सिंहदरबारका ५०८ कर्मचारीको स्वाव संकलन-Sutra News

सिंहदरबारका ५०८ कर्मचारीको स्वाव संकलन

बुधबार, १४ साउन २०७७

बुधबार, १४ साउन २०७७

काठमाडौं- कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले स्वाव संकलन गर्न प्रयोगमा ल्याएको ‘मोबाइल स्वाव कलेक्शन भेहिकल’ प्रभावकारी देखिएको छ।



नेपाली सेनाको सहयोगमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले स्वाव संकलनका लागि पहिलो पटक प्रविधियुक्त यस्तो गाडी प्रयोगमा ल्याएको हो। विश्वभर फैलिरहेको कोभिड विषाणुको सङ्क्रमणबाट चिकित्सकलाई जोगाउन नाष्टले गाडीभित्र यस्तो प्रविधि जडान गरेको हो।

उक्त उपकरणबाट आज सिंहदरबार परिसरमा महान्यायाधिवक्तासहित ५०८ जनाको स्वाव संकलन गरिएको थियो।

सिहदरबारभित्र बढी भीड रहेका मन्त्रालयका शाखा, महाशाखा तथा फोहोर संकलन र चमेना गृहमा खटिने जनशक्तिलाई लक्ष्य गरेर त्यहाँ यस घुम्ती भ्यानलाई प्रयोग ल्याइएको केन्द्रले जनाएको छ।

दैनिकरुपमा ५०० देखि ७०० जनासम्मले सजिलै स्वाव संकलन गर्न सकिने भएकाले यो उपकरण सहज र उपयोगी सावित भएको चिकित्सकको प्रारम्भिक प्रतिक्रिया रहेको छ।

चिकित्सकले कोरोना प्रभावित व्यक्तिबाट स्वाव संकलन गर्दा हुनसक्ने सङ्क्रमणको खतरालाई अन्त्य गर्न पीपीई, ग्लोब्स, पोजिटिभ प्रेसर च्याम्बर, भाइरस फिल्टर गर्ने प्रविधि र आइस बक्सलगायत आवश्यकीय वस्तु यसभित्र जडान गरिएको छ।

यस भ्यानमा स्वाव संकलनका लागि चाहिने जति सबै प्रविधि जडान गरिएको नाष्टका वरिष्ठ प्रविधि अधिकृत डा शंकर ढकालले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट