माओवादीसँग एकताको तयारी भइरहँदा फुट्ने अवस्थामा पुग्यो नेसपा-Sutra News

माओवादीसँग एकताको तयारी भइरहँदा फुट्ने अवस्थामा पुग्यो नेसपा

बिहिबार, १ चैत्र २०८०

बिहिबार, १ चैत्र २०८०

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) विभाजनको संघारमा पुगेको छ । आन्तरिक विवाद बढ्दै जाँदा नेसपाभित्र एक पक्षले अर्को पक्षलाई निषेध गर्ने अवस्था विकास भएको छ ।



यहीबीच अध्यक्ष डा. बाबुराम भट्टराईले बोलाएको बैठकलाई एकलौटी भन्दै अध्यक्ष महिन्द्र राय यादव पक्षले बहिस्कारको घोषणा गरेको छ । भट्टराईले चैत ४ मा केन्द्रीय कार्यकारिणीको बैठक बोलाएका छन् भने चैत ५ मा केन्द्रीय समितिको बैठक बोलाएका छन् ।

भट्टराईले बैठक बोलाएपछि यादव पक्षीय नेता तथा पार्टी महासचिव रमेश प्रसाद यादवले एक विज्ञप्ति सार्वजनिक गर्दै उक्त बैठक पार्टीको बैठक नभएको बताएका छन् । जसमा सहभागि नहुन उनले नेताहरुलाई अपिल गरेका छन् । भट्टराईले पार्टीको विधानलाई उल्लंघन गर्दै एकपक्षीयरुपमा बैठक बोलाएको आरोप यादव पक्षको छ ।

“नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक मिति २०८० चैत ४ र केन्द्रीय समितिको चैत ५ गते बोलाइएको सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको छ”, यादवले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, “अध्यक्षद्वयको सहमतिमा बोलाउनुपर्ने बैठक अध्यक्ष महिन्द्र राय यादवको सहमतिबिनै एकपक्षीय रुपमा अध्यक्ष डा. बाबुराम भट्टराईको निर्देशनमा बोलाइएकोले ४ र ५ गते बोलाइएको उक्त बैठक नेपाल समाजवादी पार्टीको बैठक नभएको जानकारी गराउँदछु ।”

नेसपामा पछिल्लो समय माओवादी केन्द्रसँग एकता गर्ने वा नगर्ने भन्ने कोणबाट विवाद बढेको छ । डा. भट्टराई माओवादीसँग एकताको विरुद्धमा उभिएका छन् भने यादव एकता गर्ने पक्षमा उभिएका छन् । यस्तोमा दुई पक्षबीच विवाद बढेको हो ।

माओवादी केन्द्रसँग एकताको छलफल चलिरहँदा भट्टराईले हालै आफ्ना सांसदलाई अलग गरिदिन भन्दै निर्वाचन आयोग र संसद सचिवालयलाई पत्र पठाएका थिए । माओवादी केन्द्रको चुनाव चिन्हबाट चुनाव जितेका सांसदलाई अलग गरिदिन भट्टराईको माग छ । जसप्रति यादव पक्ष चिढिएको छ ।

सम्बन्धित समाचार

प्रचण्डविरुद्ध किन आगो ओकल्दैछन् बाबुराम ?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट