किन बढ्दैछ शेयर बजार ? कहाँसम्म पुग्ला ?-Sutra News

किन बढ्दैछ शेयर बजार ? कहाँसम्म पुग्ला ?

बिहिबार, १० जेष्ठ २०८१

बिहिबार, १० जेष्ठ २०८१

काठमाडौं । सत्ता समीकरण परिवर्तन हुँदै गर्दा गत फागुन तेस्रो साता शेयर बजारमा ‘सर्किट ब्रेक’ नै लागेको थियो । बजारमा एकै दिन ११७ अंकसम्मले बृद्धि भएको थियो ।



विशेषगरी शेयरसँग जोडिएका एमाले नेता विष्णु पौडेल अर्थमन्त्रीको रुपमा आगमन हुने चर्चासँगै बजारमा ‘सर्किट ब्रेक’ लाग्ने अवस्था बनेको थियो । यद्यपि, एमाले नेता पौडेलको ठाउँमा माओवादी केन्द्रका नेता वर्षमान पुनको नाम निधो भएसँगै भने बजारले त्यति धेरै उत्साह देखाएन ।

फागुन २१ मा ११७ अंक र फागुन २९ मा ५८ अंकले बढेपनि त्यसयता बजारमा पुन सुस्तता छायो । झण्डै दुई महिना नै बजारमा निराशा देखियो । २१ सयको बिन्दुमाथि उक्लिएको बजार पुनः १९ सयको बिन्दुमा रुमलियो ।

लगानीकर्ता निराश हुँदाको परिणाम बजारमा कारोबार रकम पनि निकै कम भयो । योबीचमा औसतमा दुई अर्ब हाराहारीमा कारोबार भएपनि बजारमा ट्रेण्ड ब्रेक गर्नेगरी कारोबार रकम बढ्न सकेन । बजारले करिब निराशा मात्रै देखाइरह्यो ।

निरन्तर निराशामा रहिरहेको बजारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निर्माणसँगै भने आशा देखाउन थालेको छ । पछिल्लो दुई साताको बीचमै बजारमा १७१ अंक बढीको बृद्धि भएको छ ।

वैशाख २७ यता करिब बजार लगातार बृद्धिमा छ । १९६० को बिन्दुबाट उकालो लागेको बजार १० कारोबार दिनकै बीचमा बुधबारसम्म आउँदा २१३१ को बिन्दुमा उक्लिएको छ । योबीचमा लगातार करिब दोहोरो अंकको बृद्धि छ ।

१० कारोबार दिनको बीचमा सबैभन्दा बढी जेठ ६ गते ४५ अंकको बृद्धि भएको थियो ।

अंकसँगै बजारमा कारोबार रकम पनि बृद्धि भइरहेको छ । १० कारोबार दिनको कारोबार रकमलाई हेर्दा, दैनिक औसतमा चार अर्बमाथिको शेयर किनबेच भइरहेको छ । जसले बजारमा लगानीकर्ता उत्साहितरुपमा सहभागि भएको देखाउँछ ।

बढ्नुका कारण के ?

यसअघिका उदाहरण हेर्दा, नीति तथा कार्यक्रम र बजेटको बीचमा बजारमा सामान्य बृद्धि हुने गरेको पाइन्छ । सो घटनालाई हेर्दा, बजार अझै बढ्न सक्ने अनुमान लगाउनु अन्यथा हुँदैन । सरकारले प्रत्येक वर्ष जेठ १५ मा बजेट ल्याउने गर्दछ ।

अर्कोतर्फ, सरकारले चालेका कतिपय कदमहरु शेयर बजार अनुकुलित छन् । एकल अंकमा झरेको ब्याजदरले पनि बजारलाई सहयोग गरिरहेको देखिन्छ ।

बजार विश्लेषकहरुका अनुसार बजार बढ्नुमा चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको त्रैमासिक समीक्षाको कारण पनि हा । केन्द्रीय बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत बैंक तथा वित्तीय संस्थाहरुलाई शेयर तथा अन्य धितोपत्रमा लगानी बिक्रीका लागि सहज नीति बनाइदिएको छ ।

जहाँ बैंक तथा वित्तीय संस्थाहरुले १ वर्ष अवधि व्यतित भइसकेको लगानीबाट एक आर्थिक वर्ष प्राथमिक पूँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था समीक्षा गरिएको छ । जुन व्यवस्था सँगै बैंक तथा वित्तीय संस्थाहरुले चाहेको बेला शेयर तथा अन्य लगानी बिक्री गर्न पाउँछन् ।

यसअघि १ वर्ष व्यतित भइसकेको लगानीबाट प्राथमिक पुँजीको १ प्रतिशत मात्रै बेच्न पाइने व्यवस्था थियो । जुनसुकै लगानीमा इन्ट्री र इक्जिट हुने प्रावधानले शेयर बजारप्रति बैंक तथा वित्तीय संस्थालाई प्रोत्साहन गर्नु स्वभाविक हो । जसको प्रभाव समग्र बजारमा परेको विश्लेषण विश्लेषकहरुको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट