एक्सनमा गृहमन्त्री : आन्दोलनरतका मुद्दा सम्बोधनदेखि प्रशासनभित्रका अराजकता तोड्दै-Sutra News

एक्सनमा गृहमन्त्री : आन्दोलनरतका मुद्दा सम्बोधनदेखि प्रशासनभित्रका अराजकता तोड्दै

बिहिबार, १ चैत्र २०८०

बिहिबार, १ चैत्र २०८०

काठमाडौं । युवाभित्र केही गर्ने हुटहुटी हुन्छ भन्ने कुरा गृहमन्त्री रवि लामिछानेका कदमले प्रष्ट्याउँछ । लामिछाने गृहमन्त्रीको पदमा आसिन भएको नौ दिन भएको छ । तर, यो छोटो अवधिमा उनले रेकर्ड राख्ने गरी थुप्रै कदमहरु चालिसकेका छन् ।



फागुन २३ मा गृहमन्त्रीको रुपमा सपथ लिएका लामिछानेले फागुन २८ मा आन्दोलनरत मिटरब्याज पीडितलाई सहमतिमा ल्याए । उनले मिटरब्याज पीडितका मागलाई सम्बोधन गर्नेगरी ४ बुँदे सहमति गराए । जुन सहमतिपछि महिनौदेखि आन्दोलनमा रहेका मिटरब्याज पीडित घर फर्किएका छन् ।

झापाको काँकडभिट्टा र कञ्चनपुरको महेन्द्रनगरबाट २३ दिन लगाएर काठमाडौं आइपुगेका उनीहरु गृहमन्त्रीले बाचा गरेपछि घर फर्किए । गृहमन्त्री लामिछानेले मिटरब्याज पीडितसँग सहमतिपछि खुसी साटेका थिए ।

लामिछानेले मिटरब्याज पीडितका मागलाई सुनुवाई गर्न आयोग गठन गर्ने तयारी गरेका छन् । जुन आयोगले समग्र पीडितहरुको विषयमा निकास खोज्ने उनको प्रतिबद्धता छ ।

मिटरब्याज पीडितका मागलाई सुनुवाई गर्नेगरी अघि बढेका लामिछानेले लगत्तै महिनौंदेखि आन्दोलनरत स्वर्गीय आरती साहका परिवारलाई पनि सहमतिमा ल्याएका छन् । साहका परिवारसँग बसेर उनले पाँच बुँदे सहमति गराएका छन् । सहमतिसँगै साहका परिवार घर फर्किएका छन् ।

गत असारदेखि काठमाडौंमा आन्दोलनरत साहका परिवारसँग गृहमन्त्रीले ४५ दिनको समय लिएका छन् । ४५ दिनभित्र साहको कर्तव्यज्यानसम्बन्धी मुद्दामाथि पुनः अनुसन्धान गरी घटनाबारे यथार्थ विवरण बाहिर ल्याउने प्रतिबद्धता गृहमन्त्रीले गरेका छन् ।

आन्दोलनरत पक्षलाई एकपछि अर्को गर्दै सहमतिमा ल्याएका गृहमन्त्री लामिछानले गृहप्रशासनभित्रको आन्तरिक सुशासनलाई पनि सुद्धढ गर्नेगरी एकपछि अर्को कदम चाल्न थालेका छन् । गृहप्रशासनमा जाने बुझेका कर्मचारीलाई भित्र्याउनेदेखि विषय विज्ञ नभएकालाई अन्य क्षेत्रमा व्यस्थापन गर्ने कामलाई उनले तिव्रता दिएका छन् । जसमा केही उच्च पदस्थ कर्मचारीहरुको हेरफेरलाई हेर्न सकिन्छ ।

मुलुक सुन तस्करीको काण्डले निकै बदनामित भएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै भएको सुन तस्करीका काण्डले मुलुकलाई बदनामित गराइरहँदा सोसम्बन्धमा उचित कदम चाल्न सकिएको छैन । सुन काण्डमा विशेषगरी वर्षौंदेखि विमानस्थलमा डेरा जमाएर बसेका गृहप्रशासनका कर्मचारीमाथि प्रश्न उठ्ने गरेको छ । तर, हालसम्मका नेतृत्वले उनीहरुलाई छानबिनमा ल्याउने वा उक्त ठाउँबाट हेरफेर गर्ने ल्याकत राखेको थिए ।

तर, गृहमन्त्री बनेको छोटो अवधिमै लामिछानेले उक्त अकर्मण्यताको स्थितिलाई चिरेका छन् । उनले एकै पटक विमानस्थलमा वर्षौैंदेखि डेरा जमाएर बसेका ५४ प्रहरी अधिकारीलाई सो स्थानबाट हटाइदिएका छन् । बुधबार गृहमन्त्रीको निर्देशनपछि उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले ५ देखि १६ वर्षसम्म डेरा जमाएर बसेका सबैलाई विमानस्थलबाट हटाएको थियो ।

गृहमन्त्री लामिछानेले विमानस्थलमा सूचना प्रविधिसँग राम्रो जानकार भएका र विभिन्न भाषामा पोख्त प्रहरी अधिकारीलाई खटाउने तयारी गरेका छन् । जसका लागि उनले मातहतको प्रहरी प्रशासनलाई निर्देशन गरिसकेका छन् ।

उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाका अनुसार अब विमानस्थलमा विशेषगरी अंग्रेजी भाषा नजानेको र विमानस्थलसम्बन्धी आवश्यक प्राविधिक जानकार नभएको प्रहरी अधिकारी जान पाउनेछैनन् । जसका लागि कार्यविधि नै बनाउने तयारीसमेत गरेको बुझिएको छ ।

सँगै लामिछानले विभिन्न प्रकरणका फाइलमाथिको अनुसन्धान थाल्ने तयारी पनि गरेको बुझिएको छ । विशेषगरी ठूला भ्रष्टाचार र अनियमिततासँग सम्बन्धित विभिन्न काण्डमाथि छानबिन थाल्ने तयारी गृहमन्त्रीको छ । उनले यसअघिका गृहमन्त्रीले थालेका विभिन्न प्रकरणमाथिको छानबिनलाई पनि निष्पक्षरुपमा अघि बढाउन निर्देशन गरिसकेका छन् ।

गृहमन्त्री लामिछानले देशभरका प्रहरी अधिकारीलाई आफ्नो मुख नताकि कानुनले निर्देश गरेअनुसारको काम गर्न पनि निर्देशन गरेका छन् । उनले ऐन तथा कानुनले दिएका अधिकारलाई प्रयोग गरी काम गर्न गृहप्रशासनलाई निर्देशन गरेका छन् ।

लामिछानेले आफू केही आन्तरिक तयारीमै जुटेको बताउँदै केही दिनभित्रै थप अन्य काम देखिनेगरी गर्ने पनि प्रतिबद्धता गरेका छन् । “‘चेक लिस्ट’सहित आएका छौं, ‘कम्प्रोमाइज’ हुन्न। केही समय ‘होम वर्क’ मा रहनेछौ”, लामिछानले सामाजिक सञ्जालमा भनेका छन् ।

कामना गरौं, गृहमन्त्रीको रुपमा लामिछानेको दोस्रो कार्यकाल थप उदाहरणीय बनोस् । बढ्दो बेथिति र अराजकतालाई तोड्न उनको भूमिका जिम्मेवार रहोस् ।

सम्बन्धित समाचार

थप शक्तिशाली बनेर सरकारमा फर्किए रवि लामिछाने

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट