं।’

त्यही कार्यक्रममा ओलीले पनि पार्टीभित्रको विवादमा ‘नयाँ सिनारियो’ देखिने भन्दै पाँच दिनको समय दिएका थिए। २८ साउनमा ओलीले दाबी गरेका थिए, ‘पार्टी फुट्दैन, बरु त्यसको नयाँ सिनारियो ५ दिनभित्रै देख्नु हुनेछ।’ उनले त्यस्तो दाबी गरेको भोलिपल्ट विहानै एकताको संकेत देखिइहाल्यो।

९ दिन लामो संवादहीनता तोड्दै २९ साउनमा प्रचण्डसँग बालुवाटारमा ओलीले साढे तीन घण्टा छलफल गरेका थिए।

त्यसको भोलिपल्ट ३० साउनमा अध्यक्षद्वय ओली-प्रचण्ड पार्टीभित्रको विवाद समाधानको सुझाव दिन महासचिव पौडेलको संयोजकत्वमा कार्यदल बनाउन सहमत भएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट