लगानीकर्तालाई स्वागत गर्दै अर्थमन्त्रीले भने– नेपालमा लगानी गर्दा उच्च सम्भावना छ-Sutra News

लगानीकर्तालाई स्वागत गर्दै अर्थमन्त्रीले भने– नेपालमा लगानी गर्दा उच्च सम्भावना छ

आइतबार, १६ बैशाख २०८१

आइतबार, १६ बैशाख २०८१

काठमाडौं । तेस्रो अन्तराष्ट्रिय लगानी सम्मेलन काठमाडौंमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनको उद्घाटन गरेका छन् ।



लगानी सम्मेलनको उद्घाटन कार्यक्रममा सहभागीलाई स्वागत गर्दै अर्थमन्त्री वर्षमान पुनले नेपाल लगानीका लागि आकर्षक गन्तव्य रहेको उल्लेख गरे । हाल लगानी गरिरहेका विदेशी लगानीकर्ताले प्राप्त गरेको सफलता र नाफा आर्जन गरेको अवस्थाले पनि नेपाल लगानीको आकर्षक गन्तव्य रहेको पुष्टि भएको भन्दै उनले नेपालमा लगानी गर्न आह्वान गरे ।

अर्थमन्त्री पुनले व्यवसाय सुरु गर्दा हुने प्रक्रियागत झण्झट अब नहुने पनि आश्वासन दिए । “व्यवसायिक वातावरण सुधार गर्ने र लगानीकर्ताको विश्वास बढाउने उद्देश्यले हामीले विभिन्न नीतिगत सुधार गरेका छौं”, मन्त्री पुनले भने, “नीतिगत र व्यवसाय सुरु गर्दा लाग्ने प्रक्रियागत झण्झटमा सुधार, सार्वजनिक शासनमा पारदर्शिता र जवाफदेहीता सुनिश्चित गरिएको छ । आगामी दिनमा पनि यस प्रक्रियालाई निरन्तरता दिइनेछ ।”

नेपालमा पूर्वाधार, सूचना प्रविधि र हरित ऊर्जा क्षेत्रमा लगानीको उच्चतम सम्भावना रहेको मन्त्री पुनले बताए । यसका लागि नेपाल सरकारले एकैसाथ धेरै कानुनी व्यवस्थालाई सुधार गरेको समेत बताए ।

दुई दिन चल्ने सम्मेलनमा सम्मेलनमा नौ खर्ब बराबरका परियोजना प्रस्तुत गरिने लगानी बोर्डको भनाइ छ । सम्मेलनमा ६ वटाभन्दा बढी सत्र सञ्चालन हुनेछन् ।

ऊर्जा, यातायात, खानी तथा खनिज, पर्यटन, उत्पादन, औद्योगिक पूर्वाधार तथा व्यापार, स्वास्थ्य तथा शिक्षालगायत विविध क्षेत्रका परियोजना रहेको बोर्डले जनाएको छ । जनाइएअनुसार संघ, प्रदेश र स्थानीय तहका १ सय १९ र निजी क्षेत्रका ३१ परियोजना छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट