प्रदीपसँग फिल्म खेल्न नेपाल आइन् दिव्या, दिलीपले किने नयाँ घर-Sutra News

प्रदीपसँग फिल्म खेल्न नेपाल आइन् दिव्या, दिलीपले किने नयाँ घर

सोमबार, ३ बैशाख २०८१

सोमबार, ३ बैशाख २०८१

काठमाडौं ।  अभिनेता दिलीप रायमाझीकी छोरी दिव्याले फिल्म ‘एक्टर’बाट डेब्यू गर्ने पक्का भइसकेको छ । यो फिल्मको शीर्ष भूमिकामा नायक प्रदीप खड्का तय भइसकेका छन् । छायांकनको तयारीमा रहेको यो फिल्मका लागि दिव्या यति बेला नेपाल आइपुगेकी छिन् । उनीहरूले पहिलो पटक यस फिल्मबाट जोडीका रूपमा देखिन लागेका छन् ।



‘एक्टर’मा नवअभिनेत्रीका रूपमा जोडिएकी दिव्या एक साता अगाडि नेपाल आएर कार्यशालामा जोडीएकी छिन् । यो फिल्म दुई सातामा छायांकनमा जाने तयारीमा छ ।

यही फिल्मबाट रजतपटमा करिअरको सुरुवात गर्न लागेकी दिव्यालाई फिल्मको निर्माण पक्षले एकै पटक छायांकनको समयमा मिडियासँग भेट गराउने तयारी गरेको छ । यता, अमेरिकामा अध्ययनरत रहेकी दिव्यासँग निर्माण पक्षले उनका अभिनेता पिता दिलीप रायमाझी र आमा मञ्जु रायमाझीको रोहवर फिल्मका लागि कागजी सम्झौता गरेको थियो ।

यसअघि दिव्याले फिल्म ‘वरिष्ठ बलराम’ दशैंअघि नै सम्झौता गरेकी थिइन् । समयमा छायांकन सुरु हुन नसकेका कारण उनले यो फिल्म छाडेर ‘एक्टर’को निर्माण टिमसँग हुन्छ भनेकी थिइन् ।

यसैबिच, केही वर्ष अगाडि परिवारसहित अमेरिका हानिएका दिलीपले छोरी दिव्याले नेपाली फिल्म क्षेत्रमा नै करिअर बनाउने तयारी गरेपछि काठमाडौँको बानेश्वर आसपासमा नयाँ घर किनेका छन् । उनको परिवार २ दिन अगाडि मात्र नयाँ घरमा सरेको बुझिएको छ ।

राजन भुसालको निर्देशन रहने फिल्ममा थमनकुमार भण्डारीको लगानी छ । अदृत फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको यो फिल्मको सह-निर्मातामा एनिस भुसाल छन् । फिल्ममा प्रदीप र दिव्याका अलावा नायिका आना शर्मा र नायक राजवल्लभ कोइरालाको पनि मुख्य भूमिका रहनेछ ।

फिल्मलाई आगामी वर्षको कात्तिक १५ मा रिलिज गर्ने तयारीमा निर्माण पक्ष छ । यो फिल्ममा नरेन्द्र मैनालीको छायांकन रहनेछ । फिल्ममा रित बोहरा सहयोगी निर्देशकको रूपमा रहेका छन् ।

यो पनि पढ्नुहोस्

दिव्याले ‘वरिष्ठ बलराम’ छाडेपछि अभिनेत्रीको खोजीमा निर्माण टिम

फिल्म ‘एक्टर’मा दिव्या अनुबन्धित, प्रदीपसँग जोडी बाँधिने

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट