झलनाथको ‘ब्रिफिङ’- ओलीले ‘कम्प्रोमाइज’ नगर्दासम्म कुनै समाधान निस्कदैन-Sutra News

झलनाथको ‘ब्रिफिङ’- ओलीले ‘कम्प्रोमाइज’ नगर्दासम्म कुनै समाधान निस्कदैन

मंगलबार, २० साउन २०७७

मंगलबार, २० साउन २०७७

काठमाडौँ- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको जारी विवाद टुंग्याउन दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच चरणबद्ध बैठक भइरहेका छन्।



ओली-प्रचण्डबीचका पछिल्ला बैठकमा नेता झलनाथ खनाल पनि सहभागी भइरहेका छन्। मंगलबार पनि प्रचण्ड र ओलीबीच करिब एक घण्टा छलफल चलेको थियो, जसमा खनाल पनि सहभागी थिए।

तीन-चार वटा बैठकमा सहभागी भएपछि पार्टीभित्रको विवाद समाधान कसरी निस्केला भन्ने सूत्रन्यूजको प्रश्नमा खनालले आफ्नो विश्लेषण सुनाए।

प्रधानमन्त्रीसमेत रहेका ओलीले कुनै न कुनै किसिमको ‘कम्प्रोमाइज’ नगरेसम्म जारी विवादको कुनै समाधान निस्कदैन भन्ने बुझाइ नेता खनालको छ। ‘पार्टीलाई हामी फुट्न दिँदैनौं, पार्टी फुट्दैन पनि,’ खनाल भन्छन्, ‘कुनै न कुनै प्रकारको समाधान निकाल्नुपर्छ। निष्कन्छ भन्ने मलाई लाग्छ।’

नेता वामदेव गौतमले राखेको प्रस्तावले कुनै समाधान नदिने बताउँदै खनालले भने, ‘बैठक पार्टी कमिटीका एजेन्डामा जान्छ। ती एजेन्डामा निर्णय नभइ कुनै समाधान निस्कदैन।’

आजको बैठकमा के भयो ?
आजको बैठकमा प्रचण्ड र नेता खनालले स्थायी कमिटी तुरुन्तै राख्नुपर्ने माग गरेका थिए। ‘त्यो जारी बैठक हो, त्यसलाई स्थगित गर्नु हुँदैन्,’ ओलीलाई आफूहरुले राखेको कुराबारे जानकारी दिँदै खनाले भने, ‘खाली स्थगित गरेरमात्रै हुँदैन। त्यसमा एजेन्डाहरु छन्। त्यसमा कोभिडको एजेन्डा छ, त्यसमा छलफल गर्नुपर्‍यो। नक्साको एजेन्डा छ, त्यसबारे छलफल गर्नुपर्‍यो। पार्टी समीक्षाको एजेन्डा छ। सरकारको समीक्षाको एजेन्डा छ। यस्ता महत्वपूर्ण एजेन्डाहरु भएको जुन बैठक छ, त्यो बैठक तुरुन्तै सुरु गरेर त्यसलाई अगाडि बढाउनुपर्‍यो।’

यसबारे लामो छलफल भएपछि ओलीले सचिवालय बैठकबाटै विषय टुंग्याउँ भन्ने प्रस्तावमा जोड दिएका थिए। प्रचण्ड र ओलीले भने जारी स्थायी कमिटी बैठकलाई पहिले टुंग्याउनुपर्ने अडान राखेका थिए।

‘सचिवालयको बैठक पनि राखौंला तर, पहिला बैठक भनेको स्थायी कमिटीको हुनुपर्छ,’ ओलीलाई दुवै नेताको जवाफ थियो, ‘स्थायी कमिटी त जारी बैठक हो। त्यसकारण जारी बैठकलाई चाहिँ पहिले टुंगो लगाउनुपर्छ।’

नेता खनालका अनुसार त्यसमै टुंगो लागेन र भोलि फेरि ५ बजे बस्ने भनेर आजको बैठक टुंगियो। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट