काठमाडौं । जारी टी २० विश्वकप खेल्ने गरी क्रिकेटर सन्दीप लामिछाने एक हप्ताअघि वेष्ट इण्डिज पुगेको खुलासा भएको छ ।
तर, नेपाल क्रिकेट संघ (क्यान) र सन्दीप आफैले सोमबार बिहान मात्रै यसबारे जानकारी दिएका थिए । उनी क्यानडा हुँदै विश्वकप आयोजक राष्ट्र वेष्ट इण्डिज पुगेको क्यानका अध्यक्ष चतुरबहादुर चन्द खुलासा गरेका छन् ।
यसअघि क्यानको पहलमा सन्दीपले पटक पटक विश्वकपको सहआयोजक राष्ट्र अमेरिका प्रस्थान गर्न असफल प्रयास गरेका थिए । अमेरिकाले भिसा नदिएपछि सन्दीपको वेष्ट इण्डिज यात्रालाई गोप्य राख्न क्यान सफल भएको हो ।
सन्दीप आफैले पनि क्यानण पुगेर आफ्नो सामाजिक सञ्जालमा मनकामना मन्दिर दर्शन गरेको फोटो राखेका थिए । क्यान अध्यक्ष चन्दले एक अन्तर्वार्तामा एक हप्ताअगाडि सन्दीप नेपालबाट प्रस्थान गरी क्यानडा पुगेको बताएका थिए ।
‘अफिसियल्ली हिजो मात्रै वेष्ट इण्डिज पुगेको हो, तर एक हप्ताअगाडि ऊ नेपालबाट हिँडेको कसैलाई थाहा थिएन,’ उनले भने, ‘टोरन्टोबाट वेष्ट इण्डिजको सेन्ट भिन्सेन्टका लागि रेगुलर फ्लाइट हप्तामा एक दिन मात्रै हुँदो रहेछ, क्यानले चार्टर फ्लाइट गर्न सक्ने अवस्था थिएन, त्यसैले उसलाई एक हप्ताअगाडि बोलाएर राखियो ।’
क्यानले फूलमाला खादा लगाएर हिँड्दा बाधा अड्चन आउन सक्ने भएकाले सबै काम गोप्य रुपमा गरिएको बताएको छ ।
सन्दीपलाई वेष्ट इण्डिज पुर्याउन क्यानका सचिव पारस खड्का र म्यानेजर विनोद दासलाई सबै जिम्मा दिएको अध्यक्ष चन्दले बताएका छन् ।