रवि लामिछाने मात्रै किन तारोमा ?-Sutra News

रवि लामिछाने मात्रै किन तारोमा ?

बिहिबार, १० जेष्ठ २०८१

बिहिबार, १० जेष्ठ २०८१

काठमाडौं । सञ्चार उद्यमी कैलास सिरोहिया पक्राउको घटनाले चौतर्फी तरंग ल्याइरहेको छ । उक्त घटनामा राजनीति मात्रै विभाजित भएको छैन, सञ्चार क्षेत्र पनि विभाजित बनेको छ । एउटा पक्ष सिरोहिया पक्राउको विरुद्धमा उभिएको छ भने अर्को पक्ष सिरोहियाको व्यक्तिगत विषय भएको भन्दै उचाल्ने कुराको विरोधमा देखिएको छ ।



केही सञ्चार उद्यमी र सम्पादकहरु समूह नै बाँधेर सिरोहियालाई छुटाउनु पर्ने भन्दै अभियानमा समेत देखिएका छन् । जसमा केही राजनीतिक नेतृत्व र केही व्यवसायीक समूह पनि जोडिएका पाइन्छ ।

बिहीबार मात्रै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति जारी गर्दै सिरोहिया पक्राउको विरोध गरेका छन् । सिरोहिया पक्राउले निजी क्षेत्रको मनोबल घट्ने उनीहरुको भनाई छ ।

सिरोहिया पक्राउको घटनालाई लिएर पक्ष र विपक्षमा भनाईहरु सार्वजनिक भइरहेका बेला विशेषगरी उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने केन्द्रीत विरोध भइरहेको छ । सिरोहियाको पक्षमा उभिएका राजनीतिक नेतृत्व, सञ्चार उद्यमी, सम्पादकलगायतको समूहले लामिछानेलाई केन्द्रीत गरेर विरोध गरेका छन् ।

विशेषगरी आफूविरुद्धको समाचार रोक्न लामिछानेले सिरोहियालाई पक्राउ गर्न लगाएको आरोप उनीहरुको छ ।

केही मिडिया सम्पादकहरुको समूहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सिरोहिया पक्राउको विषयमा संयुक्त पत्र बुझाउँदै सहकारी प्रकरणमा लामिछानेमाथि निष्पक्ष छानबिन गर्ने वातावरण मिलाउन भनेका छन् । भाषा मिलाइए पनि उनीहरुको संयुक्त माग लामिछाने बर्खास्तीको छ ।

राजनीतिकरुपमा आएका टिप्पणी पनि लामिछानेलाई बर्खास्ती गर्नुपर्ने कोणबाट आएका छन् ।

प्रधानमन्त्रीकै विरोधाभाषपूर्ण अभिव्यक्ति

सिरोहिया पक्राउको विषयमा प्रधानमन्त्री प्रचण्डको निकै विरोधाभाषपूर्ण अभिव्यक्ति आइरहेका छन् । एकातिर उनले आफू चोखिने गरी अभिव्यक्ति दिएका छन् भने अर्कोतिर न्यायाधीशकै शैलीमा ‘क्लीन चिट’ पनि दिएका छन् ।

चन्द्रागिरीमा भएको जलवायुसम्बन्धी अन्तराष्ट्रिय संवादमा सहभागि हुन पुगेका प्रधानमन्त्रीले “उहाँ निर्दोष हुनुहुन्छ, सजिलै छुट्नुहुन्छ” भन्दै क्लीन चिट दिए । उनले सिरोहियासँग आफ्नो कुनै रिसबी नरहेको प्रष्ट्याए ।

सँगै प्रधानमन्त्री प्रचण्डले केही मिडिया सम्पादकहरुसँगको भेटमा सिरोहियालाई आफैंले समाउन लगाएको बताएका छन् । “कैलासजीलाई अहिल्यै समाउने बेला नभएको भन्नेमा म थिएँ तर, अदालतबाट पक्राउ पुर्जी नै जारी भइसकेपछि आफैंले पक्राउ गर्न अनुमति दिएको हुँ”, सम्पादकहरुको टोलीलाई प्रधानमन्त्रीले भनेको भनाईलाई उद्र्धत गर्दै एक सम्पादकले भने ।

सत्ता साझेदारबाटै घेराबन्दी

सिरोहिया पक्राउको घटनामा प्रधानमन्त्रीले एकातिर विरोधाभाषपूर्ण अभिव्यक्ति दिइरहेका छन् भने अर्कोतिर उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई अप्ठ्यारो पार्ने गरी अभिव्यक्ति दिएका छन् । केही मिडिया सम्पादकहरुसँगको भेटमा उनले “आफू तत्काल पक्राउ गर्ने पक्षमा नरहेको” भन्दै दोष लामिछानेमाथि थोपरेका छन् ।

सँगै उनले सहकारी प्रकरणमा अब लामिछानेलाई नजोगाउने भन्ने कोणबाट पनि अभिव्यक्ति दिएका छन् । सम्पादकहरुसँगको कुराकानीमा उनले “केही दिनमा नै नतिजा देखिने” बताएका छन् ।

एकातिर प्रधानमन्त्रीबाटै लामिछानेलाई अप्ठ्यारो पार्ने गरी अभिव्यक्ति आएका छन् भने अर्कोतिर सत्ता साझेदार एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले खुलेर लामिछाने केन्द्रीत विरोध गरेका छन् ।

एमालेका नेता भीम रावलले लामिछानेमाथि नै छानबिन आवश्यक रहेको भन्दै सिरोहिया पक्राउ गर्ने कदमको विरोध गरेका छन् । “गृहमन्त्री रवि लामिछानेसँग नेपालको कानूनविपरीत विदेशको समेत गरी दुई नागरिकता र राहादानी हुँदा केही कारबाही नगर्ने तर कैलाश सिरोहियालाई दुईटा नागरिकतामा ’विवरण फरक परेको’ भनी कार्यकक्षबाट पक्रेर रातारात धनुषा लिने !”, सामाजिक सञ्जाल एक्समा रावलले लेखेका छन् ।

यता, माओवादी केन्द्रका नेता सुदन किराँतीले “सरकारलाई बदनाम हुनबाट जोगाउन लामिछानेलाई हटाउनुपर्ने गर्नुपर्ने” धारणा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट