यसै साता सरकारलाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी, काँग्रेसबाट को-को बन्लान् मन्त्री ?-Sutra News

यसै साता सरकारलाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी, काँग्रेसबाट को-को बन्लान् मन्त्री ?

मंगलबार, ७ चैत्र २०७९

मंगलबार, ७ चैत्र २०७९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएसँगै सरकारलाई पूर्णता दिनका लागि अन्तिम कसरत गरिरहेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा २६२ जना सांसद उपस्थित रहेकोमा १७२ जनाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका थिए। उनको विपक्षमा ८९ मत खसेको थियो ।



राष्ट्रपति र उपराष्ट्रपति चयनका सन्दर्भमा अघिल्लो गठबन्धनबीच मतैक्यता हुन नसकेपछि नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत लिनुपर्ने परिस्थिति सिर्जना भएको थियो । प्रधानमन्त्री प्रचण्डले सोमबार विश्वासको मत लिएपछि आजबाट नै दलहरू सरकारलाई पूर्णता दिने विषयमा छलफलमा छन् । प्रधानमन्त्री प्रचण्डले चार दिनभित्रै सरकारलाई पूर्णता दिने दाबी गरेका छन् । तर, नयाँ गठबन्धन बनेपछि प्रधानमन्त्री प्रचण्डलाई मन्त्रालय बाँडफाँटमा सकस हुने देखिएको छ ।

अहिले प्रधानमन्त्री प्रचण्डले १६ मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् । गठबन्धनमा प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमती भएको छ । स्रोतका अनुसार सरकारमा सहभागी हुने कांग्रेसले कम्तीमा नौ मन्त्रालय दाबी गरेको बताइएको छ । यस्तै सरकारमा सहभागी हुने तयारीमा रहेका जसपा, एकीकृत समाजवादी, लोसपा र नागरिक उन्मुक्तिले पनि विभिन्न मन्त्रालयमा दाबी गर्ने देखिएको छ ।

नयाँ गठबन्धनमा धेरै दल भएकाले मन्त्रालय बाँडफाँडमा समस्या पर्ने देखिएको छ । अहिले सरकारमा माओवादी र जनमत मात्रै छन् । अब अन्य गठबन्धन भित्रका दलहरु मिसिदैछन् । प्रधानमन्त्री प्रचण्डलाई सबै दललाई मन्त्रालय बाँडफाँड गरेर मिलाएर लैजान सकस देखिदा नयाँ सरकारको अर्थमन्त्री काँग्रेसले दाबी गरिरहेका बेला उचित पात्रको खोजी काँग्रेस भित्र भइरहेको छ । जसका लागि गगन थापा, बिनोद चौधरी, पूर्ण बहादुर खड्का, लगायतका नामहरु चर्चामा छन् ।

यसैबिच काँग्रेसले शेखर कोइरालाको नेतृत्वमा पनि सरकारमा आफ्ना मन्त्रीहरु पठाउन सक्ने संभावना छ । यता शेखर भने आफू जानेभन्दा पनि आफ्नो समूहका नेताहरूलाई एडजष्ट गराउन बढी केन्द्रित रहेका बेला शेखर समूहबाट दीपक गिरी, बद्री पाण्डे, धनराज गुरुङ, सञ्जय गौतम जीवन परियार अनि रामनाथ अधिकारीमध्येबाट एक जना मन्त्री बन्ने भएता पनि उनीहरुलाई कुन मन्त्रालय दिने भन्ने विषयमा छलफल हुन बाँकी नै छ । काँग्रेस बढीमा नौ मन्त्रालय लिएर प्रचण्ड नेतृत्वको सरकारमा जाने तयारीमा रहेको काँग्रेसका एक केन्द्रिय सदस्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट