प्रचण्डविरुद्ध किन आगो ओकल्दैछन् बाबुराम ?-Sutra News

प्रचण्डविरुद्ध किन आगो ओकल्दैछन् बाबुराम ?

आइतबार, २७ फाल्गुन २०८०

आइतबार, २७ फाल्गुन २०८०

काठमाडौं । २०७९ को मंसिरमा भएको आम निर्वाचनमा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) माओवादी केन्द्रसँग मिलेर चुनावमा होमिएको थियो । पार्टी एकता नै गर्ने सहमति गरेको नेसपाले चुनाव चिन्हसमेत माओवादी केन्द्रकै प्रयोग गरेको थियो ।



चुनावबाट प्रतिनिधिसभातर्फ दुई (सर्लाही– ३ प्रत्यक्ष) र (बारा– २ समानुपातिक) र प्रदेशसभातर्फ पनि दुई (सिन्धुली– २ प्रत्यक्ष) र (गोरखा–२ प्रत्यक्ष)बाट निर्वाचित भएका थिए ।

निर्वाचनअघि भएको सहमतिअनुसार दुई दलबीच लगत्तै पार्टी एकता गर्ने भन्ने थियो । तर, निर्वाचनको परिणाम अपेक्षित हुन नसकेपछि नेसपाका मुख्य अध्यक्ष भट्टराई निकै असन्तुष्ट बने ।

विशेषतः तत्कालिन निर्वाचनबाट उनकी पुत्री मानुषी यमी भट्टराई पराजित भएपछि उनमा असन्तुष्टि चुलिएको देखिन्छ । उनले काठमाडौं– ७ बाट आफ्नी पुत्रीलाई उम्मेदवार बनाउँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नो निर्वाचन क्षेत्र गोरखा– २ मा सघाएका थिए ।

बिडम्बना निर्वाचनको परिणाममा प्रचण्ड ठूलो मतान्तरले विजयी हुँदा भट्टराई पुत्री यमी दोस्रो पनि बन्न सकिनन् । पुत्रीको पराजयपछि भट्टराई एकताको पक्षमा उभिन छाडेको देखिन्छ ।

त्यसयता पार्टी एकताका लागि दुई दलबीच पटक–पटक औपचारिक र अनौपचारिक वार्ताहरु भइरहेका छन् । तर, मुख्यगरी भट्टराई इच्छुक नदेखिँदा एकता सम्भव नभएको देखिन्छ ।

चुनाव भएको एक वर्षपछि २०८० मंसिर ३ मा दुई दलका वार्ता समितिबीच बृहत छलफल भएको थियो । जसमा पार्टीको नाम, विधान, चुनाव चिन्हलगायतका विषयमा छिट्टै सहमति खोजेर एकतालाई टुंग्याउने लिखित सहमति भएको थियो ।

तर, उक्त छलफल यता भट्टराई थप एकांकी देखिएका छन् । उनले एकताभन्दा बाहिरबाट विकल्प खोज्न थालेका छन् ।

आफ्ना सांसदलाई छुट्याउन पत्र

नेसपाभित्र एउटा समूह माओवादीसँग तत्कालै निःशर्त एकता गर्ने पक्षमा छ भने अर्को समूह विपक्षमा उभिएको छ । विपक्षमा उभिएको कित्ताको नेतृत्व स्वयम् भट्टराईले गरिरहेका छन् । यद्यपि, उनलाई माओवादीबाट अलग हुन सहज छैन ।

तत्कालिन निर्वाचनमा आफ्नो चुनाव चिन्ह त्याग्दै माओवादी केन्द्रको हसिँया हथौडाबाट उम्मेदवारी दिएर विजयी बनेका संघ र प्रदेशका सांसद छन् । उनीहरुलाई अलग गर्न सहज छैन ।

एकताको चर्चाकै बीच भट्टराईले भने सो विषयमा आयोग र संसद सचिवालयलाई पत्र लेख्दै आफ्ना सांसदलाई अलग गराउन आग्रह गरेका छन् ।

तर, भट्टराईको निवेदनमाथि आयोग र संघीय सचिवालयले भने कुनै निर्णय लिएको छैन । आयोगले उक्त विषय छलफलमै रहेको जनाएको छ ।

जुन घटनाले एकातिर माओवादी केन्द्रसँगको एकताको विषय अन्योलतर्फ उन्मुख बनाइदिएको छ भने अर्कोतिर नेसपाभित्र चरम विवाद सिर्जना गराएको छ । जसबारे स्वयम् भट्टराई भने मौन छन् ।

प्रचण्डको विरुद्ध खुला आलोचना

पछिल्लो समय भट्टराई प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डविरुद्ध खुला आलोचनामा उत्रिएका छन् । उनले प्रचण्डका प्रत्येक कदमको विरोध गरिरहेका छन् ।

प्रचण्ड नेतृत्वको सरकार जनताविरोधी भएको समेत बताउन थालेका छन् । जनताका अपेक्षा वर्तमान सरकारले पूरा गर्नै नसक्ने भन्दै उनले विकल्प खोज्नुपर्ने बताउन थालेका छन् ।

पछिल्लो पटक गठबन्धन परिवर्तनप्रति भट्टराई निकै रुखो आलोचना गरिरहेका छन् । भट्टराईले प्रचण्डको पछिल्लो कदमलाई “धूल चेहरे पर थी और मैं आइना साफ करता रहा” भन्दै आलोचना गरेका छन् ।

प्रचण्ड मुद्दामा भन्दा कुर्सी केन्द्रीत बनेको आरोप भट्टराईको छ । “ जनयुद्धका सर्वोच्च कमाण्डरले पटक(पटक प्रम हुँदा शान्तिप्रकृया पूरा गर्ने कुरालाई पहिलो प्राथमिकतामा राख्नुपर्दैन ? शान्तिप्रक्रियाका प्रमुख हिस्सेदार कांग्रेस र एमाले र तीसंग जोडिएका शक्तिकेन्द्रहरू सबैलाई साथ लिएर शान्तिप्रक्रिया टुंगिन्छ कि आफ्नो कुर्सीकाल लम्ब्याउन कहिले कोसंग कहिले कोसंग टॉसिने र अर्कोलाई धोका दिने तरिकाले टुंगिन्छ ?” नयाँ गठबन्धन परिवर्तनपछि प्रचण्डमाथि प्रश्न गर्दै भट्टराईले भनेका छन् ।

प्रचण्डको पछिल्लो विवादित अभिव्यक्ति “म बॉचुन्जेल देशमा उथलपुथल भइरहन्छ”पछि भट्टराई थप रुखो शैलीमा खनिएका देखिन्छन् । उक्त अभिव्यक्तिमाथि भट्टराई कसरी गर्व गर्न लायक विषय भनी प्रश्न गरेका छन् ।

उनले भनेका छन्, “उल्टै गर्वसाथ घोषणा गर्नुहुन्छ– म बॉचुन्जेल देशमा उथलपुथल भइरहन्छ रे १ अग्रगामी कि पश्चगामी उथलपुथल रु परिणामविहीन अस्थीरता र त्यसले ल्याउने आर्थिक संकट, युवा पलायन, बाहिरी चलखेल आदि गर्व गर्नलायक कुरा हो रु”

चुनौति दिन उम्मेदवारी नै घोषणा

२०७९को चुनावमा प्रचण्डलाई आफ्नो चुनाव क्षेत्रमात्रै छोडेनन्, चुनाव जिताउन भट्टराई अभियानमै सहभागि बने । तर, निर्वाचन भएको डेढ वर्ष नहुँदै भट्टराईले प्रचण्डविरुद्ध आगो मात्रै ओकलीरहेका छैनन्, प्रचण्डलाई चुनौति दिन उम्मेदवारीसमेत घोषणा गरेका छन् ।

२०८४ हुने निर्वाचनका लागि भट्टराईले उक्त क्षेत्रबाट उम्मेदवार बन्ने घोषणा गरेका छन् । भट्टराईले अहिलेदेखि नै उक्त निर्वाचनको लागि अभियानमा समेत जुट्न थालेका छन् ।

अहिले भट्टराई आफ्नै निर्वाचन क्षेत्रमा छन् । उनले आफ्नो पुर्खौली घरलाई मर्मत सम्हार गर्ने र गाउँघरमा पुग्ने बाटो बनाउने काममा समय खर्चिएका छन् । उनले स्थानीय मतदातासँग पनि नियमित भेटघाट पनि गरिरहेका छन् ।

यद्यपि, निर्वाचन आउन अझै तीन वर्ष बढी बाँकी रहेको सन्दर्भमा भट्टराईको अभियान बेमौसमी मात्रै देखिन्न आवेगात्मक पनि देखिन्छ । प्रचण्डसँग व्यक्तिगत टसलकै आधारमा उम्मेदवारी घोषणा गर्दै निर्वाचन केन्द्रीत हुनुले उनमा राजनीतिक अपरिपक्कता र संकिर्णता पनि देखिने कतिपयको टिप्पणी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट