

काठमाडौं । नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरी र अहिलेका चर्चित अभिनेता दयाहाङ राईबीच भेट भएको छ । केही समयअघि दयाहाङ अभिनित फिल्म ‘डिग्री माइलाः एम ए थर्ड क्लास’को टिजरमा समावेश एक संवादले चौधरी र उनको खुबै चर्चा भएको थियो ।
उक्त फिल्मको टिजरमा दयाहाङले सिजी ग्रुपको नाम लिँदै ‘चार लाख तलब दिँदा पनि आफूले त्यहाँ जागिर नखाएको र चौधरी आफै धनी छ, धनीमाथि के धनी बनाउनु’ भन्ने संवाद प्रयोग गरेपछि उनीहरूको थप चर्चा भएको थियो ।
जसको जवाफमा टिजरको क्लिप्सलाई चौधरीले सामाजिक सञ्जालमा शेयर गर्दैै भनेका थिए, ‘मैले एक वर्षमा कमाउने तपाईंले एउटै फिल्मबाट कमाउनु हुन्छ जस्तो छ दयाहाङ जी, हैट ।’
एकार्काले हाँसोको रुपमा उक्त टिजरलाई रुचाए पनि अन्ततः उनीहरूको भेट भएको छ । भेटका क्रममा दयाहाङले चौधरीलाई जन्मदिनको शुभकामना दिँदै भने, ‘डिग्री माइलाले के भन्यो थाहा भएन, तर जन्मदिनको शुभकामना विनोद चौधरी दाइ ।’
उद्योगपति चौधरी नेपाली फिल्म र फिल्मकर्मीसँग नजिक पनि छन् । उनी फिल्म ‘वासुदेव’का निर्मातासमेत हुन् । उनले आफ्नो कम्पनी चौधरी इन्टरटेन्मेन्टबाट अभिनेत्री ऋचा शर्मासँग मिलेर ‘भिसा गर्ल’ नामक फिल्म बनाएका थिए ।
यता, आफ्नो शैक्षिक डिग्रीको अहमताले भरिएको पात्र र समाजले ऊप्रति राख्ने अपेक्षा र सोका कारण उत्पन्न परिस्थितिको कथा पेस गर्ने फिल्म ‘डिग्री माइला’ प्रदर्शनमा आएको सोमबार (आज) चार दिन भएको छ ।
नयाँ वर्षको अवसर पारेर शुक्रबारदेखि प्रदर्शनमा आएको रामबाबु गुरुङ निर्देशित यो फिल्मले बक्स अफिसमा आफ्नो प्रभाव देखाउँदै आक्रामक व्यापार गरिरहेको छ ।
सुरुवातको दुई दिन बक्स अफिसमा आक्रामक व्यापार गरे फिल्म ‘डिग्री माइला’ले दुई दिनमा तीन करोड ६ लाख ग्रस कलेक्सन गरेको छ ।
यो पनि पढ्नुहोस्