राष्ट्रपतिले बोलाएको बैठकमा किन गएन एमाले ?-Sutra News

राष्ट्रपतिले बोलाएको बैठकमा किन गएन एमाले ?

मंगलबार, ५ भाद्र २०८०

मंगलबार, ५ भाद्र २०८०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठकलाई प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) बहिस्कार गरेको छ । राष्ट्रपतिबाट राजनीतिक विषयलाई लिएर बैठक बोलाइनु सही नभएको एमालेको बुझाई छ ।



राष्ट्रपति पौडेलले मंगलबार बिहान संसदमा देखिएको गतिरोधको विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका थिए ।

एमालेकाे संसदीय दलका सचेतक महेश बर्तौला आफूहरुको माग सरकारसँग भएको भन्दै राष्ट्रपतिले चासो राखेर बैठक डाक्नु सही नभएको बताउँछन् । सरकारसँगै छलफल गरेर निकास निकाल्ने प्रर्यत्न भइरहेको सन्दर्भमा राष्ट्रपतिले बैठक डाक्नु नमिल्दो भएको उनले बताए ।

“हाम्रो मागका विषयमा हामीले सरकारसँग संवाद गरेर निष्कर्षसमेत निकालिसकेका छौं, यो परिस्थितिमा राष्ट्रपतिले बैठक डाकेर छलफल चलाउनु अनुचित हो”, बर्तौलाले सञ्चारमाध्यमसँगको कुराकानीमा भनेका छन् ।

राष्ट्रपतिले राजनीतिक सक्रियता देखाउन खाेजेकाे एमालेको आरोप छ ।

संसद अवरोध खुलाउने प्रर्यत्न स्वरुप राष्ट्रपति पौडेलले यसअघि साउन ३१ मा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई शितल निवासमै डाकेर छलफल गरेका थिए । नेताहरूले बताएअनुसार उक्त छलफल सकारात्मक भने हुन सकेको थिएन । एमालेका एक नेताले बताएअनुसार उक्त छलफलमा राष्ट्रपति पौडेल सत्ता पक्षीय नेताको रुपमा उपस्थित भएका थिए । जुन भेटपछि ओली राष्ट्रपतिसँग निकै असन्तुष्ट पनि देखिएका छन् ।

राष्ट्रपतिले योबीचमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनासँग पनि संसद अवरोध खुलाउने विषयमा छलफल गरेका छन् । उनले दुवैलाई सहयोगी भूमिका खेल्न आग्रह गरेको कुरा बाहिरिएको थियो । जसलाई एमालेले राजनीतिक शैली भनि बुझ्ने गरेको छ ।

 

सरकारसँग करिब सहमती

सुन तस्करी प्रकरणको विषयमा सरकार र प्रतिपक्षी दलबीच करिब सहमति बनेको देखिएको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय छलफलमा दलहरुबीच निकासका विषयमा मोटामोटी सहमति बनेको हाे ।

सोमबारको छलफलमा दलहरुबीच सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने सहमति भएको नेताहरुले बताएका छन् ।

दलहरुबीच समितिको मोडालिटीको विषयमा भने सहमति भइसकेको छैन । सोमबारको बैठकले समितिको मोडालिटी तयार पार्न प्रमुख तीन दल नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र सम्मिलित समितिसमेत गठन गरेको छ ।

जसमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमालेको संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे रहेका छन् ।

तीन दल सम्मिलित समितिले नै उच्चस्तरीय समितिको मोडालिटी तय गर्नेछ । मोडालिटीपश्चात बन्ने समितिले नै सुन तस्करीको विषयमा छानबिन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट