काठमाडौं-पछिल्लो समय बैंक तथा वित्तिय संस्थाहरु धमाधम मर्ज भइरहेका छन् । गत वैशाखदेखि हालसम्म मात्रै १७ वटा बैंक तथा वित्तिय संस्थाहरु मर्जर तथा एक्युजेशन भएर ८ वटामा सिमित भएका छन्।
यसरी मर्जरको प्रक्रियामा जानेमा सबैभन्दा धेरै लघुवित्त वित्तिय संस्थाहरु छन् । त्यसपछि विकास बैंकहरुलाई बाणिज्य बैंकले मर्जर तथा एक्युजेशन गराएको छ ।
नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर डा. चिरञ्जीवी नेपालको कार्यकालमा बैंकहरुले आफ्नो चुक्ता पुँजी ८ अर्ब भन्दा माथि बनाउनु पर्ने र बैंकको संख्या घटाउनु पर्नेमा जोड दिएका थिए ।
त्यतिबेला उनको यस नीतिलाई अर्थमन्त्री डा.युवराज खतिवडाले पनि साथ दिएका थिए । खतिवडाले बैंकहरु आफै मर्जरमा नगए ‘फोर्स मर्जर’ गराउने चेतावनी समेत दिएका थिए । उनले अन्य ठूला देशहरुमा यति धेरै बैंक तथा वित्तिय संस्थाहरु नभएको र नेपाल सानो देश भएर पनि बैंक तथा वित्तिय संस्था धेरै भएको कारण यसको संख्या घटाएर सेवा प्रभावकारि बनाउनुपर्नेमा जोड दिँदै आइरहेका थिए ।
सरकारको यही नीतिअन्तर्गत अहिले बैंक तथा लघुवित्त वित्तिय संस्थाहरु गाभ्ने तथा गाभिने प्रक्रियामा सहभागी भइरहेका हुन् ।
कुन बैंक कसरी मर्जरमा गए ?
सिटिजन्स बैंकले सहयोगी विकास बैंकलाई एक्वायर गरेर असार २० गतेबाट एकीकृत कारोबार सुरु गरेको छ । दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार १० गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार १४ गते अन्तिम स्वीकृति दिएको थियो ।
दुवै एक भएपछि अब सिटिजन्स बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको छ । त्यसपछि बैंकको कुल पुँजी ९ अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।
त्यस्तै मिर्मिरे लघुवित्तले स्वेडा लघुवित्तलाई एक्वायर गरेर असार २१ गतेबाट एकीकृत कारोबार सुरु गरेको थियो । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार ५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार १७ गते अन्तिम स्वीकृति दिएको थियो ।
दुवै एक भएपछि अहिले मिर्मिरे लघुवित्तको नामबाट एकीकृत कारोबार भइरहेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी १८ करोड ६७ लाख ४० हजार रुपैयाँ रहेको छ ।
यसैगरी गण्डकी विकास बैंकलाई मेगा बैंकले असार २१ गते प्राप्ति गरी संयुक्त कारोबार सुरु गरेको थियो । प्राप्ती पछि मेगा बैंकको नामबाट एकिकृत कारोबार सुरु भएको छ । हाल यस बैंकको चुक्त पुँजी १० अर्ब ३८ करोड ८६ लाख २१ हजार रुपैयाँ रहेको छ । बैंकले आर्थिक वर्षको चौथो मासिक रिपोर्ट निकाल्न बाँकी छ । रिर्पोटमा बैंकको चुक्ता पुँजी पनि बृद्धि हुने छ ।
चौतारी र आरम्भ लघुवित्तको असार २२ गतेबाट एकीकृत कारोबार सुरु भएको थियो । दुवै कम्पनी १ः१ अनुपातमा मर्ज भएपछि एकीकृत कारोबार सुरु गरेको थिए । दुवै संस्थालाई एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले फागुन १८ गते अन्तिम स्वीकृति दिएको थियो । कम्पनीको एकिकृत कारोबारपछि मिर्मिरे लघुवित्त वित्तिय संस्थाको नामबाट कारोबार भइरहेको छ ।
उन्नति र सहकार्य लघुवित्तबीच असार २६ गतेबाट एकीकृत कारोबार सुरु भएको थियो । दुवै कम्पनी १००ः७५ अनुपातमा मर्ज भएका थिए । मर्जरपछि संस्थाको नाम उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था रहन गएको छ । हाल यस संस्थाको चुत्ता पुँजी ८ करोड ८२ लाख ७५ हजार रुपैयाँ रहको छ ।
कुमारी बैंकले देवः विकास बैंकलाई एक्वायर गरेर असार २८ गतेबाट एकीकृत कारोबार सुरु गरेको छ। दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार १० गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार १४ गते अन्तिम स्वीकृति दिएका थिए।
अब कुमारी बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । देवः एक्वायरपछि कुमारीको चुक्ता पुँजी १२ अर्ब ५० करोड भन्दा बढी भएको छ। बैंकको निक्षेप १ खर्ब २० अर्ब र कर्जा १ खर्ब ५ अर्ब पुग्नेछ।
एनआरएन, किसान र दिव्य लघुवित्त एक आपसमा गाभिएर असार २९ गतेबाट एकीकृत कारोबार सुरु गरेका थिए यि ३ कम्पनी एक भएपछि अहिले एनआरएन लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु भएको छ ।
यस्तै, मनकामना लघुवित्त वित्तिय संस्थाले स्मार्ट लघुवित्त वित्तिय संस्थालाई गाभेको छ । दुई संस्था एक भएर मनकामना स्मार्ट लघुवित्तको नामबाट सयुक्त कारोबार सुरु गरेको छन् ।
बैंक तथा वित्तीय क्षेत्रका विश्लेषक अनलराज भट्टराईले सूत्रन्यूजसंगको कुराकानीमा बैंक तथा वित्तिय क्षेत्र एकआपसमा गाभिदा नकारात्मक असर नपर्ने बताउँछन्।
‘बरु बैंक तथा वित्तिय क्षेत्रको आकार झन् ठूलो हुन्छ र संस्था पनि मजबुद बन्छन्,’ उनी भन्छन्, ‘कुनै पनि विदेशी लगानी भित्र्याउनको लागि विदेशी संस्थाले नेपालका बैंकहरुको आम्दानी तथा पुँजी हेर्ने गर्दछ । तर, नेपालको कुनै पनि बैंक तथा वित्तिय संस्थाहरु विदेशी लगानी गर्न पत्याउने खालका छैनन् । त्यसैले बैंकहरुको संख्या घटाएर मजबुत हुन जरुरी छ ।’
नेपालको आर्थिक क्षेत्र एकदमै सानो भएकाले बैंक तथा वित्तिय संस्थाहरुको संख्या धेरै हुँदा खर्चको भार बढी हुने बताउँछन् उनी । ‘नेपालमा बैंकहरुको संख्या ठुलो भएपनि उत्पादन भने धेरै छैन् । त्यसैले बैंकहरुको संख्या २६ बाट घटाएर ८ देखि १० सम्म ल्याउन जरुरी छ,’ उनले भने ।
अहिले बैंक तथा वित्तिय क्षेत्रको आन्तरिक खर्च मात्रै करिब ९० करोड रुपैयाँ रहेको भट्टराई बताउँछन् । ‘बैंकहरु एक आपसमा गाभिदा व्यवस्थापन खर्च घट्छ,’ सूत्रन्यूजसँग उनी भन्छन्, ‘बैंकको साइज सानो हुँदा बैंकले यस्तो संकटको अवस्थामा केहि गर्न सक्दैन । त्यसैले यतिखेर बैंकको साइजसंगै बैंकको आम्दानी पनि बढाउनु आवश्यक छ ।’
राष्ट्र बैंकलाई बैंकहरूले दिएको विवरणअनुसार एनएमबी र एनआईसी एशिया, नेपाल बंगलादेश र एनसीसी, हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक, सिद्दार्थ, लक्ष्मी, सिटिजन, सिभिललगायतका बैंकमा ठूलो क्रस होल्डिङ देखिएको छ ।
राष्ट्र बैंकका तत्कालीन गभर्नर डा. चिरञ्जीवी नेपालले २०७६ भदौ २५ गते नै १० दिनभित्र मर्जरका विषयमा बैंकहरूले गरेको तयारीको विवरण माग गरेका थिए । गर्भनर डा.नेपालले गत आर्थिक वर्षको मौद्रिक नीति अगावै बैक तथा वित्तीय संस्थाका सीईओ र अध्यक्षलाई बोलाएर मर्जरमा जानका लागि तयारी रहन भन्दै बैंकको लिष्ट पनि माग गरेका थिए ।
त्यतिबेला मर्जरमा प्रतिवद्धता जनाएका बैंकहरूमा कृषि विकास, नेपाल, नविल, एभरेष्ट, एसबिआई, माछापुच्छ्रे, लक्ष्मी, प्राइम, एनएमबि, जनता, हिमालयन, एनआईसी एशिया,सानिमा, कुमारी, ग्लोबल आईएमई, सिटिजन्स, सनराइज, मेगा, सिभिल, सेञ्चुरी, बैंक अफ काठमाण्डू र एनबी बैंकले राष्ट्र बैंक समक्ष मर्जरको प्रगति विवरण पेश गरेका थिए।
र, अन्त्यमा बैंक तथा बित्तिय संस्था मर्जरमा जाँदा यस्तो फाइदा :
– बैंक तथा वित्तिय क्षेत्रको आर्थिक स्थिति मजबुद बन्छ ।
– विदेशी लगानी भित्र्याउन सजिलो हुन्छ । विदेशीले नेपालमा लगानी गर्न नेपालको बैंकहरुको वित्तिय अवस्था हेरेरमात्र लगानी गर्ने गर्छन ।
– सेवा प्रभावकारी हुन्छ ।
– आर्थिक क्रियाकलाप सहज रुपमा सबै ठाउँ पुग्छ ।
– बैंक तथा वित्तिय क्षेत्रको आन्तरिक लगानी कम हुन्छ ।