महिला नेतृ : कोही तीज नै मनाउँदैनन्, कसैको कोरोनाले छेक्यो-Sutra News

महिला नेतृ : कोही तीज नै मनाउँदैनन्, कसैको कोरोनाले छेक्यो

शुक्रबार, ५ भाद्र २०७७

शुक्रबार, ५ भाद्र २०७७

काठमाडौं– नेपालका विशेषगरि हिन्दू समुदायका महिलाहरुले आज तीज मनाइरहेका छन्। कोभिड–१९ महामारीको सन्त्रासबीच धेरैले घरमै बसेर भए पनि तीजलाई निरन्तरता दिने कोसिस गरिरहेका छन् ।



कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठामाडौं उपत्यकाभर र बाहिरी जिल्लाका विभिन्न स्थानीय तहले ‘लकडाउन’ र निधेषाज्ञा जारी गरेका छन् । यसका कारण धेरैले घरमै दर खाने र घरमै नाँचगान गरेर तीज मनाइरहको दृष्यहरु देखिरहेका छन् ।

राजनीतिमा लागेका महिलाहरुको भने आम महिलाहरुको जस्तो छैन्, तीज मान्ने तौरतरिका । कोही तीज नै मनाउँदैनन्, कसैको तीज मनाउने रहरलाई अन्य महिलाहरुको झैं कोरोनाले छेकिदिएको छ।

नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले शुक्रबार बिहानै एक भिडियो सन्देश जारी गर्दै सबैलाई तीजको शुभकामना दिएकी छिन् । उनी घरमै बसेर टिभी हेर्दै नाँचेर तीज मनाइरहेको बताउँछिन् । पोहोर भने पार्टी कार्यक्रममा व्यस्त भएका कारणले उनले खासै तीज मनाउन पाएकी थिइनन् । ‘घरमै टिभी हेरेर एकछिन नाँचियो,’ डा. संग्रौला भन्छिन्, ‘पोहोर साल पार्टीकै कार्यक्रममा निकै व्यस्त भइयो । कार्यक्रम लागि एकै दिन, एक ठाँउबाट अर्को ठाँउमा गइयो।’

उनका बिहिनीहरु नजिकै छन्, तर सँगै छैनन् । उनकी छोरी भने अष्ट्रेलिया छिन् । संग्रौला पहिला वर्षहरुमा तीजकै बेला पनि महिला अधिकार र शसक्तिकरणको सचेतना जगाउँदै हिँड्ने गरेकोमा यसपाली त्यो कोरोनाको कहरमा परको बताउँछिन् । ‘पोहार खुल्ला वातावरणमा हामीले तीज मनाइरहेका थियौं,’ उनी सम्झन्छिन्, ‘महिलाको अधिकार, शसक्तिकरणको कुरा जगाउँदै हिँडेका थियौं। यसपाली त कोरोनाको कहरभित्र छौं।’

कोरोना महामारीका बेला पनि महिला हिंसा नरोकिएकोमा उनको चिन्ता छ । अहिले पनि महिलाहरु रोग र भोक दुबैबाट आक्रान्त भइरहेको बताउने उनी सामाजिक संजाजलबाटै तीजका अबसरमा सबैको सुस्वाथ्यको कामना गर्ने र शुभेच्छा बाँड्ने काम भइरहेको बताउँछिन् । भन्छिन्, ‘अप्ठ्यारो परिस्थिति पनि छ। सबैको सुस्वाथ्यको कामना गर्ने र शुभेच्छा बाँड्ने काम भइरहेको छ।’

नेपाल कम्युनिष्ट पार्टीकी सांसद पवित्रा निरौला खरेललाई भने आजै शोक परेकाले तीज मनाउने अवस्था रहेन् । ‘यसपाली मेरो काका बित्नु भएकाले अलि अप्ठ्यारो स्थितिमा छु,’ झापामा रहेकी उनले भनिन्, ‘अहिले म उहाँको दाहासंस्कार गरेर फर्किदै छु ।’

खरेल अघिल्ला वर्षहरुमा तीजका लागि आफू बर्त नै बस्ने नगरे पनि विभिन्न कार्यक्रममा सहभागि हुने गर्थिन । ‘यो नेपालीको एउटा परम्परा हो, चाड हो,’ उनी भन्छिन्, ‘अघिल्ला वर्षहरुमा विभिन्न कार्यक्रमहरु हुन्थेँ, ती कार्यक्रमहरुमा जाने गर्थेँ । वर्त नै बस्ने, दर नै खाने चाहिँ म पहिले पनि गर्दिनथँ।’

नेकपाकै अर्की सांसद शशि श्रेष्ठ व्यक्तिगत रुपमा भने तीज मनाउँदिनन् । उनी तीजलाई महिला सशक्तिकरणको अभियान चलाउने अवसरका रुपमा यसअघि प्रयोग गरिएको बताउँछिन्। ‘व्यक्तिगत रुपमा म तीज मनाउँदिन,’ श्रेष्ठ भन्छिन्, ‘धार्मिक परम्पराको हिसावबाट तीज मनाउने गरेको छैन्। जुन रुपबाट म हुर्किएँ, हाम्रो समुदायमा पनि यो तीज मान्ने चलन थिएन पनि ।’

उनका विचारमा पछिल्ला वर्षहरुमा तीज मनाउने तरिकामा अझैं विकृति आएको छ । महिलालाई बलियो बनाउने दिनका रुपमा तीजलाई मनाउनुपर्ने भन्दै उनी थप्छिन्, ‘हुँर्कदै जाने क्रममा राजनीतिक चेत जुन ममा आयो । पञ्चायतकालीन अवस्थामा यसलाई महिलाहरुलाई जगाउने अभियानमा रुपमा लिएर म लागेकी थिएँ ।’

कांग्रेस सांसद पार्वता डिसी चौधरी पनि तीजकै लागि भनेर वर्त चाहिँ अहिलेसम्म बसेकी छैनन् । ‘मैले चाहिँ सानैदेखि तीजकै लागि भनेर वर्त बस्ने र नाँचगान गर्ने काम खासै गरिन,’ छोरीहरु चाहिँ रमाइलो गर्छन्। म मात्रै हो हाम्रो परिवारमा वर्त नलिने। सानैदेखि यस्तो भावना पनि भएन । हाम्रो घरमा पहिलेदेखि नै मनाउनै पर्छ भन्ने पनि थिएन ।’ उनलाई चाहिँ मानवीय भावना सबैभन्दा ठूलो कुरा लाग्छ ।

नेकपा सांसद जयपुरी घर्ती तीजमा राइलो गर्ने भन्दा पनि कोरोनाबाट कसरी जोगिने भन्नेमा आफ्नो ध्यान रहेको बताउँछिन् । कोरोनालाई जित्न सक्ने क्षमता सबैमा विकास होस् भन्ने शुभकामना उनी दिन चाहान्छिन् । ‘तीज नेपाली महिलाहरु आफ्नो चाडकै रुपमा मनाउँछन्,’ घर्ती भन्छिन्, ‘कोरोनाको बेला छ । यो बेलामा रमाइलो गर्ने, नाँचगान गर्ने भन्दा पनि कोरोनाबाट कसरी बच्ने भन्नै नै ठूलो चिन्ता छ ।’

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट