सिरोहिया पक्राउबारे ओली भन्छन्– रुवाबासी आवश्यक छैन, काेही पक्राउ पर्दैमा लाेकतन्त्र ढल्दैन-Sutra News

सिरोहिया पक्राउबारे ओली भन्छन्– रुवाबासी आवश्यक छैन, काेही पक्राउ पर्दैमा लाेकतन्त्र ढल्दैन

बिहिबार, १० जेष्ठ २०८१

बिहिबार, १० जेष्ठ २०८१
फाइल तस्बिर

काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहिया पक्राउ प्रकरणमा रुवाबासी गर्नु नपर्ने बताएका छन्। कुनै समाचार प्रकाशनको विषयमा नभई सरकारले फौजदारी विषयमा छानबिन गर्नुपर्ने देखेर सिराेहियालाई पक्राउ गरेकाे ओलीले बताए ।



बुधबार झापामा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै ओलीले भने, ‘जस्तो ह्यु एण्ड क्राई भन्छन् नि! त्यो भइराखेको छ। त्यो गर्नुपर्ने जस्तो विषय लाग्दैन मलाई, मिडिया हाउसको प्रमुखमाथि बेग्लै मुद्दा छ। किन यस्तो समाचार प्रकाशित गर्‍यो ? किन यस्तो बोल्यो भन्ने विषय त होइन। विषय अर्कै छ। फौजदारी कुरा होला। यस सम्बन्धमा सरकारले छानबिन गर्नुपर्ने देख्यो।’

सिरोहिया पक्राउ सही हो वा गलत हो भन्नेबारे तर्क गर्न आवश्यक नरहेकाे उनले बताए । सिराेहिया पक्राउ पर्दैमा लोकतन्त्र खतरामा पर्ने तर्क बेकारकाे भएकाे उनकाे भनाइ छ ।

‘उपप्रधानमन्त्री समाउँदा अनेक हुँदा प्रजातन्त्र खतरामा नपर्ने’ भन्दै प्रतिप्रश्न गरेका उनले एक जना मिडिया हाउसका मानिस गिरफ्तार हुँदैमा गलत व्याख्या गर्न नहुने बताए।

‘कोही समाउँदाखेरि, मन्त्री समाउँदा, उपप्रधानमन्त्री समाउँदा अनेक हुँदाखेरी हल्लिन, कराउन, दुनियाँ गर्न नपर्ने? डेमोक्रेसी कसरी खतरामा परिहाल्यो त? एकजना मिडिया हाउसका मानिस गिरफ्तार भए ? सही हो या गलत म त्यता जान चाहन्नँ। टाइमिङ ठीक भयो कि भएन त्यो बेग्लै कुरा होला तर डेमोक्रेसी नै खतरा परिहाल्यो त? के अब सञ्चारका हक खोसिएकै हुन् त? यस्तो गलत व्याख्या उपयुक्त हुँदैन। जे यथार्थ हो त्यही गर्नु राम्रो हुन्छ?,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट