थप शक्तिशाली बनेर सरकारमा फर्किए रवि लामिछाने-Sutra News

थप शक्तिशाली बनेर सरकारमा फर्किए रवि लामिछाने

बुधबार, २३ फाल्गुन २०८०

बुधबार, २३ फाल्गुन २०८०

काठमाडौं । नागरिकता विवादमा सर्वोच्च अदालतको फैसलासँगै ३२ दिनमै उपप्रधान तथा गृहमन्त्रीको पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुनः एक वर्षपछि थप शक्तिशाली बन्दै सरकारमा फर्किएका छन् । उनी एक वर्षअघिको हैसियतमा मात्रै फर्किएका छैनन्, उनको पार्टीले पाएको मन्त्रालयलाई हेर्दा उनी थप शक्तिशाली बनेका छन् ।



२०७९ पुस १० मा तत्कालिन एमाले–माओवादी गठबन्धनबाट सरकारमा जाँदा रास्वपाले गृहसहित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाएको थियो । रास्वपाले तत्कालिन समय स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको पनि जिम्मेवारी पाएको थियो ।

यद्यपि, यसपटक भने रास्वपाले गृहसहित चार वटा मन्त्रालयको जिम्मेवारी पाएको छ । रास्वपाले यसअघिकै श्रम र शिक्षासहित युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पनि पाएको छ ।

रास्वपाबाट सभापति लामिछाने गृहमन्त्री हुँदा, श्रमको जिम्मेवारी उपसभापति डीपी अर्यालले पाएका छन् भने युवा तथा खेलकुदको जिम्मेवारी विराजभक्त श्रेष्ठले पाएका छन् । यस्तै, नेतृ सुमना श्रेष्ठले शिक्षाको जिम्मेवारी पाएकी छिन् ।

एक वर्षअघि माघ १३ मा नागरिकता विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलासँगै लामिछाने नागरिकताबिहीन मात्रै भएका थिएनन् सांसद र गृहमन्त्रीको पद पनि गुमाउन बाध्य भएका थिए । लामिछाने पदमुक्त भएपछि रास्वपाका अन्य मन्त्रीले पनि माघ २२ मा सामूहिक राजीनामा दिँदै सरकारबाट बाहिरिएका थिए । त्यसयता रास्वपा प्रतिपक्षीको बेन्चमा पुगेको थियो ।

१३ महिना प्रतिपक्षीको बेन्चमा बसेको रास्वपा पुनः नयाँ समीकरण बनेसँगै सरकारमा फर्किएको छ । समीकरणभित्रको अंकगणित र स्वयम् सभापति लामिछानेमाथि उठेका केही प्रश्नले केही सकस पार्नसक्ने अनुमान अनुमान हुँदाहुँदै उनले पाएको मन्त्रालयलाई हेर्दा उनी थप शक्तिशाली देखिएका छन् ।

अहिले लामिछाने सहकारी ठगीसम्बन्धी मुद्दामा मुछिएका थिए । जुन मुद्दामाथि गृहमन्त्रालयअन्तर्गतको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छानबिन गरिरहेकै बखत उनी स्वयम् उक्त मन्त्रालयको नेतृत्वमा आएका छन् । जसले एकातिर लामिछानेमाथिका अप्ठ्यारा फाल्ने मौका दिलाएको छ भने अर्कोतिर उनलाई सोही मन्त्रालयबाट जनताको मन जित्ने अवसर पनि दिएको छ ।

निवर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठ गृहकै जिम्मेवारीमा आएपछि निकै लोकप्रिय भएका थिए । गृहमन्त्रीको पदमा रहँदा विभिन्न प्रकरणमा उनले थालेको छानबिन अनुकरणीय देखिन्छ । जसले जनताको निकै मन जितेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट