मोबाइल नेटवर्कको गुणस्तर सुधार्न सरकारले तोक्यो न्यूनतम मापदण्ड-Sutra News

मोबाइल नेटवर्कको गुणस्तर सुधार्न सरकारले तोक्यो न्यूनतम मापदण्ड

बिहिबार, ८ बैशाख २०७९

बिहिबार, ८ बैशाख २०७९

काठमाडौं । मोबाइल नेटवर्कमा पछिल्लो समय धेरै प्रश्न उठ्दै आएका छन् । विशेषगरी फोन नलाग्ने, फोन लागेपनि नसुनिने, डेटा नचल्ने जस्ता समस्या देखापरेका छन् ।



दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले केही समयअघि गरेको अध्ययनले पनि दूरसञ्चार कम्पनीहरूले गुणस्तरीय सेवा दिन नसकेको देखाएको छ ।

यस्तोमा दूरसञ्चार सेवालाई प्रभावकारी बढाउने उद्देश्यका साथ प्राधिकरणले मोबाइल फोनमा सेवा प्रदायकले दिनुपर्ने न्यूनतम कभरेज लेभल तोकेको छ । हुन त यसअघि पनि प्राधिकरणले कभरेज लेभलको न्यूनतम मापदण्ड तोकेको थियो ।

तर, त्यसलाई बढाउँदै प्राधिकरणले नयाँ मापदण्ड कायम गरेको हो । प्राधिकरणको गत चैत ११ गते बसेको बोर्ड बैठकले मोबाइल दूरसञ्चार सेवामा न्यूनतम कभरेजका लागि आवश्यक ‘मिनिमम रिसिभ्ड् पावर’ को सिग्नल लेभलको मापदण्ड तोकेको हो ।

जसमा जीएसएम प्रविधि, अर्थात् टुजीमा–८२ मिलिवाट डेसिबल हुनुपर्ने भएको छ । टुजीको हकमा यसअघि पनि यही मापदण्ड थियो । त्यस्तै यूएमटीएस प्रविधि अर्थात थ्रीजीमा –८७ मिलिवाट डेसिबल हुनुपर्ने छ ।

यसमा पनि कुनै परिवर्तन भएको छैन । तर, पछिल्लो समय सबैभन्दा बढी प्रयोगमा आएको प्रविधि फोरजीमा भने प्राधिकरणले नयाँ मापदण्ड कायम गरेको छ ।

यस अघिसम्म एलटीई प्रविधि अर्थात फोरजीमा–८७ मिलिवाट डेसिबल न्यूनतम पावर थियो । तर, अब भने–९५ मिलिवाट डेसिबल हुनुपर्ने भएको छ । प्राधिकरणका अनुसार डेसिबल लेभल जति कम हुन्छ, त्यति नै मोबाइलमा राम्रो नेटवर्क टिप्ने हो ।

त्यो हुँदा फोरजीको हकमा डेसिबल लेभललाई कम गर्दै गुणस्तर सुधारका लागि कदम चालिएको जनाइएको छ । प्राधिकरणका अनुसार डेसिबल लेभल धेरै हुँदा मोबाइलमा टावर कम टिप्ने, टावरमा एक दुईजटा मात्रै सिग्नल देखिन जस्ता समस्या हुन्छन् ।त्यस्ता समस्याको अन्त्य गर्नका लागि प्राधिकरणले यो कदम चालेको हो । योसँगै सेवा प्रदायकले प्राधिकरणले तोकेको न्यूनतम मापदण्ड अनुसार नेटवर्कमा न्यूनतम लेभल कायम गर्नुपर्नेछ । टेकपाना

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट